मामुली रिसिइवीमा जघन्य अपराधः परिवारै मिलेर अर्को परिवारको हत्या ! – Nepal Press
संखुवासभा हत्याकाण्ड

मामुली रिसिइवीमा जघन्य अपराधः परिवारै मिलेर अर्को परिवारको हत्या !

काठमाडौं । संखुवासभामा भएको सामूहिक हत्याकाण्डबारे नयाँ रहस्योद्घाटन भएको छ । उक्त घटनामा एकै परिवारका तीनसहित पाँचजनाको प्रत्यक्ष संलग्नता रहेको नयाँ तथ्य प्रहरीले बाहिर ल्याएको हो । उनीहरू सबै पक्राउ परेका छन् ।

प्रहरीले यसअघि मृतक परिवारका आफन्त लोकबहादुर कार्कीलाई पक्राउ गर्दै एक्ला अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । कार्कीले पनि आफू एक्लैले ६ जनाको हत्या गरेको बयान दिएका थिए । तर अनुसन्धानका क्रममा थप ४ जनाको संलग्नता देखिएको छ ।

प्रहरीले लोकबहादुरका काका ४६ वर्षीय खड्गबहादुर कार्कीलाई घटनाको प्रमुख योजनाकार ठहर गरेको छ । साथै, उनका बुबा ४९ वर्षीय रणबहादुर कार्की, भाइ १७ वर्षीय नरेश कार्की र खड्गबहादुरका छोरा २८ वर्षीय हस्तबहादुर पनि घटनामा संलग्न पाइएका छन् । उनीहरू सबैलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

लोकबहादुरको बयानका आधारमा चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदीले बताए । पक्राउ परेका चारैजना मृतक तेजबहादुरका छिमेकी हुन् । लोकबहादुरले तेजबहादुरसहितको परिवारका ६ जनालाई एक्लैले मारेको बयान दिएका थिए । तर, एक जनाले चिर्पटका भरमा ६ जनाको हत्या गर्न सम्भव छ ? यत्रो हत्याकाण्ड मच्चिदा छिमेकीहरुले किन थाहा पाएनन् ? जस्ता प्रश्न अनुत्तरित थिए ।

मृतक रञ्जनाको हराएको मोबाइल गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धानले नयाँ दिशा लिएको हो । त्यसपछि प्रहरी टोली थप अनुसन्धानका लागि फेरि घटनास्थल पुगेको थियो । प्रदेश १ का प्रहरी प्रमुख अरूणकुमार विसीको निर्देशनमा संघीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा संयुक्त अनुसन्धान टोली थप अनुसन्धानमा जुटेको थियो ।

प्रहरीले लोकबहादुरका काका ४६ वर्षीय खड्गबहादुर कार्कीलाई घटनाको प्रमुख योजनाकार ठहर गरेको छ । साथै, उनका बुबा ४९ वर्षीय रणबहादुर कार्की, भाइ १७ वर्षीय नरेश कार्की र खड्गबहादुरका छोरा २८ वर्षीय हस्तबहादुर पनि घटनामा संलग्न पाइएका छन् । उनीहरू सबैलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

घटना योजनावद्ध ढंगले गराइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्याकाण्डको अघिल्लो रात ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित हस्तबहादुर कार्की, लोकबहादुर कार्की, नरेश कार्कीसमेत बसेर योजना बनाएका थिए ।

घटनाको दिन २१ गते बिहान मृतक तेजकुमार कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने तय थियो । त्यहीमौकामा तेजकुमार र उनकी पत्नी कमला कार्कीको हत्या गर्ने योजना बनाइएको अनुसन्धानबाट खुलेको छ । हत्याको बारेमा अरुले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने तथा अनुकुल मिलेमा तेजकुमारको घरमा भएको धनमालसमेत लुट्ने योजना बनाइएको थियो ।

यस्तो छ घटना विवरण

घटनाको दिन मृतकको पिप्लेस्थित खेतमा अभियुक्तहरू खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीसमेत खेताला जाने कुरा थियो । मृतक तेजकुमार कार्की झिसमिसेमै बोलाउन आउने एकिन गर्न खड्गबहादुर कार्की विहान ५ बजे तेजकुमार कार्कीको घरमा गई ‘लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्र्नु’ भन्दै फर्केका थिए ।

तेजकुमार तत्काल उठेर छिमेकी रणबहादुरको घरतिर लम्किए । रणबहादुरको छोरा लोकबहादुरको नाम लिँदै उनी कराए, ‘अल्छी, अझैसम्म उठेका छैनस् ?’

तेजकुमार लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर उनको घरपछाडि चिर्पट बोकी तयारी अवस्थामा ढुकेर बसेका थिए । जब उनी आफ्नो घरतर्फ फर्किए, लोकबहादुरले भाइ नरेशलाई इशारा गरे । अनि, आफू दाउराको चिर्पट र अलैंची काट्ने चक्कु बोकेर पछिपछि लागे । घरपछाडि गोगनेको रुख नजिकै तेजबहादुरको टाउकोमा चिर्पट हानेर लडाए ।

त्यसपछि तत्काल खड्गबहादुर र हस्तबहादुर दौडिदै गएर तेजकुमारमाथि चिर्पटले थप प्रहार गरे । साथै, हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट धकेलेर बाटोमा खसाइदिएका थिए । तेजकुमारको मृत्युपछि सबैले उनको शवलाई घोप्टो पारेर राखिदिए ।

आफूमाथि आक्रमणपछि तेजकुमार ‘लोकेले मार्यो, मलाई नमार’ भन्दै चिच्याएपछि उनको परिवारको कानसम्म प¥यो । त्यसपछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेजकुमारका श्रीमती र बुहारी दौडिदै घटनास्थलतर्फ आए ।

श्रीमती कमलालाई लोकबहादुरले चिर्पटनले हानेको र हस्तबहादुरले छुरा प्रहार गरेको देखिएको छ । यस्तै, बुहारी रञ्जनालाई नरेशले ठेली खोल्सामा झारेको र खड्गवहादुर, लोकबहादुर र हस्तवहादुर मिलि हत्या गरेको अभियुक्तले प्रहरीलाई बयान दिएका छन् ।

रणबहादुर र नरेश समेतले रञ्जनाको लाश कमलाको लाशस भएको स्थानसम्म पुर्याएका थिए। घटनाका बेला मृतक नावालकहरू दिपेन र गोमासमेत घर नजिकको वाटोमा आएको देखेपछि हस्तबहादुर र लोकबहादुरले बाटो छेकेर मुख थुनि चिर्पटले हिर्काउनुका साथै घाँटी बटारेर हत्या गरेका थिए ।

त्यसपछि पाँचै जना अभियुक्तहरू मृतकको घरतर्फ गए । घरमा ८४ वर्षीय पार्वती कार्की मकै नंग्याइरहेकी थिइन् । हस्तबहादुरले उनलाई समातेर घरपछाडिको गोठ नजिक लगे भने लोकबहादुरले टाउको भित्तामा ठोक्काई घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ ।

घटनापछि सबैजना हत्यामा प्रयोग गरेको चिर्पट र छुरी बोकी लोकबहादुरको घरमा पुगे । रगत लागेको छुरी पखालेर बुईंगलमा लुकाए । चिर्पटहरू अँगेनामा डढाए । रगत लागेका कपडाहरू समेत लुकाए ।

अनि, खड्गबहादुर र हस्तबहादुर आफ्नो घर गए । घटनास्थलबाट फर्कने क्रममा रञ्जनाको ओप्पो मोवाइल नरेशले लिएर आएका थिए । मोबाइल स्विच अफ गरि घरमुनिको ओडारमा लगि लुकाएको अनुसन्धानको देखिएको प्रहरीले जनाएको छ । यही मोबाइल प्रहरीका लागि अनुसन्धानको सुराक बनेको थियो ।

खड्गबहादुर र हस्तबहादुर फेरि लोकबहादुरको घरमा गएर सरसल्लाह गरे । कसैले सोधेमा घटनाको वारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भन्ने र यदि प्रहरीले पत्ता लगाएमा लोकबहादुरले जिम्मा लिने सहल्ला उनीहरुबीच भएको थियो । लोकवहादुरले मानसिक औषधी पनि खाने भएकाले उनले जिम्मा लिँदा सजाय छुट हुन सक्ने उनीहरुबीच विमर्श भएको थियो ।

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोवाईल समेत वरामद गरि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

हत्याको कारण मामुली

खड्गबहादुर नियमित रूपमा रक्सी खाएर घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट तथा गालिगलौज गर्ने गर्थे । यस विषयमा तेजकुमारले उनलाई बारम्बार यस विषयमा हकार्ने गरेका थिए । खड्ग बहादुरले पनि ‘मैले जे गरे पनि तँलाई के मतलव ?’ भन्दै जवाफ दिन्थे ।

तेजकुमारले लोकबहादुरलाई पनि ‘तँ पागल, अल्छि, केही काम गर्न सक्दैनस्’ भनेर होच्याउने गरेको अभियुक्तको बयान छ । यस्तै, नरेशलाई ‘तँ डुडे काम नलाग्ने भईस्’ भन्दै गाली गर्ने गरेको अभियुक्तले बताएका छन् । उनीहरुका बाबु रणबहादुरलाई ‘तँ लठेब्रो, केही गर्न सक्दैनस्’ भन्दै आफू सम्पन्न भएको भन्दै जहिले पनि हेप्ने गरेकोको ईख पालेर अभियुक्तहरूले हत्या गरेको प्रहरीले जनाएको छ ।

गत भदौ २१ गते संखुवासभा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

तस्बिर सौजन्य : त्रिरत्न न्यूज ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर