यातायात व्यवसायी भन्छन्ः सडकबाटै बैंकलाई गाडी बुझाउन नपरोस्, मजदुरको पीडाः छाक टार्नै मुस्किल भइसक्यो – Nepal Press
कोरोना कहर

यातायात व्यवसायी भन्छन्ः सडकबाटै बैंकलाई गाडी बुझाउन नपरोस्, मजदुरको पीडाः छाक टार्नै मुस्किल भइसक्यो

काठमाडौं । कोरोनाको पहिलो लहर र त्यससँगै भएको निषेधाज्ञाका कारण अघिल्लो वर्ष ६ महिनाजति सार्वजनिक यातातात ठप्प रह्यो । पहिलो लहरको कोरोना संक्रमण कम भएसँगै यातायात व्यवसाय ब्युँतिने तरखर गर्दै थियो, कोरोनाको दोस्रो लहर सुरु भयो । त्यसपछि थला परेको यातायात व्यवसाय तङ्ग्रिन अझै कति समय लाग्ने हो ? टुंगो छैन ।

यातायात क्षेत्र ठप्प हुँदा व्यवसायीसँगै मजदुर र सर्वसाधारण पनि मारमा परेका छन् । तथ्यांकअनुसार यातायात क्षेत्रसँग आश्रित करिब २० हजार परिवार नराम्ररी प्रभावित भएका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले विभिन्न मापदण्ड तोकेर मंगबारबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । तर, लामो दूरीका यातायात कहिलेदेखि सञ्चालनमा आउँछन् ? अझै अन्योल छ ।

यो परिवेशबीच सार्वजनिक यातायात ठप्प हुँदा भोग्नुपरेको समस्याबारे के भन्छन् व्यावसायी र मजदुर ?

योगन्द्र कर्माचार्य
अध्यक्ष, यातायात व्यावसायी राष्ट्रिय महासंघ

अहिले ३ लाख सार्वजनिक यातायात थन्किएका छन् । यसबाट व्यावसायीसँगै यससँग आश्रित करिब २० लाख मजदुरको रोजीरोटी संकटमा परेको छ । अब निषेधाज्ञा गरेर मात्रै समस्याको समाधान हुँदैन । स्वास्थ्य मापदण्ड अपनाएर यातायात सञ्चालन गर्न दिनु पर्छ ।

गाडी सञ्चालन नभएको बेलाका लागि सरकारले व्यावसायी र मजदुरलाई विशेष राहत प्याकेज ल्याउनु पर्छ । ऋण काडेर काडी किनेका व्यावसायीलाई ब्याज तिर्ने मुस्किल भइसक्यो । यस्तै स्थिति लम्बिए व्यावसायीले बैंकलाई गाडी बुझाउनुको विकल्प हुँदैन । र, मजदुर पनि पेसाबाट पलायन हुनेछन् ।

बेनी भुजेल

यातायात व्यवसायी, राष्ट्रिय यातायात समन्वय सेवा प्रालि

कोरोना माहामारीका कारण यातायात व्यवसायीलाई गम्भीर असर परेको छ । यो स्थिति अझै कायम रहे व्यवसायकै कारण घरबास नै डुब्ने डर भइसक्यो । अहिले साकिरा ग्रुपमा ४०–४२ वटा गाडी छन् । व्यवासयीले बैंकबाट ८० प्रतिशतसम्म ऋण लिएर यातायात संचालन गरेका छन् ।

बैंकले ऋणका लागि ताकेता नगरे पनि ब्याजलाई प्रिमियममा नै थप गरेकाले झन समस्या थपिएको छ । सरकारले अहिलेको महामारीको समयको ब्याज मिनाहा गरिदिए हुने थियो, तर गरेन ।

यातायात व्यवसाय दैनिक कमाउँदै ऋण तिर्दै जाने व्यवसाय हो । कमाइ नै नभएपछि कसरी ऋण तिर्नु ? यसमा आश्रित परिवार, व्यवसायी, मजदुर सबैको विचल्ली हुन लागिसक्यो ।

कतिपय चालक र सहचालकलाई गाँसबासकै समस्या हुन थालेको छ । ग्यारेज र घरमा राखिएका गाडीको इन्जिन बिग्रन थालिसकेको छ । अहिलेको मौसम क्षणभरमा नै पानी पर्ने र घाम लाग्ने भएकाले हामीले थन्क्याएका गाडीको इन्जिन जाम भएर खराब भइसकेका छन् ।

ती यातायातको मर्मतका लागि मात्र पनि दुईदेखि ३ लाखसम्म लाग्छ । यसैले सरकारले सार्वजानिक यातायात खोले हामीले सुरक्षाका मापदण्ड सबै अपनाउने थियौं । र, अहिले नै यातायात भरिभराउ भइहाल्ने पनि होइन । त्यसैले सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्न दिए व्यवसायी, मजदुर र सर्वसाधारणलाई राहत हुने थियो ।

ज्ञान श्रेष्ठ

चालक, साकिरा यातायातका

एक वर्षदेखि बेरोजगार भएको छु । न त कम्पनीले तलब दिन्छ न त राज्यका तर्फबाट कुनै साहयता नै छ । हाम्रो पेसा त काम गरेका दिन कमाएर खाने हो । काम नै नभएका बेला कसैले सोधपुछसम्म पनि गर्दारहेनछन् ।

घरमा परिवार, बालबच्चाको विजोग भइसक्यो । गाडी चलाउनबाहेक अरु काम जानेको पनि छैन । कुनै बेला ज्यानबाजी राखेर चलाइयो, अहिले अफ्ठेरोमा कसैले नहेर्दा पछुतो पनि लाग्छ । न कम्पनीले हेर्छ, न सरकारले ! कि गाडी चलाउन पाउनुपर्यो, कि हामीलाई वैकल्पिक व्यवस्था हुनुपर्यो ।

राम दाहाल

व्यवसायी, हिमाल यातायात प्रालि

निषेधाज्ञा भएको यति समय वितिसक्दा पनि सरकारले हाम्रा लागि कुनै राहत प्योकेज नल्याउनु दुखको कुरा हो । अहिले व्यावसायी निकै ठूलो संकटमा गुज्रिरहेका छन् । धेरैलाई बैंकको ऋणले नै बढी सताएको छ । मजदुरहरुको स्थिति पनि नाजुक छ । उनीहरु पेसाबाटै पलायन हुने खतरा बढ्दो छ ।

कमाउँदै ऋण तिर्नुपर्ने व्यावसायीलाई अहिले ठूलो मर्का परेको छ । सिजनमा मात्रै यात्रु पाइने समस्या झेलिरहेका व्यावसायी उठ्नै नसक्ने गरी थला पर्ने सम्भावना छ । अब चाहिँ गाडी चलाउन पाइएला कि भन्ठान्यो, फेरि कोरोनाको अर्को भेरियन्ट आएको हल्ला सुनिन्छ । यस्तै अवस्था रहीरहे सडकबाटै बैंकलाई गाडी बुझाउनुको विकल्प हुँदैन ।

भिम लामा

चालक, सप्तकोशी यातायात

आफूले जानेको काम र पेसा नै यातायात चालक हो । तत्काल अर्को पेसा अपनाउने अवस्था पनि छैन । यो बेलामा बेरोजगार भएर बस्नु परेको पीडा हामी चालकलाई नै थाहा छ । कमाएको पैसा सकिइसक्यो । अहिले न त कम्पनीले साहयता गरेको छ न सरकारले नै ।

कम्पनीलाई हामीले सहयोगका लागि भनेका छौं । तर अहिलेसम्म केही प्राप्त भएको छैन । निषेधाज्ञा बढ्दै जाने हो हाम्रो रोजीरोटी गुम्ने मात्र होइन, स्वास धान्ने मुस्किल होला जस्तो भइसक्यो । आन्तरिक उडानसम्म खुलिसकेपछि अब सार्वजनिक यातायात पनि चलाउन दिए हुन्थ्यो । हामी सबै स्वास्थ्य मापदण्ड पूरा गर्न तयार छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर