३४ खेलमा अपराजित इटली विश्वकीर्तिमान नजिक – Nepal Press

३४ खेलमा अपराजित इटली विश्वकीर्तिमान नजिक

काठमाडौं । रोबर्टो मान्चिनीको इटालीले फाइनलमा इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ को नतिजामा पराजित गर्दै युरो २०२० को उपाधि जित्यो । आइतबार राति इङ्ल्यान्डको वेम्ब्ली स्टेडियममा भएको खेलमा पेनाल्टी सुटआउटमा बाजी मारेसँगै इटालीले ३४ खेलमा अपराजित यात्रा तय गरेको हो ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको सेमिफाइनलमा स्पेनलाई ४-२ को नतिजामा पराजित गर्दै इटालीले फाइनलमा स्थान सुरक्षित गरेको थियो । बेल्जियमविरुद्धको क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेको इटालीले २-१ गोलको नतिजामा जित हासिल गरेको थियो ।

इटालीले आफ्नो उपाधि यात्रामा १३ गोल गरेर ४ गोल मात्र खाएको थियो । इटाली अन्तिम पटक नेसन्स लिगअन्तर्गत २०१८ को सेप्टेम्बर १० मा पोर्चुगलसँग पराजित भएको थियो ।

प्रशिक्षक भिट्टोरियो पोज्जो नेतृत्वको ‘अज्जुरी’ले सन् १९३५ देखि १९३९ सम्म ३० खेलमा अपराजित यात्रा तय गरेको थियो । त्यो समयमा इटालीले दोस्रो विश्वकप (१९३८)को उपाधि र ओलम्पिक गोल्ड मेडल (१९३६) जितेको थियो ।

अहिले मान्चिनी नेतृत्वको इटाली विश्व फुटबलको इतिहासकै सर्वाधिक लामो अपराजित यात्राको कीर्तिमान बनाउन नजिक पुगेको छ । अहिलेसम्म फुटबलको इतिहासमा ब्राजिल र स्पेनले समान ३५ खेलमा अपराजित यात्रा तय गरेर कीर्तिमान राखेका छन् ।

अहिले इटाली मात्रै नभएर अल्जेरया पनि लामो अपराजित यात्रामा छ । अफ्रिक कप अफ नेसन्स विजेता अल्जेरिया २०१८ यताका २८ खेलमा अपराजित छ ।

कुन राष्ट्रिय टोलीको छ सबैभन्दा लामो अपराजित यात्रा ?

टिम खेलहरू समय
ब्राजिल ३५ १९९३-१९९६
स्पेन ३५ २००७-२००९
इटाली ३४ २०१८-अहिलेसम्म
अर्जेन्टिना ३१ १९९१-१९९३
इटाली ३० १९३५-१९३९
फ्रान्स ३० १९९४-१९९६
अल्जेरिया २७ २०१८-अहिलेसम्म
वेस्ट जर्मनी २३ १९७८-१९८१
फ्रान्स २३ २०१०-२०१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर