‘मेसीले कोपा अमेरिका जित्दा म्याराडोना खुशीले रुने थिए’ – Nepal Press

‘मेसीले कोपा अमेरिका जित्दा म्याराडोना खुशीले रुने थिए’

काठमाडौं । विश्व फुटबलका सर्वकालिन महान् खेलाडीमध्ये एक- लियोनेल मेसीले यसै महिना पहिलो अन्तर्राष्ट्रिय ट्रफी जिते । सन् २०१४ विश्वकप तथा कोपा अमेरिका २०१५ र २०१६ को फाइनलमा पुगेर पनि पराजित भएको अर्जेन्टिनाले जुलाई ११ मा घरेलु टोली ब्राजिललाई १-० को नतिजामा पराजित गर्दै २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्यो ।

पटक-पटक असफल सावित भइरहेका मेसीले वर्षौदेखिको अन्तर्राष्ट्रिय उपाधि जित्ने इच्छा यो वर्ष पूरा गरे । यसबाट विश्वभरका फुटबल समर्थक खुशी छन् ।

यस्तै, अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षक केसार लुइस मेनोट्टीले गत वर्ष निधन भएका अर्जेन्टिनी पूर्व खेलाडी डिएगो म्याराडोना पनि मेसीको सफलताको साक्षी बन्न पाए खुशी हुने बताएका छन् ।

‘यदि म्याराडोना जिवित थिए भने मेसी र अर्जेन्टिनी फुटबल टोलीका लागि धेरै खुशी हुने थिए,’ उनले भने ।

कोपा अमेरिका मेसीको खेल जीवनको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । यद्यपि, उनले २००८ मा भएको बेइजिङ ओलम्पिकमा भने अर्जेन्टिनाको प्रतिनिधित्व गर्दै स्वर्ण पदक जितेका थिए ।

सन् १९८६ का विश्वकप विजेता तथा महान् अर्जेन्टिनी फुटबलर म्याराडोनाको नोभेम्बर २०२० मा मृत्यु भएको थियो ।

उनको सम्झना गर्दै मेनोट्टीले भने- ‘यदि म्याराडोना जिवितै थिए । र, अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि चुमेको देखेको भए गर्भान्वित हुन्थे र मेसीसँगै रूने थिए ।’

मेसी खेल सक्रिय खेल जीवनको अन्त्यतिर छन् । र, ३३ वर्षको उमेरमा जितेको उपाधिसँगै असाध्यै खुसी पनि छन् ।

मेसीको उपस्थितिले टोलीमा छुट्टै ऊर्जा दिन्छ । र, आफ्नो टोलीलाई जिताउन उनको महत्त्वपूर्ण भूमिका रहन्छ । शारिरीक र मानसिक रूपमा तयार रहन्छन् ।

‘मेसी सबै पक्षमा उत्कृष्ट छन्,’मेनोट्टीले थपे ।

मेनेट्टी अर्जेन्टिना यू-२० को प्रशिक्षक थिए । उनको प्रशिक्षणमा अर्जेन्टिनाले जापानमा सन् १९७९को विश्व यूथ च्यापियनसिपको उपाधि जितेको थियो । अर्जेन्टिना फुटबल टोलीले सन् १९७८ मा नेदरल्यान्डलाई ३-१ गोलको नतिजामा पराजित गरेर विश्व कपको उपाधि जित्दा पनि मेनोट्टी अर्जेन्टिनाका प्रशिक्षक थिए ।

कोपा अमेरिका २०२१मा कस्तो रह्यो मेसीको प्रदर्शन ?

मेसीले कोपा अमेरिकामा ४ गोल र ५ असिस्ट गरे । अर्जेन्टिनाले प्रतियोगितामा गरेको १३ गोलमध्ये ९ गोलमा मेसीको प्रत्यक्ष योगदान थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि पनि उनै मेसीले जिते ।

अर्जेन्टिनालाई च्याम्पियन बनाउन आधार स्तम्भ बनेका मेसीले पूर्व कप्तान जाभिएर म्यास्चेरानोको कीर्तिमान तोड्दै राष्ट्रिय टोलीका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर