मदन भण्डारीलाई भरतशमशेरको धाकः म तिमीभन्दा चौबर क्रान्तिकारी ! – Nepal Press
पुस्तक चर्चा

मदन भण्डारीलाई भरतशमशेरको धाकः म तिमीभन्दा चौबर क्रान्तिकारी !

इटहरी । २०१५ सालको चुनावमा दोश्रो ठुलो दल थियो गोरखा परिषद् । १९ सिट ल्याएको गोरखा परिषद् प्रमुख प्रतिपक्षी दल थियो । प्रमुख प्रतिपक्षी दलका नेता थिए भरतशमसेर ।

२०४८ सालमा नेपालमा दोश्रो संसदीय चुनाव भयो । चुनावबाट एमाले ६९ सिटसहित दोश्रो ठुलो दल भयो । दलका नेता एमाले अध्यक्ष मनमोहन अधिकारी चुनिए । तर, डिफ्याक्टो अध्यक्षजस्तै थिए मदन भण्डारी ।

भरतशमशेर र भण्डारी जोडेर सार्वजनिक डोमेनमा त्यति चर्चा हुँदैन । हालसालै बजारमा आएको मदन भण्डारीको जीवनी ‘श्वेतशार्दूल’ मा भने यसको चर्चा गरिएको छ । लेखक रमेश रुछेन राईले यसको चर्चा गरेका छन् ।

कलकत्ता यात्राको क्रममा भएको रोचक भेट

भर्खरै दोश्रो संसदीय निर्वाचत सकिएको थियो । एमालेको जबज अस्तित्वमा आउनुभन्दा करिब एक महिना अगाडिको कुरा हो । भारतीय कम्युनिस्ट पार्टी (माले–लिबरेसन) को पाँचै महाधिवेसन हुँदै थियो । त्यहि महाधिवेसनमा नेपालबाट नेकपा एमालेको महासचिवको हैसियतले सहभागी हुन काठमाडौंबाट कलकत्ता उडे मदन भण्डारी ।

२०४९ पुष ११ गते भण्डारी पत्रकार राजेन्द्र स्थापितको साथ कलकत्ता पुगेका थिए । एयर इन्डियाको जहाजमा यात्रा गरेका उनको सिट सस्तो मुल्य पर्ने इकोनमिक क्लासको थियो । सोही प्लेनको महँगो र सुविधासम्पन्न बिजनेस क्लासमा परे भरतशमशेर ।

भरतशमशेरसँग स्थापितको चिनापर्ची थियो । तर, मदन भण्डारीको थिएन । मदनलाई भरतले अनुहारबाटै चिन्थे । तर भरतशमशेरलाई मदन भण्डारीले अनुहारले चिन्दैन थिए ।

भरतशमशेर मदन नजिकै आए । अनि धाक दिन थाले, ‘तिमी के क्रान्तिकारी ? म तिमी भन्दा चौबर क्रान्तिकारी । हेर, तिमी त मेरो बच्चा हौ बच्चा । तिमीभन्दा चर्को र क्रान्तिकारी भाषण गर्थे म ।’

चुपचाप सुनिरहेका भण्डारीले कुनै प्रतिक्रिया जनाएनन्। केहीबेरमा भरतशमशेर आफ्नो सिटमा पुगेपछि स्थापितले मदनलाई भरतशमशेरको परिचय दिए ।

एक राउण्ड धक्कु दिएर हिँडेका भरतशमशेर फेरि फर्केर आए । आफू बसेको बिजनेस क्लासको सिट स्थापितलाई दिएर आफू मदनसँगै बस्ने प्रस्ताव गरे । स्थापित सहजै तयार भए । कलकलत्ताससम्म सँगै यात्रा गरे भरतशमशेर र मदन भण्डारीले । आधा घण्टा सँगै बसेर दुवैले कुराकानी गरेको भण्डारीको जीवनी लेखक राईले उल्लेख गरेका छन् ।

पुष १३ गते भाकपा (माले–लिबरेसन)को महाधिवेसनको घोषणासभामा मदन भण्डारीले भाषण गरे । भाषण गर्दै गर्दा मदनलाई चिट आयो । चिट उनै भरतशमशेरको थियो । चिटमा उनी आफू मञ्चको पछाडी बायाँ साइडमा भएको लेखेका थिए । क्रान्तिकारी नेताले कलकत्तामा भरतशमशेरसँग भेटेको कुरा बिरोधीले थाहा पाएमा अनर्थ लाग्ने भन्दै मदनहरु तर्कन खोजे ।

भरतशमशेरले चिटमा लेखेविपरित उनीहरु दायाँ छेउबाट निस्कन खोजे । तर, त्यहीँ पो भेटिए भरतशमशेर । उनी आफू भएको ठाउँ देखाउँदा छल्छन् भनेर ठीकविपरित ठाउँमा आएका हुन सक्छन् । वा मदनले भाषण गरेदेखि मञ्चबाट आएको हरेर पाइलाको फलोअप गरेर बसेका हुन सक्छन् । खैर, मदनले भरतशमशेरलाई छल्न सकेनन् ।

अन्ततः मदन भण्डारी स्थापित सहितका तीन जनालाई आफ्नो गाडीमा हालेर भरतशमशेरले आफ्नो विशाल बंगलामा लगे । ‘चितान्जली’ नामक फिल्म निर्माण कम्पनीका मालिक भरतशमशेरले घरमै स्टुडियो बनाएका थिए । बंगाली भाषाका ३२ फिल्म बनाएको र केही राष्ट्रिय अवार्डसमेत पाएको थियो कम्पनीको उत्पादनले ।

मदन भण्डारीहरुलाई घरमै लिएर गएका भरतशमशेरले घरमा पनि धाक दिन छोडेनन् । घरी पुसअप गर्ने, घरि कोठामै दौडने र घरि गहकिला सामान उचालेर आफू युवा भएको र क्रान्तिकारी भएको तुजुक देखाइरहे । रक्सीको अफर मदनहरुले अस्विकार गरे । रातको एक बजेसम्म भरत शमशेरकै धाक र रवाफका दर्शक भइरहे उनीहरु ।

एक बजे खाना समय सुरु भयो । खाना खाने चारजना, तर खानाको काममा सक्रियहरु भने २५ जना । एक कोणमा त्यो भरत शमशेरको घर थिएन, दरबार थियो । र दरबारकै रवाफ झल्कन्थ्यो उनको प्रस्तुतिमा । मदनहरुले रातभर ओच्छ्यानमा समेत भरत शमशेरकै कुरा काटे । बिहान उज्यालोसँगै निस्किएर हिँडे । लेखकले ‘कैद जस्तै आतिथ्य मानेर’ मदनहरु बिहानै विदा भएको लेखेका छन् ।

चन्द्र शमशेरका पनाती, वीपीलाई खुकुरी प्रहारका आरोपी

राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा हुन् बबरशमशेर । बबरशमशेरका छोरा मृगेन्द्रशमशेर । उनै मृगेन्द्रका छोरा हुन् भरतशमशेर ।

२००८ सालमा वीपी कोइराला गृहमन्त्री थिए । त्यो समयमा भरतशमशेरको नेतृत्वमा रहेको खुकुरी दल चर्चामा थियो । खुकुरी दलले वीपीको हत्या प्रयास भएको मानिन्छ । तर, हिमाल खबरपत्रिकाका शेखर खरेलसँग कलकत्ताको बालिगञ्जमा कुराकानी हुँदा ‘त्यो हन्ड्रेड पर्सेन्ट झुट’ भनेको खरेलले लेखेका छन् । भरतशमशेरका भाई तथा अक्सफोर्ड विश्वविद्यालयबाट पहिलोपटक स्नातक गर्ने सागरशमशेरले पनि त्यो झुटो कथा भएको खरेलसँग बताएका छन् ।

२०१५ सालको चुनावमा गोरखा परिषदबाट भरतशमशेर र उनका बाबु मृगेन्द्रशमशेर दुवै थिए । तर, प्रमुख प्रतिपक्षि दलका नेता भने बाबुलाई पछि पारेर भरतशमशेर भएका थिए । यस्तो गर्नमा वीपीले सहयोग गरेको हाल नेपाली कांग्रेसकै नेता रहेका सागरशमशेरले बताएका छन् ।

सागरशमशेरले २०१७ असार १५ मा मुस्लाङमा चिनियाँ सुरक्षाकर्मीबाट नेपाली सुवेदार बमप्रसाद मारिएको घटनामा समेत वीपी र भरतशमशेरले साझा धारणा बनाएर कडा आपत्ति जनाउँदै पचास हजार क्षतिपुर्ति तिराएको अंग्रेजी भाषाको नेपाली टाइम्स साप्ताहिकमा लेखेका छन् ।

प्रमुख प्रतिपक्षी दलको नेता हुन वीपीले सहयोग गरेको गुन भरतशमशेरले आफ्नो पार्टी गोरखा परिषद नेपाली कांग्रेसमै बिलाएर तिरे । महेन्द्रले २०१७ मा गरेको सत्ता कब्जामा थुनिएका उनी राजालाई सहयोग गर्ने नाममा एक वर्षपछि छुटे । कलकत्तामा आफ्नो आवासमा पुग्ने बित्तिकै उनले नेपाली कांग्रेससँग एकीकरण गरे ।

भरत शमशेरका भाई सागरशमशेरका छोरा उदयशमशेर अहिले नेपाली कांग्रेसका चिनिएका युवा नेता हुन् । राज्यमन्त्रीसमेत भइसकेका उनी पछिल्लो चुनावमा भने एमालेका नवराज सिलवालसँग पराजित भए । २०१५ सालको चुनावमा प्रमुख प्रतिपक्षी दलको नेता भएका भरतशमशेररले २०४८ को दोश्रो संसदिय चुनावमा कांग्रेसको चुनावी प्रचारमा खटे । तर, २०१५ सालमा जस्तो सक्रिय संसदीय राजनीतिमा भने सक्रिय भएनन् ।

२०७५ साउन २५ गते शुक्रबार राति भरतशमशेरको कलकत्ताको आफ्नै निवासमा मृत्यु भयो । ८९ वर्षको उमेरमा मृत्यु भएका उनको शरीर उनकै इच्छाअनुसार अस्पताललाई दिइयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर