समाजमा आशा जगाउन सबै राजनीतिक दल एक हुनुपर्छ : महामन्त्री शर्मा (भिडिओ) – Nepal Press

समाजमा आशा जगाउन सबै राजनीतिक दल एक हुनुपर्छ : महामन्त्री शर्मा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आवश्यकता औंल्याएका हुन् । महामन्त्री शर्माले नेपाल कहिल्यै पराधीन नभएपनि सुगौली सन्धिपछि धेरै भूभाग गुमाउनु परेको उल्लेख गर्दै ती भूभागलाई फिर्ता ल्याउने गरी आफूलाई बलियो बनाएर अघि बढ्न नेपालका राजनीतिक दलहरु सबै मिल्नुपर्ने बताए ।

उनले नेपाल इतिहासको सबैभन्दा सुन्दरघडीमा रहेको र नेताहरु जनताको खरो प्रश्नभन्दा टाढा भाग्न नसक्ने अवस्था रहेकाले अब जनतामा आशा जगाउनका लागि साझा मनोविज्ञान बनाएर अघि बढनुपर्ने बताए । उनले निराशाको नाम दिने भन्दा त्यसलाई असन्तुष्टिको बाटोबाट सन्तुष्टिको खोजी, नयाँ सपनाको खोजीतर्फ लिएर जानुपर्ने पनि बताए ।

महामन्त्री शर्माले युवाहरुमा पनि नयाँ आशाभर्ने काममा सबै राजनीतिक दलहरुले काम गर्नुपर्ने बताए ।

यस्तो छ शर्माको भनाइः

नेपाल अहिले इतिहासको सबैभन्दा सुन्दर घडीमा छ । कुन दल सरकारमा छ, कुन दल ठूलो छ, सरकारको नेतृत्व कसले गरिरहेको छ ? ती विषय तत्कालिक विषय हुन् । तर नेपाल देश लामो संशस्त्र संघर्षबाट शान्तिमा अवतरण भएको छ । संविधानविदबाट संविधान बनेको छ । एकात्मक राज्य प्रणालीबाट संघीय राज्यमा परिणत भएको छ । नागरिक पंक्तिमा अत्यन्तै चेतना छ । कुनैपनि राजनीतिक नेतृत्व जनताको खरो प्रश्नभन्दा टाढा भाग्न सक्दैन ।

यस्तो बेलामा नेपाल देश निर्माणका गर्नका लागि के छ भनेर मलाई व्यक्तिगत रुपमा सोध्यो भने व्यक्तिगत रुपमा भनौँला । दलको सपना के छ भन्दा त्यो पनि भनौला । तर सात समुन्द्र पारीका मानिसले आएर आएर सोध्दा मेरो देशको साझा सपना यो हो भन्ने मनोविज्ञान बनाउनु पर्छ ।

त्यो बनाउन सकिन्छ । र त्यो खोजी चाहिँ आशालाई अभिवृद्धि गर्नका लागि महत्वपूर्ण हुन्छ । मेरो कुरा टुंग्याउँदै गर्दा म तपाईलाई उदाहरण दिएर भन्छु–हामीलाई कक्षा कोठामा सानैदेखि के पढाईयो भने वीर गोरखाली तिमीले कसैसँग कहिल्यै पनि हारनौं भनेर ।

भक्ति थापालाई, अम्मरसिंह थापालाई, बलभद्र कुँवरलाई शिर निहुँ¥याएर श्रद्धा गर्नु पर्छ । नेपाल देश कहिल्यै पनि पराधिन भएन । यो जति सत्य हो । अर्को सत्य त्यत्तिकै छ–हामी पराधिन भएनौं तर हामी पराजित भयौं । त्यो दार्जिलिङ हाम्रो थियो । त्यो देहरादुन हाम्रो थियो । त्यो कुमाउ, गढवाल हाम्रो थियो । आज हाम्रो छैन ।

तर हामीले जहिले पनि के भन्यौं भन्दा वीर गोरखाली तिमीले कहिल्यै हारेनौं भनेर । हामीले बुझाउनु पर्छ–हामी हारेका हौं । हामी त्यो भूभाग अहिले फिर्ता लिन चाहँदैनौं । त्यो भूभाग फिर्ताको हाम्रो आन्दोलन छैन । तर सिंगो नेपाल, सिंगो नेपाली भिन्न भिन्न दलहरु एक ठाउँमा उभिएर हामी नेपालीले जित्न बाँकि छ । र जापानले हिरोसिया र नागसाकीमा प्रहार भईसकेपछि अमेरिकासँग बदला लिएन । तर उसले बदला चाँही आफै बदलिएर लियो । र उसले आफूलाई बलियो बनाएर सीमा तन्काएर जापानलाई जवाफ दियो ।

त्यसकारण नेपाल देशले पनि हिजो हामीले हिजो हामीले १८१६ को सुगौली सन्धि पराजयको डकुमेन्ट हो । यो देशको प्रत्येक राजनीतिज्ञमा, यो देशको प्रत्येक सडकमा हिँडिरहेको युवकमा नेपाल देशले जित्न बाँकि छ भन्ने सपना भरेर एउटा नविन आशातर्फ लिएर जानु पर्छ हामीले । त्यसैले म भन्छु-असन्तुष्टि पर्याप्त छ समाजमा । यसलाई निराशाको नाम दिने भन्दा त्यसलाई असन्तुष्टिको बाटोबाट सन्तुष्टिको खोजी, नयाँ सपनाको खोजीतर्फ लिएर जानुपर्छ भन्ने मलाई जाग्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर