चोटमाथि चोट खेपेका चनौटेबासीको आश: रेट्रोफिटिङ ! – Nepal Press
मेलम्ची बाढीपीडित

चोटमाथि चोट खेपेका चनौटेबासीको आश: रेट्रोफिटिङ !

काठमाडौं । मेलम्ची बजारदेखि उत्तरतर्फ १४ किलोमिटर कच्ची सडक पार गरेपछि पुगिन्छ, हेलम्बु गाउँपालिका ७ स्थित चनौटे बजार । २०७२ सालको भूकम्पले बजारका पुराना घर भत्कायो । अनि सरकारले दिएको तीन लाख रुपैयाँ अनुदानमा थप ऋणपान गरेर यहाँका स्थानीयले पक्की घर बनाए ।

पछिल्लो समय मेलम्ची खानेपानी आयोजना र पर्यटकीय गन्तव्य हेलुम्बु घुम्न जाने पर्यटकका कारण बजारमा चहलपहल बढेको थियो । भूकम्पले दिएको चोट विर्सेर क्रमशः सामान्य दैनिकीमा फर्कन लागेका चनौटेबासीमाथि असार १ गते फेरि ठूलो बज्रपात पर्यो ।

असार १ गते राति सिन्धुखोलमा आएको बाढीले बल्लबल्ल बनाएको घर डुबायो, बगायो । जेठ ३१ गतेसम्म सामान्यसँग चलिरहेको चनौटे बजार हेर्दाहेर्दै बगर भयो । ‘भूकम्पपछि बल्लबल्ल बजारमा चहलपहल बढ्न थालेको थियो’ स्थानीय खड्गबहादुर कार्की भन्छन्, ‘अब फेरि यो बजार पहिलेकै स्थितिमा फर्कन वर्षौं लाग्छ, हाम्रो त विचल्ली हुने भो ।’

बर्षायाम सुरु भएसँगै यहाँका स्थानीय खेती लगाउने तयारीमा व्यस्त थिए । बाढी आएको दिन सम्झँदै कार्की भन्छन्– त्यो दिन पानी त बिहानैदेखि परिरहेको थियो, साँझ पाँच बजेपछि खोला बढ्न थाल्यो ।

पछि हेर्दाहेर्दै खोला पाँच फिटमाथि आइपुगेर उनको चारतले घरभित्र पस्यो, दोस्रो तलाबाट खोला बग्न थाल्यो । पहिलो तला लेदोले भरियो । अनि ठूलाठूला ढुंगा आयो । पिलर हल्लायो । एउटा पिलर बगायो ।

घरमा बस्नसक्ने स्थिति नै नभएपछि उनी घरभन्दा माथि १५ मिनेटको दूरीमा रहेको गोठमा गएर बसे । बिहान हेर्न आउँदा उनको घर त नदीको भंगालोभित्र थियो । ‘जीवनभर दुःख गरेर बनाएको एउटा घर पनि बाढीले यस्तो बनाइदियो’, अवशेषका रुपमा रहेको घर हेर्दै उनी भन्छन्, ‘तै पनि अझै यहीं घरलाई मर्मत गरेर बस्न मिल्ने बनाउन सकिन्छ कि भन्ने आश छ ।’

खड्गसँगै यहाँका धेरै बाढीपीडित स्थानीय घरलाई मर्मत गरेर बस्ने मुडमा छन् ।

आशामा अल्झिएको मन

खड्गबहादुर हरेक दिनजसो बाढी पसेर धराप भएको घर हेर्न जान्छन् । उनलाई आश छ कि, कोही इन्जिनियर आएर हेरोस् अनि घर कसरी मर्मत गर्न सकिन्छ भनेर बताइदेओस्स् !

केही दिनअघि एकजना इन्जिनियरले रेट्रोफिटिङ गरेर घरमा बस्न सकिने बताए । त्यसपछि उनलाई थोरै भए पनि घर मर्मत हुने आश पलाएको छ । ‘कोही काठमाडौंबाट आएर वा गाउँपालिकाको इन्जिनियरले हेर्नुपर्ने कि !’ उनी भन्छन्, ‘मिल्ने नमिल्ने थाहा पाउन पाए हुने थियो, मलाई त यहीं घर रेट्रोफिटिङ गरेर बस्न पाए हुन्थ्यो भन्ने लागेको छ ।’

घरको पहिलो तला बाढीले पसेर लेदोले पुरिएको छ । दोस्रो तलाको ४ वटा पिल्लर भत्किएको छ । उनको घरको बीचमा ठूलो ढुंगा पसेको छ ।

उनको बुझाइमा पहिलो तलाको बालुवा, माटो, लेदो हटाउन सकिँदैन, त्यसलाई पुरेर माथिबाट रेट्रोफिटिङ गर्न सकिन्छ । तर नदीलाई पहिलाकै धारतिर फर्काउन पर्ने उनको भनाइ छ । अहिले चनौटेका स्थानीय तारजाली लगाएर भए पनि नदीलाई घर भएको भन्दा अर्कैैतिर फर्काउन लागिपरेका छन् ।

पहिला खोला खड्गबहादुरको घरको तल्लो तलाबाट ३० मिटर तल थियो । अहिले एक ढलान माथिबाट खोला बगिरहेको छ ।

भूकम्पले भत्काएपछि बनाएको घर

२०७२ सालमा भूकम्प आउनुअघि पनि उनको चनौटे बजारमै चार तलाको घर थियो । सामान्य पसल चलाएरै परिवार पालेका थिए । भूकम्पले पुरानो घर भत्काएपछि उनले त्यहीं भग्नावेश हटाएर नयाँ घर बनाएका हुन् ।

‘भूकम्पपछि घर बनाएको ऋण अझै तिरिसकेको छैन’ खड्गले दुःख सुनाए, ‘सरकारले दिएको अनुदानले पुगेन । ऋण गरेर घर बनाइयो । अहिले घर सँगै भएजति जायजेथ बाढीले लग्यो । अब ,यहीं घर मर्मत गरेर बस्नुको विकल्प छैन ।’

‘घर बनाउन ५ लाख दिने भनेको छ । तर त्यो पैसा आउन कति वर्ष लाग्ने हो, त्यतिन्जेल हामी कहाँ बस्नु ?’ उनी प्रश्न गर्दै भन्छन्, ‘बरु यसैलाई मर्मत गर्ने वातावरण बनाइदिए हुन्थ्यो ।’

खड्गबहादुर मात्रै होइनन् । चनौटेका अधिकांश स्थानीय नयाँ घर बनाउने अवस्थामा छैनन् । चनौटेका हस्त पण्डित भन्छन्– चनौटेबासी नयाँ घर बनाएर बस्ने अवस्थामा छैनन् । भूकम्पपछि बल्लबल्ल बनाएको पक्की घर नै रेट्रोफिटिङ गरेर बस्ने वातावरण बनाउन सके राम्रो हुने थियो ।

यदि मर्मत गरेर बस्न नमिल्ने टुंगो लागे स्थानीयलाई योजना बनाउन सजिलो हुने उनको भनाइ छ । बस्ती नै सार्नुपर्ने भए पनि छिटै निर्णय गर्न उनले सरकारसँग माग गरेका छन् । स्थानीय नेतासमेत रहेका उनले बस्ती बसाउने र घर बनाउने विषयमा गाउँपालिका र इन्जिनियरहरुसँग छलफल भइरहेको बताए ।

के भन्छन् इन्जिनियर ?

रेट्रोफिटिङ गर्न सकिन्छ कि सकिँदैन भन्नका लागि क्षति पुगेको घरको जगदेखि नै हेर्नुपर्ने बताउँछन्, इन्जिनियरहरु । बाढीले घरको जगदेखि नै हल्लाएको छ भने रेट्रोफिटिङ गर्न गाह्रो हुने उनीहरुको भनाइ छ ।

‘प्रारम्भिक प्रतिवेदन नहेरी यसै भन्न सकिँदैन’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट खटिएका इन्जिनियर धनीजर चौधरीले नेपाल प्रेससँग भने’, ‘बाढीले २५ फिटसम्म बालुवा थोपरेको छ । कतिपयको जग पनि हल्लाएको छ । प्रारम्भिक प्रतिवेदन नै नहेरी मर्मत गरेर बस्न मिल्ने नमिल्ने भन्न गाह्रो छ ।’

उनका अनुसार डिपिसी लेभलदेखि नै हल्लिएका घरको तलदेखि माथिसम्म मर्मत गर्नुपर्ने हुन्छ । जसका लागि धेरै खर्च लाग्छ । घरको प्रकृतिअनुसार कतिको ड्यामेज ग्रेड छ, त्योअुनसार हेरेर रेट्रोफिट गर्न कतिको सम्भव छ ? गरिहाल्यो भने कतिको खर्च लाग्छ भन्ने भन्न सकिन्छ । प्राविधिक प्रतिवेदन र फिल्ड रिसर्च गरेर मात्रै यसै भन्न सकिने उनी बताउँछन् ।

बाढीले क्षति पुयाएको घर रेट्रोफिटिङ गर्दा बलियो हुने भए पनि क्षतिको स्थितिबारे प्रष्ट हुनुपर्ने बताउँछन् मेलम्ची नगरपालिकाका भवन शाखाको इन्जिनियर जितबहादुर कार्की । उनी भन्छन्, ‘रेट्रोफिटिङ गर्दा घर त बलियो हुन्छ । तर भूगोलका कारणले बाढीको सधैं जोखिम हुन्छ । सधैं त्रासमा बस्नुपर्ने हुन्छ ।

घर बनाउन लाग्ने रकममध्ये ३५ प्रतिशत खर्च गर्दा रेट्रोफिटिङ हुने उनको भनाइ छ ।

अध्ययन गर्दैर्छौं, पीडितले छिटै घर पाउँछन्ः प्राधिकरण

बाढीपीडितहरुलाई आवास निर्माण गर्ने जिम्मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाएको छ ।

प्राधिकरणका प्रमुख अनिल पोखरेल विस्तृत प्राविधिक अध्ययन नगरी रेट्रोफिटिङबारे भन्न नसकिने बताउँछन । उनी भन्छन्,‘कतिपय घरहरु रेट्रोफिटिङ गर्न मिल्दैन । त्यसको सरंचनाको आधार नै क्षतविक्षत भइसकेको छ ।’ उनका अनुसार कतिपय घर रेट्रोफिटिङ गर्नुभन्दा नयाँ बनाउन फाइदा हुन्छ ।

त्यससँगै जोखिम अझै हुने भएकाले त्यहीं घर बनाउन उपयुक्त छ कि छैन पनि भन्ने प्रारम्भिक प्रतिवेदनको पनि अध्ययन भइरहेको उनले बताए । त्यसका लागि केही समय लाग्नेछ ।

यो वर्षको मनसुन सुरु भएयता बाढी पहिरोले मेलम्चीलगायत नेपालको ९ जिल्लाको घरहरुमा क्षति पुगेको छ । सिन्धुपाल्चोक अर्घाखाँची प्युठान, दाङ दैलेख, पाल्पा लमजुङ बाजुरा मनाङलगायत ९ जिल्लामा ६ सय घरहरु क्षति भएको तथ्यांक छ । त्यहाँ अस्थायी आवास बनाउनका लागि सरकारले २ करोड ८६ लाख छुट्याएको छ ।

प्राधिकरणका प्रमुख पोखरेल भन्छन्, ‘तत्काल प्रतिपरिवार ५० हजारका दरले सम्बन्धित जिल्लामा पठाउँछौ ।

बाढीपहिरो प्रभावितहरुलाई घर बनाउनको लागि सरकारले हिमाली जिल्लाका लागि प्रतिपरिवार ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लाहरुमा ३ लाख दिनेछ । उनीहरुले तीन किस्तामा उक्त रकम पाउने प्राधिकरणले जनाएको छ ।

देशको अन्य कुनै भूगोलमा घर नभएकाले उक्त रकम पाउनेछन् । तीनै तहका सरकारको सहभागितामा दिइने उक्त रकममा तीन लाख थप हुनसक्ने कार्यविधिमा उल्लेख छ ।

सरकारी राहतको आश

बाढी गएको एक महिना हुन लाग्यो । बाढी लगतै गृहमन्त्री विष्णु पौडेलेले बाढीपीडितहरुको लागि अस्थायी बास बनाउन ५० हजार दिने भनेका थिए । तर हेलम्बुका बाढीपीडित कसैले पनि उक्त रकम पाएका छैनन् ।

विभिन्न संस्थाहरुले त्रिपाल बाँडेको थियो । अहिले कतिपय पीडित त्यहीं त्रिपालमुनि रात काटिरहेका छन् । झरीमा त्रिपालले पानी नथेगेपछि पीडितहरु रातभर जाग्राम बस्न बाध्य छन् । उनले पीडा सुनाए, ‘टेन्टले नधानेपछि माथि गाउँमा बास बसेका छौ । कसैको गोठमा बसेका छौ । भाडा तिरौला भनेका छौं । त्रिपालमै बस्नेहरुको त विजोग नै छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ