रुपन्देहीका १६ मध्ये १२ स्थानीय तहमा एमालेकाे अधिवेशन सम्पन्न, बाँकीमा सहमतिको प्रयास जारी – Nepal Press

रुपन्देहीका १६ मध्ये १२ स्थानीय तहमा एमालेकाे अधिवेशन सम्पन्न, बाँकीमा सहमतिको प्रयास जारी

रूपन्देही । रूपन्देहीमा एक उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिकासहित १६ स्थानीय तह रहेकामध्ये १२ वटामा नेकपा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ।

रुपन्देहीका तीनवटा नगरपालिका र एउटा गाउँपालिका बाहेक सबैमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमालेले जनाएको छ।

तिलोत्तमा, देवदह र सिद्धार्थनगर नगरपालिका तथा सियारी गाउँपालिकामा अझै सहमति जुट्न सकेको छैन । अरु पालिकामा भने अध्यक्ष लगायत सबै पदहरुमा सहमतिमा नेतृत्व चयन गरिएको एमाले रुपन्देहीका सचिवालय सदस्य तेजेन्द्र केसीले जानकारी दिए।

अध्यक्षका लागि ६ जनाले आकांक्षा देखाएको बुटवलमा अन्ततः किशन ज्ञवाली सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् । शोभाखर पोखरेल उपाध्यक्षमा चयन चएका छन् । सचिव र उपसचिब भने कस्लाई बनाउने विषयमा अहिलेपनि छलफल भइरहेको केसीले जानकारी दिए ।

सैनामैना नगरपालिकामा पनि चेतनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।

त्यस्तै शुद्दोधन गाउँपालिका कमिटीमा बिष्णु गौतमको अध्यक्षतामा सबै कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको एमालेले जनाएको छ।

एमाले उपमहासचिवद्वय बिष्णु पौडेल र घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्ने तिलोत्तमा नगरपालिकामा अझै सहमति जुट्न सकेको छैन। अध्यक्षको लागि चारजना आकांक्षी देखिएपछि नेतृत्वलाई मिलाउन सकस परेको छ । तिलोत्तमामा मिनप्रसाद पोखरेल, तामानाथ पाण्डे, सुरेन्द्र श्री र नेत्र वनको उम्मेदवारी रहेको छ।

उता देवदह नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा पनि सहमति जुट्न सकेको छैन।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने निसार अहमदको अध्यक्षतामा सबै नगरकमिटी सर्वसम्मत चयन भएको अध्यक्षमा आकांक्षा देखाएका वीरेन्द्र मिश्राले जानकारी दिए।

गैडहवा र कन्चन गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको विद्यार्थी नेता सन्दीप गुप्ताले जानकारी दिए। गैडहवामा भुवन रानाको अध्यक्षता र कन्चन गाउँपालिकामा दिनानाथ आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ।

कोटहिमाई गाउँपालिकामा राजकुमार गौण, ओमसतियामा ईन्द्रकुमार गुरुङ र रोहिणी गाउँपालिकामा सुनीलकुमार कौशलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले नेता सन्जय गुप्ताले जानकारी दिए।

मर्चवारीमा केशरनाथ गिरी, सम्मरिमाईमा ईनुक मुसलमान र मायादेवी गाउँपालिकामा साधुशरण साहनीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

रुपन्देहीमा प्रमुख पदहरु अध्यक्ष, उपाध्यक्ष तथा सचिव पदमा कुनै पनि पालिकामा महिला नेतृत्व भने आउन सकेन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर