तीन वर्षमा बन्नुपर्ने पुल १० वर्षमा बन्यो – Nepal Press

तीन वर्षमा बन्नुपर्ने पुल १० वर्षमा बन्यो

जनकपुरधाम । सात वर्षअघि नै बनिसक्नुपर्ने सिरहा–धनुषा जोड्ने हुलाकी सडकमा कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

४७० मिटर लामो पुल निर्माणका लागि २०६८ जेठ ३१ मै पप्पु–लुम्बिनी जेभीले २४ करोड ६२ लाख ८३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तीन वर्षमा निर्माण गर्नुपर्ने पुलको काम ७ वर्षमा ३५ प्रतिशत सकिएको थियो ।

सरकारले व्यापक दबाब दिएपछि पप्पुले कामबाट हात झिक्यो । ०७६ असोज १ देखि लुम्बिनी बिल्डर्सले कामको पूर्ण जिम्मेवारी पायो ।

त्यसपछि पुल निर्माणले गति लियो । अहिले पुलको ९९ प्रतिशत काम सकिएको लुम्बीनी बिल्डर्सका इन्जिनियर सूर्यप्रकाश शर्माले बताए ।

उनका अनुसार ११ मिटर चौडाइको कमला नदीको पुल १२ एस्पानको छ । नदीमा अहिले दुवैतिर तटबन्ध निर्माण पनि गरिसकेको छ । ‘अहिले फिनिसिङको काम मात्र बाँकी छ’, इन्जिनियर शर्माले भने, ‘१५ दिनभित्रै काम पूरा हुन्छ ।’

हिउँदमा जसोतसो खोला वारपार गरे पनि बर्षायाममा पुल नहुँदा सडक अवरद्ध हुन्थ्यो । सडक अवरुद्ध भएपछि सिरहा र धनुषाका दर्जनौं गाउँका नागरिक प्रभावित हुन्थे ।

पुल सञ्चालनमा आएपछि सिरहा सदरमुकामबाट चारपाङ्ग्रे गाडीमा जनकपुरधाम पुग्न ३० मिनेट जति लाग्छ । अहिले पूर्वपश्चिम राजमार्ग घुमेर आउनुपर्दा करिब ३ घण्टा लाग्छ । पुल सञ्चालनमा आएपछि यस भेगको विकास पनि तीब्र गतिले हुने सिरहा सदरमुकामका संजय साह बताउँछन् ।

तटबन्ध मजबुत बनाउन पहल गर्छुः मन्त्री अरगरिया

दुई दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पुलको निरीक्षण गरे । उनले ढिलो गरेर भएपनि पुल निर्माण भएकोप्रति खुसी व्यक्त गरे ।

मन्त्री अरगरियाले पुल निर्माणको ठेक्का पाएका कम्पनीका इन्जिनियरलाई माला लगाएर धन्यावद दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर