राष्ट्रियसभा : बजेटमाथिको मतदानमा एमाले सांसदले पनि लिए भाग – Nepal Press

राष्ट्रियसभा : बजेटमाथिको मतदानमा एमाले सांसदले पनि लिए भाग

काठमाडौं । प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेको नेकपा (एमाले) ले राष्ट्रियसभामा भने बजेमाथिको मतदानमा भाग लिएको छ ।

मंगलबार राष्ट्रियसभाको पहिलो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक २०७८ पनि टेबल भएको थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाले राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक सभामा टेबल गर्न अनुमित दिए । लगत्तै मंगलबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

दोस्रो बैठकमा पनि एमाले सांसदहरुले भने विरोध भने जारी राखे । एमाले विरोधबीच विनियोजन विधेयक अघि बढाइयो । राष्ट्रियसमा अध्यक्ष तिमिल्सेनाले अर्थमन्त्री जनार्दन शार्माले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्न अनुमति दिए।

विनियोजन विधेयकमाथि छलफल गर्न छुट्याइएको समयको भने कसैले सदुपयोग गरेनन् । त्यसपछि विधेयक स्वीकृतिका लागि राष्ट्रियसभा अध्यक्षले सभामा पेस गरे। हुन्न भन्ने पक्षमा एमाले प्रमुख सचेतक खिमलाल भट्टराईले हात उठाएपछि अन्य सदस्यहरुले पनि हात उठाए ।

सभामा हुन्छ भन्ने पक्षको बहुमत भएकाले विधेयक स्वीकृत भएको घोषणा राष्ट्रियसभा अध्यक्षले गरे । विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल गर्न र मन्त्रीले जवाफ दिनका लागि नाम टिपाउन आग्रह गर्दै राष्ट्रियसभा अध्यक्षले ७ गतेसम्मलाई बैठक स्थगित गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मतदान हुँदा एमालेले भने नाराबाजी जारी राखेको थियो ।

७ गते २ बजे बस्ने बैठकमा समूहत छलफल सकिएपछि विधेयक पारितको प्रक्रिया अघि बढाइनेछ । राष्ट्रियसभामा पनि विनियोजन विधेयक पारित भएमा सरकारलाई खर्चको बाटो खुल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर