वनमा आगो लगाउनेविरुद्ध उजुरी दिए पुरस्कार पाइने – Nepal Press

वनमा आगो लगाउनेविरुद्ध उजुरी दिए पुरस्कार पाइने

डोटी । डोटीमा वन जङ्गलमा आगो लगाउने व्यक्तिविरुद्ध उजुरी दिने व्यक्तिलाई नगद पुरस्कार दिइने भएको छ ।

जिल्लाको अधिकांश वन क्षेत्रमा आगोले जलेपछि वनमा डढेलो लगाउने व्यक्तिको बारेमा सूचना दिने व्यक्तिलाई पुरस्कार दिने निर्णय भएको हो ।

डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले वन डढेलो नियन्त्रण गर्न उक्त निर्णय गरेको हो ।

‘डढेलो लगाउनेहरू बारे सुराकी दिनेलाई नगद पुरस्कार दिइनेछ’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने ‘आगो नियन्त्रणमा सक्रिय भूमिका खेल्नेलाई पनि पुरस्कार दिइनेछ ।’ पुरस्कार कति दिने भन्ने विषयमा भने खुलाइएको छैन ।

वन जङ्गलमा आगो लगाउने व्यक्तिलाई कानुनी कारबाही गर्न नसक्दा वर्षेनी यो समस्या भइरहेको जिल्ला समन्वय समिति डोटीका उपप्रमुख स्मृति चुनारा विकले बताइन् ।

उनी भन्छिन् ‘स्थानीय बासिन्दाहरूले आगो लगाउने व्यक्तिबारे थाहा पाएर पनि सूचना लुकाउने गरेका छन् ।’

उनले आगो लगाउने व्यक्तिबारे सूचना दिने व्यक्तिको नाम गोप्य राखिने बताइन् ।

बैठकले वन क्षेत्रमा लागेको डढेलोले भयावहको स्थिति सिर्जना गरेको हुँदा यसैलाई नियन्त्रण गर्न सबै क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ । डोटीको कुल बन क्षेत्रमध्ये ४० प्रतिशतमा डढेलो लागेको डिभिजन बन अधिकृत गोकुल रिजालले जानकारी दिए ।

उनले भने ‘डढेलोले वन्यजन्तु र बोटबिरुवा संकटमा परेका छन् ।’

डढेलोले माटो समेत डढेको रिजाल बताउँछन् । व्यक्तिगत स्वार्थका लागि, एक अर्काबीचको रिसइबी साँध्ने, बिडि चुरोट खाएर जथाभाबी फालेर, घाँस पलाउने तथा वन्यजन्तुको शिकार गर्न सहज हुने भन्दै बनमा आगो लगाउने गरेको रिजालको भनाई छ ।

आगलागी नियन्त्रणका लागि पालिका स्तरमा पनि वन उपभोक्ता समितिहरूसँग छलफल भइरहेको रिजालले जानकारी दिए ।

जेठ १५ गतेसम्म डढेलो बढ्न सक्ने सम्भावना रहेका भन्दै स्थानीय तहका जनप्रतिनिधिहरू, कर्मचारीहरू, सामुदायिक बनका उपभोक्ता, सुरक्षा निकाय लगायत आम नागरिकलाई सतर्क रहन रिजालले आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *