लुम्बिनीमा मिडिया विधेयक खारेजीको माग गर्दै शान्ति समाजको प्रदर्शन – Nepal Press

लुम्बिनीमा मिडिया विधेयक खारेजीको माग गर्दै शान्ति समाजको प्रदर्शन

रुपन्देही । शान्ति समाज नेपालले लुम्बिनी प्रदेश सरकारले ल्याउन लागेको सञ्चार विधेयक खारेजीको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले ‘प्रेस स्वतन्त्रताविरोधी विधेयक खारेज गर, प्रेसमाथिको प्रहार, निरकुंशताको आधार, हामी सबै प्रेस स्वतन्त्रताको पक्षमा, प्रेस स्वतन्त्रता जिन्दावाद’लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको विद्येयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै यसको विरोधमा उत्रनुपरेको शान्ति समाज नेपालका अध्यक्ष गोविन्द खनालले बताए । खनालले मिडिया विधेयक नेपालको संविधानको प्रस्तावनाको विरुद्धमा भएकोले खारेज गरी पुनर्लेखनको माग गरे ।

उनले विश्वव्यापी मानव अधिकारको घोषणापत्रले संरक्षण गरेको अधिकारलाई प्रतिनिधित्व गर्ने प्रेस स्वतन्त्रताको विषय संयुक्त राष्ट्र संघका पक्ष राष्ट्रले सम्मान गर्नुपर्नेमा यसको विरुद्ध कानुन निर्माण गर्न खोजिनु निरंकुशतातर्फ उन्मुख हुने संकेत भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, शान्ति समाज नेपालका केन्द्रीय सदस्य विष्णु भुसाल, पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराज पोखरेल, शान्ति समाज रूपन्देही अध्यक्ष डिपी खनाल, जिल्ला सचिव कपिल ज्ञवालीलगायतले बोल्दै यो विद्येयक प्रेसलाई प्रोत्साहन गर्ने भन्दा नियन्त्रण केन्द्रीत रहेकाले पुर्नलेखनको माग गरेका थिए ।

यसअघि पत्रकार महासंघसँगको छलफलमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले संसदमा पेश भएको विद्येयक फिर्ता नभइ सरोकारवालासँगको रायसुझावका आधारमा संशोधन गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर