घर भत्काएर जंगल र विद्यालयमा बस्न बाध्य भजनीका बाढीपीडित (फोटो/भिडियो) – Nepal Press
स्थलगत रिपोर्ट

घर भत्काएर जंगल र विद्यालयमा बस्न बाध्य भजनीका बाढीपीडित (फोटो/भिडियो)

सरकारीस्तरबाट आश्वासनबाहेक केही पाएनन् स्थानीयले

कैलाली । राम पियारी डगौरा उर्लदोँ कन्द्रा नदीको भेललाई एकटकले हेरिरहेकी छन् । दुई दिनदेखि उनलाई राम्रोसँग निद्रा परेको छैन । कारण–कन्द्राले घर बगाउन लागेपछि बनाएको टहरो पनि कतिबेला बग्ने हो टुंगो छैन ।

कैलाली भजनी नगरपालिका– ५ लालभोजीमा उनको घरनजिकै बाधुराम चौधरीको पनि घर थियो । चौधरीको उनको घर कन्द्राले बगायो । त्यो देखेकी राम पियारीले नदीले घर बगाउनुभन्दा अघि नै आफ्नो घर भत्काइन्, सन्तानलाई आफन्तकोमा राखिन् र खाद्यान्न सुरक्षित गर्न थालिन् ।

‘कति बेला बगिन्छ थाहा छैन । त्योभन्दा पहिले नै घर भत्काएर सुरक्षित हुन टहरो बनायौं, यो पनि कतिबेला बग्ने हो टुंगो छैन’, उनले वेदना पोख्दै भनिन्, ‘नदीले धार परिवर्तन गरिरहेको छ । टहरो पनि भत्काएपछि कहाँ बस्ने अत्तोपत्तो छैन ।’

टिकाराम चौधरी भजनी नगरपालिका वडा नम्ब ७ का वडा सदस्य हुन् । आइतबार उनको टोल भगतपुरमा स्थानीयले धमाधम आफ्नो घर भत्काउँदै थिए । अरूको समस्या समाधान गर्न पहल गर्ने चौधरीकै समस्यामा अहिले कसैले चासो दिएका छैनन् ।

‘मोहना नदीले बस्ती कटानी गरिरहेको छ । घर नजिकै नदी पुग्न थालेपछि सुरक्षित स्थानको खोजी गर्दै घर भत्काउन थालेका हौँ’ उनले भने, ‘हामी सबै त्रसित छौँ । यहाँ बसे त कति बेला मरिन्छ थाहै छैन ।’

प्रत्येक वर्ष यहाँ खोलाले स्थानीयलाई विस्थापित गराउने गरेको थियो । केही दिन विद्यालयमा बसेर फेरि घर फर्केका स्थानीय यस वर्ष भने पूर्णरुपमा विस्थापित भएका छन् ।

अहिले वडा नम्बर ७ मा सिताराम डगौरा, बाबुराम डगौरा, जुगराम डगौरा, सञ्जय चौधरी, सन्तराम चौधरी, राजकुमार चौधरी, टिकाराम चौधरीले आफ्नो घर भत्काइसकेका छन् । उनीहरुमध्ये केही मनमोहन आधारभूत विद्यालयमा बस्न थालेका छन् भने केही हिम्मतपुर सामुदायिक वनमा बस्न थालेका छन् ।

आफूहरू विद्यालयको भवन बस्दा सुरक्षित हुने भएपनि घरमा भएका चौपायालाई कसरी सुरक्षित गर्ने र कहाँ राख्ने भन्ने उनीहरूलाई समस्या छ । ‘मेरो १२ वटा भैंसी छन्, त्यसलाई कहाँ राख्ने के खुवाउने निकै समस्या छ’ वडा सदस्य चौधरीले भने, ‘यहाँ मान्छे जोगिन कठिन छ । र, पशुलाई पनि जोगाउनु पर्नेछ ।’

विस्थापित हुँदै गरेका जुगराम डगौरा पनि पानी परेलगत्तै निकै समस्या हुने बताउँछन् । ‘पानी नपर्दा पनि खोलाले धार परिवर्तन गरेर निकै समस्या बनाएको छ । हामी बँच्नकै लागि भएको सबै घरबार छोड्दै छौँ’ उनले भने, ‘यहाँबाट गएर कहाँ बस्ने भन्ने टुंगो छैन ।’

भजनी नगरपालिका ५ पुलियापुरमा १४ घर छन् । पुलियापुरको उत्तरमा कन्द्रा नदी र दक्षिणमा मोहना नदी बग्ने गर्दछ । सामान्य वर्षाको पानी पनि निकास नहुँदा पुलियापुर डुबान हुने गर्दछ । अहिले यहाँका नागरिकहरू हुलाकी सडकमा त्रिपाल टाँगेर बस्न बाध्य छन् । अतिविपन्न नागरिकहरूको बसोबास रहने यो टोलमा अहिले खाद्य संकट देखा परेको छ ।

‘हामीसँग भएको खाद्यान्न सबै पानीले बगायो, अहिले भोकै छौँ’ पुलियापुरका स्थानीय मोहन टमटाले भने, ‘पैसा पनि छैन । खाने कुरा पनि छैन । कसैले सहयोग पनि गरेका छैनन् ।’

वडा नम्बर १ ठेङ्गरपुरमा कन्द्रा नदी गाउँ पस्नै थालेको छ । यहाँका पनि केही स्थानीय विस्थापित भइसकेका छन् । अन्य स्थानमा जग्गा भएकाहरू सजिलै यहाँबाट स्थानान्तरण भए पनि जग्गा नभएकाहरू जोखिम मोलेरै बस्न बाध्य रहेको स्थानीय सवितादेवी डगौराले बताइन् ।

‘हाम्रो घर नजिकै नदी पुग्न थालेको छ । अरूहरू त यहाँबाट घर भत्काएर गइसके हामी जाने ठाउँ पनि छैन’ उनले भनिन्, ‘पानी पर्दा राति खोला हेरेरै रात बिताउँछौ । ’

भजनी नगरपालिकाको ३, ८, ५ र ७ पूर्णरूपले बाढी प्रभावित क्षेत्र हो ।

वडा नम्बर ३मा ७ हजार ५९३, ५ मा ७ हजार २५६, ७ मा ५ हजार ८७२ र ८ मा ६ हजार ८९२ जनसंख्या छ । तीमध्ये अधिकांश घरहरूमा सामान्य वर्षामा पनि पानी पस्ने र आधा भन्दा बढी घर वर्सेनि डुबानमा पर्ने गरेको स्थानीयले बताए ।

गत वर्ष १४ साउनमा आएको बाढीले बगाउँदा वडा नम्बर ८मा तीन जनाको मृत्यु भएको थियो । अहिले पनि त्यही नियति दोहोरिने हो कि भन्ने चिन्तामा छन् यहाँका स्थानीय ।

वडा नम्बर ५ का कार्यबहाक अध्यक्ष शेरबहादुर बोहरा बाढी प्रभावितहरूलाई राहत र व्यवस्थापनको लागि निरन्तर लागिरहेको बताउँछन् ।
भजनी नगरपालिकाले पनि नदी नियन्त्रणको लागि सामान्य तटबन्ध बनाउनेबाहेक केही गर्न नसकेको गुनासो छ । यसवर्ष त झन् जोखिम बढी भएको क्षेत्रमा तटबन्धका योजना नपरेको स्थानीय बताउँछन् ।

नगरपालिकाले भने आफूहरूले पहल गरिरहेको दाबी गरेको छ । ‘यहाँ निकै ठूलो समस्या छ’ उपप्रमुख छायाँ देवकोटाले भनिन्, ‘समस्या समाधान हाम्रो एकल प्रयासबाट सम्भव छैन, हामीलाई प्रदेश र संघीय सरकारको पनि साथ चाहिन्छ ।’

आश्वासनबाहेक केही पाएनन् पीडितले

काडा, पथरैया, मोहना र कन्द्रा नदीको संगम क्षेत्रका रुपमा रहेको भजनी नगरपालिकामा १४ साउनमा आएको बाढीले हजारौं घर डुबानमा पर्यो । सयौँ परिवार विस्थापित भए ।

१४ गतेको बाढीले कैलालीमा ६ हजार ३२० घर डुबानमा परेका थिए । त्योमध्ये भजनी नगरपालिकामा मात्रै २ हजार १८० घर डुबानमा परेका छन् ।

१४ साउनमा बाढी गाउँ पसेपछि सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह दलबलसहित बाढी प्रभावित क्षेत्रको निरीक्षणमा पुगे । हाल उनी प्रदेशका अर्थमन्त्री छन् ।

बाढी आएलगत्तै प्रभावित क्षेत्रमा सरकारका प्रवक्ता नै पुगेपछि त्यहाँका नागरिकले केही हुन्छ कि भन्ने आशा गरेका थिए । तर, भएन ।

सरकारका प्रवक्ताले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरिसकेपछि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी पनि पीडितको पीडा बुझ्न पुगिन् । उनीसँगै थिए तत्कालीन संघीय संसदका सदस्य तथा पूर्व कृषि मन्त्री गौरीशंकर चौधरी । प्रदेश सरकारका वर्तमान कृषिमन्त्री र संघीयसरकारका पूर्व कृषि मन्त्री भजनी पुगे । तर त्यो बेला पनि पुगेन गतिलो राहत ।

त्यसपछि प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको जम्बो टोली नै निरीक्षण गर्न पुग्यो । सोही दिन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल पनि निरीक्षणमा पुगेका थिए ।

समितिले निरीक्षणपछि सरकारलाई तत्काल राहत र पुनःस्थापनाको लागि निर्देशन दियो । तर अहिलेसम्म न पुनःस्थापनाको पहल भएको छैन ।
बाढी गएको १७ दिनपछि शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्ट नै निरीक्षणमा निस्किए । मुख्यमन्त्रीसँग अन्य केही मन्त्री, प्रदेशसभा सदस्य र राष्ट्रियसभा सदस्य पनि थिए ।

मुख्यमन्त्री भट्टले डुबान क्षेत्रको अनुगमन गर्दै तत्काल र दीर्घकालीन योजना बनाएर समस्या समाधान गरिने बताएका थिए । बाढी गएको १७ दिनपछि जम्बो टोली लिएर पीडितलाई भेट्न पुगेका मुख्यमन्त्रीको पनि अहिलेसम्म यहाँको बस्ती सुरक्षित गर्न कुनै पहल नगरेको स्थानीयको आरोप छ ।

‘मुख्यमन्त्री आउँदा हामीलाई अब केही हुन्छ कि भन्ने आश पलाएको थियो’ स्थानीय खोजराम चौधरीले भने ‘तर हाम्रो समस्या समाधान गर्न कुनै पहल गर्नु भएन । ’

त्यो बेला अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले सरकारलाई तत्काल समस्या सम्बोधन गर्न राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउनसमेत निर्देशन दिएको थियो तर, अहिले स्थानीयले आश्वासन बाहेक केही पाएनन् ।

‘अहिले मनसुन सक्रिय बन्दै गइरहेको छ । स्थानीय त्रसित छन् । प्रत्येक वर्ष यहाँ बाढी गाउँ पस्छ’ वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले भने ‘अहिलेसम्म ठूलो क्षति भएको छैन । अब क्षति हुने डरले सबै त्रसित छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर