विद्युत सर्ट हुँदा कपडा पसलमा आगलागी, करोडौंको क्षति


जनकपुरधाम । जनकपुरको रामानन्द चोकबाट प्रादेशिक अस्पताल जाने बाटोमा पर्ने महाराणि वस्त्रालयमा आगो लागेर करोडौंको क्षति भएको छ ।
विद्युत सर्ट भएर पसलमा आगो लागेको वस्त्रालयका प्रोपराइटर उमाकान्त चौधरीले बताए । ‘करिब १२ बजे वस्त्रालयको सटर खोलेर पूजा गर्न संकटमोचन मन्दिर गए’, उनले भने, ‘फर्केर आउँदा वस्त्रालयमा आगो लागिसकेको थियो ।’
बारुण यन्त्रको सहयोगमा स्थानीयले आगलगी नियन्त्रणमा लिएका छन् । आगलगीबाट पसलमा रहेको सबै कपडा र फर्निचर समानसमेत जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले आगलगीबाट करिब २ करोडको क्षति भएको पीडितले दावी गरेको जानकारी दिए ।