अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पुर्‍याउने व्यवस्था मिलाउन गृह मन्त्रालयको निर्देशन – Nepal Press

अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पुर्‍याउने व्यवस्था मिलाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पुर्‍याउने व्यवस्था मिलाउन निर्देशन दिएको छ। सोमबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई कसरी सुरक्षित राख्‍ने र स्वदेश फर्काउने भन्‍ने विषयमा कार्ययोजना सहित कार्य गर्न र उनीहरूलाई स्वदेशमा ल्याइसकेपछि गर्नुपर्ने तयारी गरी स्वदेश फर्काइएका नागरिकको स्वास्थ्य जाँचको व्यवस्था गर्ने र संक्रमितलाई उपचारको व्यवस्था र अरूलाई घरसम्म पुर्‍याउने व्यवस्था समेत मिलाउन गृमन्त्री खाणले निर्देशन दिएका हुन् ।

यस विषमा परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सूचना आदानप्रदान र समन्वय गरेर प्रभावकारी रूपमा काम गर्न पनि गृमन्त्रीले निर्देशन दिएको मन्त्रालयका प्र्रक्ता समेत रहेको सहसचिव फणिन्द्रमणी पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ । उनका अनुसार हालै अफगानिस्तानमा भएको घटना र त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षित रूपमा उद्धार गर्ने विषयलाई समन्वयात्मक र प्रभावकारी बनाउनका लागि बैठक बसेको हो ।

अफगानिस्तान घटनाबाट नेपालमा कुनै न कुनै रूपमा प्रभाव देखिन सक्ने हुँदा पूर्वसावधानी आवश्यक रहेको गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले बताए । त्यहाँ रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक सम्पर्क बढाउने, पर्यटन मन्त्रालयले वायुसेवालाई तयारी अवस्थामा राख्ने, नेपाली नागरिकलाई नेपाल ल्याइसकेपछि उनीहरूको व्यवस्थापन गर्न होल्डिङ सेन्टर , होटल क्वारेन्टाइन र खोप लगायतका स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए । सीमा नाकामा निगरानी बढाउने, उक्त घटनालाई लिएर हुन सक्ने कुनै पनि गतिविधि उपर निगरानी एवं नियन्त्रण गर्ने गरी तयारी अवस्थामा रहन पनि आवश्यक रहेको सचिव पाण्डेको भनाई छ ।

बैठकमा गृहमन्त्री खाँण, गृह सचिव पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल, नेपाली सेनाका कार्यवाहक प्रधान सेनापती प्रभुराम शर्मा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्मा र अफगानिस्तानमा रहेका नेपालीको अवस्था वस्तुगत रूपमा यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्य गर्नका लागि आज परराष्ट्र मन्त्रालयका सहसचिवको अध्यक्षतामा गठित कार्यदलका सदस्यको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर