निजी क्षेत्रको माग- एमसीसी पास गरौं, देशलाई आर्थिक लाभ हुन्छ – Nepal Press

निजी क्षेत्रको माग- एमसीसी पास गरौं, देशलाई आर्थिक लाभ हुन्छ

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास गर्न निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले माग गरेको छ । बुधबार ३ वटा संस्थाले संयुक्त विज्ञप्ति लिकाल्दै एमसीसी पास गर्न माग गरेका हुन् ।

एमसीसीअन्तर्गतका आयोजना कार्यान्वयन हुँदा मुलुकलाई आर्थिक लाभ हुने भन्दै कार्यान्वयनका लागि नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सरोकारवालालगायतलाई पास गर्न निजी क्षेत्रले माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको छ भने वैदेशिक सहायता पनि अपेक्षाकृत बढ्न सकेको छैन चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक लगानी ४९ प्रतिशतले घटेको छ, यस परिस्थितिमा ५० करोड अमेरिकी डलरको सहायता नेपालका लागि महत्वपूर्ण छ । एमसीसी पास हुनु पर्छ ।’

नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक सघाउ पुग्ने निजी क्षेत्रको बताएको छ ।

अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसीसीबाट प्राप्त हुने सम्भावना निजी क्षेत्रले बताएको छ ।

यूरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकमा एमसीसीअन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर