कोरोना महामारीबीच रोजगारीका लागि डेढ लाख नेपाली विदेशिए – Nepal Press

कोरोना महामारीबीच रोजगारीका लागि डेढ लाख नेपाली विदेशिए

काठमाडौं । कोरोना महामारीबीच करिब डेढ लाख नेपाली युवा रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक लाख ६६ हजार छ सय ९८ जनाले पुनः तथा नयाँ श्रम स्वीकृति लिएका छन् । तीमध्ये ७२ हजार ८१ नयाँ नेपाली कामदार विश्वका एक सय १६ मुलुकमा रोजगारीका लागि पुगेकाे विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए ।

उनका अनुसार तीमध्ये ६१ हजार चार सय २८ जना म्यानपावर कम्पनीबाट र पाँच हजार तीन सय १७ जनाले व्यक्तिगत रुपमा श्रम स्वीकृती लिएका हुन् । यस वर्ष व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृत लिनेको संख्या भने ९४ हजार छ सय १७ छ ।

यस वर्ष सबैभन्दा बढी साउदी अरेबीयामा २३ हजार तीन सय २४, कतारमा २२ हजार एक सय ३१, युएईमा ११ हजार छ सय ११, बहराईन तीन हजार एक सय ४६, रोमानीयामा एक हजार नौ सय १२ र ओमानमा एक हजार पाँच सय ५६ नेपाली कामका लागि गएका छन् ।

विभागको तथ्यांक अनुसार ९४ हजार छ सय १७ जनाले व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिएका छन् । जसमा सबैभन्दा धेरै कतारमा ३२ हजार सात सय ८४, युईएमा २८ हजार आठ सय ६६, साउदी अरेबीयामा २३ हजार छ सय ३६, बहराईनमा एक हजार सात सय ९४, ओमानमा एक हजार पाँच सय ७७, जापानमा एक हजार पाँच सय २६, मलेसियामा एक हजार २८ र कुवेतमा एक हजार १२ जनाले व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिएका छन् ।

यसअघि गैरकानूनी रुपमा वैदेशिक रोजगारीमा गएका पाँच हजार तीन सय ३६ जनाले पनि यस वर्ष श्रम स्वीकृती लिएर गएका छन् ।

८० हजार बढी अदक्ष कामदार बाहिरिए

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार विदेश गएकामध्ये ८० हजार तीन सय ८२ अदक्ष कामदार हुन् । ७० हजार चार सय २६ जना दक्ष कामदार बाहिरिएका छन् भने १५ हजार पाँच सय ८३ अर्धदक्ष दुई सय ४६ , पेशागत दक्ष र ६१ जना उच्च दक्ष बाहिरिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर