बलात्कृतको इज्जत जाने, बलात्कारीको जोगिने ? – Nepal Press
ब्लग

बलात्कृतको इज्जत जाने, बलात्कारीको जोगिने ?

आँखा खुल्नेबित्तिकै सिरानीमुनिबाट मोबाइल झिकेर हेरें । ट्वीटर खोलें । स्क्रोल गर्दै जाँदा एउटा न्यूजको लिंकमा पुगेर आँखा अडिए । न्यूजको हेडलाइन थियो– बढ्दै बलात्कार, बालिकादेखि वृद्धासम्म पीडित !

समाचारमा बलात्कारका विभिन्न घटनाहरुलाई उल्लेख गरिएको रहेछ । राजधानीको तीनकुनेमा सात वर्षीया बालिका बलात्कृत भएकोदेखि डोटीमा ७४ वर्षीया वृद्धा बलात्कार भएकोसम्म ।

समाचार पढ्दा आँखा रसायो, औंला काप्यो । अनि एकैछिनमा आक्रोश भाव पैदा भयो । जिउ नै काप्न थाल्यो । मनमा अनेक प्रश्न उठ्यो– मान्छे किन यति निर्मम हुँदैछ ? केले मान्छेलाई यति निकृष्ट बनाउँदैछ ?

अलि शान्त भएपछि राजेन्द्र थापाले उपन्यासमा लेखेको एक अंशको याद आयो । उनले लेखेका छन्– पुरुषको गिदीमै योनि हुन्छ । समाचारहरु पढ्दा त्यस्तै लाग्छ, ‘साँच्चै पुरुषहरु गिदीमा योनि बोकेर हिँड्छन् कि क्यो हो !’

अनि सँगैसँगै मलाई मेरा बुवाको याद आयो । अनि लाग्यो, मेरो बुवा त त्यस्तो हुनुहुन्थेन । त्यसपछि लाग्यो, सबै पुरुषहरु उस्तै हुँदैनन्, सबै पुरुषहरु बलात्कारी हुँदैनन् ।

भनेपछि एउटा पुरुषलाई के कुराले बलात्कारी बनाउँछ ? कसरी अन्त्य हुन्छ बलात्कार ? बलात्कार बढ्नुमा पुरुmष मात्रै दोषी छन् कि महिला पनि ? वा, हाम्रो समाज नै त्यस्तै छ ?

कतिपयले बलात्कारीलाई फाँसीको सजायँ दिनु पर्छ अनि बलात्कार कम हुन्छ भन्ने तर्क गर्छन् । कोही कोही ‘रेड लाइट’ एरिया नभएका कारण बलात्कार बढेको कुरा गर्छन् । के खासमा कारवाही नभएर वा रेड लाइट एरिया नभएरै बलाकार बढेको हो त ?

रेड लाइट एरिया नभएर बलात्कार बढेको हो भने घरमा श्रीमती भएको पुरुषले किन बलात्कार गर्छ ? कारवाहीको डरले मात्रै बलात्कार नहुने भन्ने कुरामा पनि खास दम छैन । कतिपयले महिलाले छोटा कपडा लगाएकाका कारण बालात्कार बढेको भन्ने गरेका छन् । के ती बालिका र वृद्ध महिलाले पनि छोटा कपडा लगाएकै कारण बलात्कार भएको हो त ?
खासमा बलात्कारलाई मनस्थितिले निर्माण गर्छ । र, बलात्कार गर्ने मनस्थिति चाहिँ के कुराले निर्माण गर्छ ? एउटा पुरुषलाई बलात्कारी बनाउने हाम्रो समाज, सँस्कृति र परम्परा हो । यौन र नारीलाई हेर्ने र बुझ्ने नजर हो ।

परम्परादेखि नै महिलालाई यौन साधनका रुपमा बुझियो । त्यसको असरस्वरुप जुनसुकै उमेर, पद र व्यक्तित्वका पुरुष बलात्कारी भइरहेका छन् ।

तथ्यांकअनुसार पछिल्लो समय औसत दैनिक ६ वटा बलात्कारका घटना भइरहेका छन् । तीमध्ये अधिकांश असमान उमेरका पुरुषले बलात्कार गरेका छन् ।

यससँगै एउटा प्रश्न उठेको छ । जब बलात्कारको घटना हुन्छ तब, महिलाको इज्जत र अस्मितामाथि प्रश्न उठाइन्छ । जो पीडित छ, उसैको इज्जत गएको भनिन्छ । जो पुरुष बलात्कारी छ, उसको इज्जत नजाने, जो बलात्कृत हुन्छ उसको इज्जत जाने भन्ने गरी हाम्रो सामाजिक धारणा निर्माण भएको छ । जुन एकदमै गलत हो ।

खासमा यौनलाई नै इज्जतसँग जोड्नु वा जोड्न खोज्नु गलत हो । किनकि, यौन शारीरिक कुरा हो, जैविक कुरा हो ।
बलात्कारका मामलामा महिलाको कमजोरी नै छैन भन्ने होइन । पहिला सहमतिमा शारीरिक सम्पर्क राखेर पछि बलात्कारको आरोप लगाउने पनि छन् ।

महिलामै गडेको पुरुषसत्तावादी सोच पनि बलात्कारको एउटा कारण हुन सक्छ । आफूलाई कमजोर र पुरुषबाट भोगिनुपर्ने अर्थमा बुझिदिनले पनि बलात्कार बढिरहेको छ । त्यसकै परिणामस्वरुप बलात्कृत हुनपरेको घटनालाई पनि महिलाले लुकाएका छन् ।

हो,  हाम्रो समाज व्यवस्थामा पुरुषसत्ता हाबी छ । धर्मका नाममा पुरुषले सधैं महिलामाथि राज गर्ने नीति बनाइएको छ । संस्कार या परम्पराको हवला दिएर श्रम, पारिश्रमिक, लवाइखवाइदेखि सम्पूर्ण जीवनशैली नै पुरुषभक्त हुनुपर्ने गरी नियम बनाइएको छ ।

पुरुषले बनाएको नियम मान्न महिलालाई बाध्य बनाइएको छ । नमाने अश्लील, चरित्रहीनको संज्ञा दिइन्छ । तर, बलात्कार बढ्नुको यीमात्रै कारण होइनन् ।

हाम्रो समाजले यौनलाई जबरजस्त अतिरहस्यमयी बनाउन खोजेको छ । जहाँ बढी रहस्य हुन्छ, त्यसलाई खोतल्ने प्रयास धेरै हुन्छ । यो मानवीय स्वभाव हो । यसले पनि बलात्कार बढाउन सहयोग गरेको छ ।

यौन स्वभाविक जैविक प्रक्रिया हुँदाहुँदै पनि चरित्र र अनुशासनसँग जोडिने विषय बनाइएको छ । विवाहलाई यौनसम्पर्क गर्ने अनुमतिका रूपमा लिन बाध्य बनाइएको छ ।

भनिन्छ, ‘ताल्चा चोरका लागि होइन, सज्जनका लागि हो ।’ हो पनि, चोरलाई चोर्नका लागि एउटा स्यानो ताल्चा बाधक हुँदैन । मुख्य कुरा उसलाई चोर्नपर्ने परिस्थितिको निर्माण कसले गरिदियो ?

जनावरमध्येको एक हो, मान्छे । तर, मान्छेबाहेक अरु जातिका जनावरले बलात्कार गर्दैनन् होला । कुनै–कुनै जनावरमा बलात्कार हुन पनि सक्ला ! तर हामीले बढी हिमचिम गरेका जनावरले बलात्कार गरेको देखेको छैन । जैविक आवश्यकताका आधारमा जनावरले सहमतिमै यौनसम्पर्क गर्छन् ।

तर मान्छेले बलात्कार गर्छ । किनकि, मान्छेलाई आफू सर्वश्रेष्ठ प्राणी भएको भ्रम छ । त्यही भ्रमका आधारमा अनेक नियम बनाएको छ । नियमभित्र आफूलाई, आफ्नो चाहनालाई, मनलाई, विवेकलाई कैद गरेको छ । सीमित कुराभित्र राख्न खोज्दा मान्छेले धेरै कुरा बाहिर राखेको छ । आफूले बनाएको दायरा भन्दा बाहिरको कुरालाई मान्छेले स्वीकार्नै सक्दैन । त्यही स्वीकार्न नसकेको, तर गुम्सिएको भावना तथा चाहनाको उपज हो, बलात्कार ।

विवाहपूर्वको यौन वा विवाहइतर दम्पतीबाहेकको यौनलाई अपराध मानेकै कारण पनि बलात्कार जस्तो जघन्य अपराध भइरहेको छ ।

चेतनशील एवम् विवेकशीलको नाममा मान्छे प्रकृतिविरुद्ध जान्छ । संसारमा मान्छेभन्दा प्रकृतिविरोधी अरु जनावर पनि छैन होला । प्राकृतिक चाहनालाई नियमको जन्जीरले बाँधेर मान्छे आफैं दुःखी छ, पीडित छ । त्यही दुःख र पीडाको परिणाम पनि हो, बलात्कार ।

संसारमा सदुपयोग गर्ने हो भने केही पनि नराम्रो चिज छैन, दुरुपयोग गर्ने हो भने केही पनि राम्रो चिज छैन । त्यसैले यौनलाई शारीरिक आवश्यकता, जैविक तथा प्रजनन प्रक्रियासित मात्रै जोडेर हेर्ने हो भने बलात्कारमुक्त समाज निर्माण गर्न सम्भव छ ।


प्रतिक्रिया

2 thoughts on “बलात्कृतको इज्जत जाने, बलात्कारीको जोगिने ?

  1. हाम्रो नेपाली समाजले यस्तो भ्रम पैदा गरेको छ जहाँ हजार गल्ती गर्ने पुरूष सधैँ महान तर एक गल्ती गर्ने महिला सधैँ त्यही एक गल्तीले अपहेलित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *