पहिलो हाफमा पोर्चुगल र हंगेरीको गोलरहित बराबरी – Nepal Press

पहिलो हाफमा पोर्चुगल र हंगेरीको गोलरहित बराबरी

काठमाडौं । युरो २०२० को समूह ‘एफ’को पहिलो खेलमा साविक विजेता पोर्चुगल र हंगेरीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । हंगेरीको बुडापेस्टमा ६७ हजार समर्थकको अगाडि भएको खेलमा पोर्चुगलले घरेलु टोलीमाथि निरन्तर दबाब दिए पनि गोल गर्न सकेन ।

हंगेरीको रक्षापंक्तिमाथि सुरुआत देखि आक्रमण गरेको पोर्चुगलले गोलका लागि अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा बराबरीमै रोकिनु पर्‍यो ।

पोर्चुगलका लागि खेलको पाँचौं मिनेटमा डिएगो जोटाले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा हंगेरीयन गोलकिपर गुलाक्सी बाधक बनेका थिए ।

कप्तान क्रिस्टियानो रोनाल्डोले १९ मिनेटमा पेपेको लामो पासमा ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार पनि सोझै गोलकिपरको हातमा गएको थियो । यद्यपि, उक्त मौकामा रोनाल्डो अफसाइड भएका थिए ।

बर्नार्डो सिल्भाको क्रसमा रोनाल्डोले ३०औं मिनेटमा हेडरमार्फत गरेको प्रहार टार्गेटमा परेन ।

खेलमा विरलै मात्र पोर्चुगलमाथि आक्रमणको अवसर सिर्जना गरेको हंगेरीका लागि आडम सजलाइले हेडरमार्फत ३७औं मिनेटमा गरेको प्रहार पोर्चुगिज गोलकिपर रुइ पेट्रिसियोले बचाएका थिए ।

जर्मनी र फ्रान्ससमेत यसै समूहमा रहेकाले पोर्चुगललाई आजको खेलमा जित आवश्यक छ । यस्तै रोनाल्डोले बाँकी ४५ मिनेटमा गोल गर्न सफल भए उनी प्रतियोगिताकै सर्वकालिन सर्वाधिक गोलकर्ता बन्नेछन् । अहिले यो कीर्तिमान रोनाल्डो र पूर्व फ्रेन्च लिजेन्ड माइकल प्लाटिनीको नाममा छ ।

दुवै खेलाडी समान ९ गोल गरेका छन् । आजको खेलमा पोर्चुगलको नेतृत्व गरिररहेका रोनाल्डो युरोको पाँच संस्करण खेल्ने पहिलो खेलाडी बनिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर