इरानी राष्ट्रपतिमा कट्टरपन्थी रइसी निर्वाचित, इजरायलले भन्यो : विश्वकै लागि खतरा – Nepal Press

इरानी राष्ट्रपतिमा कट्टरपन्थी रइसी निर्वाचित, इजरायलले भन्यो : विश्वकै लागि खतरा

रुस र हमास विद्रोहीले गरे स्वागत

तेहरान । इरानको नयाँ राष्ट्रपतिमा पश्चिमा मुुलुकप्रति कट्टर आलोचक मानिएका इब्राहिम रइसी निर्वाचित भएका छन् । उनी इरानी धर्मगुरु आयोतल्ला अल खामेनी निकट मानिन्छन् ।

कट्टर विचारका पक्षपाति मानिने रइसी इरानी पूर्वन्यायाधीश समेत हुन् । उनलाई पश्चिमा मुलुकहरुले थुप्रै मानवअधिकार उल्लंघनका घटनामा जिम्मेवार मानेका छन् ।

४८.८ प्रतिशत मत खसेको निर्वाचनमा ६० वर्षिय रइसीले १८ मिलियन मत प्राप्त गरेका थिए । तर, उदार विचारका समर्थक इरानीले चुनावमा भाग लिन अस्वीकार गरेको जनाइएको छ ।

सन् १९७९ मा गणतन्त्र राज्य स्थापना भएपछि इरानमा खसेको यो अहिलेसम्मकै न्यून मत भएको सीएनएनले जनाएको छ । खामेनीलाई बढीभन्दा बढी नागरिकलाई मत खसाल्न आग्रह गरेपनि धेरै इरानीले मतदानमा रुचि देखाएनन् ।

कम मत खस्दा दुस्मनहरुको दबाब पनि बढी हुने खामेनीले बताएका थिए । इरानको आठौं राष्ट्रपतिको रुपमा रइसीले ४५ दिनपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।

नयाँ राष्ट्रपतिले कोभिड–१९ को कारण थिलोथिलो परेको अर्थतन्त्र उकास्ने चुनौति छ । सन् २०१५ मा अमेरिकासँग भएको आणविक सन्धिलाई पनि ब्युँताउनुपर्ने दबाब इरानमाथि छ ।

नयाँ इरानी राष्ट्रपति विश्वकै लागि खतरा : इजरायल

इजरायलले इरानको राष्ट्रपतिमा रइसी निर्वाचित भएको घटनालाई विश्वले गम्भिरताका साथ लिनुपर्ने बताएको छ । इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हैअतले रइसीलाई अहिलेसम्मकै कट्टर इरानी राष्ट्रपति भएको बताएका छन् ।

इजरायलले रइसीले आणविक गतिविधि बढाउन सक्ने भएकाले सजगता अपनाउनुपर्ने बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रइसीलाई बधाइ दिँदै परम्परागत रुपमा रहेको मैत्री र राम्रो छिमेकीको सम्बन्धलाई स्मरण गरेका छन् ।

प्यालेस्टिनी लडाकु समूह हमासका प्रवक्ताले इरानको प्रगति र समृद्धिको कामना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर