विपक्षीलाई साथ दिएका लुम्बिनीका दुई सांसदमाथि एमालेले थाल्यो कारवाही – Nepal Press

विपक्षीलाई साथ दिएका लुम्बिनीका दुई सांसदमाथि एमालेले थाल्यो कारवाही

रुपन्देही । नेकपा एमालेको चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेका विमला वलीले माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार बनाउन माग गरेको निवेदनमा हस्ताक्षर गरेपछि पार्टीले कारवाही प्रकृया अगाडि बढाएको छ ।

सांसद वली यसअघि नै पत्रकार सम्मेलन गरेर माओवादी प्रवेशको घोषणा गरेकी थिइन् भने शाहीले बिहीबार पेस गरेको निवेदनमा हस्ताक्षर गरेका हुन् । शाहीले बुधबार सम्पन्न एमाले संसदीय दलले प्रदेशसभामा सहभागिता नहुने भनी गरेको निर्णय विपरीत सहभागिता जनाएका थिए । सत्तारुढ एमालेले संविधानविपरीत आएको अविश्वास प्रस्तावलाई प्रदेश प्रमुखले मान्यता दिएको भन्दै विशेष अधिवेशन बहिष्कार गर्ने निर्णय गरेको थियो । तर, सांसद अजय शाही भने बैठकमा सहभागी भएका हुन् । सदनमा सत्तापक्षको कुर्सीमा उनीमात्रै थिए । उनले नवलपरासीपश्चिम १ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका थिए ।

शाही चार दलीय गठबन्धनको पक्षमा आएको र उनलाई गठबन्धनले स्थान दिने कांग्रेस दलका नेता वीरेन्द्र कनौडियाले बुधबार नै नेपाल प्रेसलाई बताएका थिए । यसअघि बजेट निर्णयार्थ पेस गर्ने दिनमा पनि उनी बिरामी परेको भन्दै काठमाडौं गएका थिए । एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले विमला वलीको कारवाही प्रकृया पार्टी केन्द्रबाट स्वीकृत भएर आइसकेकाले तत्काल अगाडि बढाइने र शाहीलाई पनि कारबाही गरिने बताए ।

उनले भने, ‘पार्टी निर्णयविपरीत जान कसैलाई छुट छैन, चुनावमा सूर्य चिन्ह लिएर जित्ने अनि अनुचित लाभमा पार्टी फेर्नेलाई तत्काल कारवाही हुन्छ । व्यक्तिका असहमति हुनसक्छन्, त्यो पार्टीभित्र छलफल गर्नुपर्दछ, विपक्षी दलसँग सहकार्य गरेर अगाडि बढ्न पाइँदैन ।’

शाही र वली बैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने समयमा पनि हस्ताक्षरकर्ता हुन् । तर, संघीय सरकारमा मन्त्री रहेका हृदयश त्रिपाठीनिकट रहेका शाहीले अर्को दिन पुनःएमालेमै रहेको विज्ञप्ति सार्वजनिक गरेका थिए । उनीसँगै विपक्षी गठबन्धनमा लागेका कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव फर्केर एमालेमा मन्त्री बनेपछि शाही असन्तुष्ट रहेका थिए ।

शाही र विमला वलीलाई एमालेले कारवाही गरेर सांसद पदबाट मुक्त गराउन पहल थालेको छ । नेकपाबाट निर्वाचित वलीले फागुन २३ को फैसलापछि एमाले रोजेर संसदीय दलका केही बैठकमा समेत भाग लिएकी थिइन् । उनले बैठकको उपस्थितिमा हस्ताक्षर गरेको प्रमाणसहित एमालेले कारवाही प्रक्रिया अघि बढाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर