युरो २०२०: इटालीको फाइनल यात्राको एक झलक ! – Nepal Press

युरो २०२०: इटालीको फाइनल यात्राको एक झलक !

काठमाडौं । युरो २०१२ पछि इटाली युरोपियन च्याम्पियनमा पहिलो पटक बलियो बनेर फर्किएको छ । २०१२ युरोको फाइनलसम्म पुगेर त्यसयताका ठूला प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गर्न नसकेको इटाली २०१८ विश्वकपमा त छनोट नै हुन सकेन ।

रोबर्टो मान्सिनी इटाली उर्फ ‘अज्जुरी’को प्रशिक्षकमा नियुक्त भएसँगै विजयी यात्रा सुरु गरेको इटाली ३३ खेलमा अपराजित छ । उत्कृष्ट लयको इटाली जारी युरो २०२० को सबैभन्दा ‘डोमिनेन्ट’ टोली हो र सशक्त प्रदर्शनको प्रतिफल फाइनल यात्राले इटालीलाई दिइसकेको छ । तर, यति फाइनलमा मात्रै पुग्नु इटालीले चाहेको प्रतिफल पक्कै होइन ।

विश्वकप २००६ जितेयता ठूला उपाधिविहीन इटाली आइतबार राति वेम्ब्ली स्टेडियममा इङ्ल्यान्डलाई पराजित गर्दै युरो जित्ने लक्ष्यमा छ ।

इटाली जारी युरोको सर्वाधिक गोलकर्ता टोली हो । त्यस्तै, प्रतियोगितामा इटालीको रक्षापंक्ति पनि ‘रक सोलिड’ देखिएको छ ।

फाइनल यात्रा

इटालीले जारी प्रतियोगिताका ६ खेलमा १२ गोल गरिसकेको छ भने तीन गोल मात्रै खाएको छ । टर्कीविरुद्ध ३–० को जितसँगै प्रतियोगिताको सुरुआत गरेको इटालीले युरो २०२० मा फाइनल यात्रा तय गरिसकेको छ । टकीविरुद्धको खेलमा सिरो इम्मोबिले र लोरेन्जो इन्सिग्नेले एक÷एक गोल गर्दा एक आत्मघाति गोल भएको थियो ।

प्रतियोगिताको क्वार्टरफाइनलसम्म पुगेको स्वीट्जरल्यान्डसँग समूह चरणमा भिडेको इटालीले सोही ३–० को नजिता दोहोर्‍याएको थियो । इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० को नजितामा पराजित गरेसँगै समूह एबाट सतप्रतिशत नतिजा र क्लिनसिटसहित अन्तिम १६ मा स्थान बनाएको थियो ।

समूह चरणमा इटालीले गरेको सात गोल पनि युरो २०२० मा कुने एक टोलीले नकआउटअघि गरेको सर्वाधिक गोल संख्या हो । यद्यपि, इटालीको वास्तविक उत्साह त नकआउटपछि सुरु भएको थियो । अन्तिम–१६ अन्तर्गत अस्ट्रियाविरुद्धको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएको थियो । तर, अतिरिक्त समयमा थप एक निर्णायक गोल गर्दै इटालीले क्वार्टरफाइनल यात्रा तय गर्‍यो । मान्सिनीले निर्धारित ९० मिनेटको अन्त्यमा गरेका सब्स्टिच्युसनले अस्ट्रियाविरुद्धको खेलमा राम्रो ‘पे–अफ’ गरे ।

फेडेरिको किएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । अतिरिक्त समयमा माटेओ पेसिनाले अग्रता दोब्बर पारेँसँगै इटालीको जित सुनिश्चित भएको थियो । अस्ट्रियाले अज्जुरीविरुद्ध प्रतियोगिताको पहिलो गोलसमेत गरेको थियो ।

सुरुआती चार खेलमा एक गोल मात्र खाएको इटालीले क्वार्टरफाइनलमा विश्व बरियताको शीर्ष स्थानको बेल्जियमविरुद्ध पहिलो हाफमा दुई गोल ठोकेको थियो । दोस्रो हाफको सुरुआती क्षणमै बेल्जियमले एक गोल फर्काएपछि इटाली समय कटाउनका लागि पछाडि बसेर खेल्न बाध्य बनेको थियो । बेल्जियमविरुद्धको जितसँगै सेमिफाइनलमा पुगेको इटालीसामु २०१२ युरोको फाइनल खेलेको स्पेनको चुनौती थियो ।

लगातार चौथो पटक युरोपियन च्याम्पियनसिपमा भेट भएको स्पेन इटालीविरुद्ध बल पोसेसन र अट्याकमा हाबी देखिए पनि सुरुआती अग्रता इटालीले काउन्टर अट्याकमा गोल गर्दै लिएको थियो । तर, निर्धारित समयको खेल सकिन १० मिनेट बाँकी रहँदा स्पेनले गरेको बराबरी गोलसँगै खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

गोलकिपर यानलुइजी डोनुरुम्माले गरेको दुई महत्त्वपूर्ण बचाउसँगै पेनाल्टी सुटआउटमा ४–२ गोलको नतिजामा जित निकाल्दै इटाली ९ वर्षपछि युरोको फाइनलमा पुग्यो ।

कसरी राम्रो टोली बन्यो ?

इटालीको प्रदर्शनको आधार बलियो रक्षापंक्ति देखिन्छ । र, त्यसैमा आधारित भएर आवश्यक पर्दा रक्षात्मक शैलीलाई अट्याकिङमा ढाल्न सक्नु इटालीको सशक्त पक्ष देखिन्छ । इटालीको रक्षापंक्तिमा अनुभवी डिफेन्डरहरू– लियोनार्दो बोनुची र जर्जियो केलेनी रक्षापंक्तिमा ‘रक सोलिड’ देखिएका छन् ।

अज्जुरीको मिडफिल्ड स्पेनविरुद्ध निरिह देखिएको थियो । तर, अझै सुधार्ने स्थान भने पर्याप्त देखिन्थ्यो । अगाडि सिरो इम्मोबिलेले बनाएका मुभसँगै इटालीले सशक्त आक्रामक मुभ बनाइरहेको छ ।

यद्यपि, इटालियन टोली कुनै एक खेलाडीमा मात्र निर्भर रहेर खेल्दैन । चाहे रक्षात्मक होस् वा आक्रामक: दुवै पक्षमाा सबै खेलाडी एकजुट भएर लागेको देखिन्छ । टोलीमा कोही पनि ठूला स्टार खेलाडी नहुनुले इटालीलाई थप संगठित टोली बन्न मद्दत गरेको छ ।

यद्यपि, जारी प्रतियोगितामै केही खेलाडीले आफूलाई युरोपेली फुटबलमा प्रभावशाली सावित गरेका छन् । किएसा, बरेला, स्पिनाजोला र लोकाटेली कुनै स्टार खेलाडीभन्दा कम छैनन् । उनीहरूको तुलनामा स्थापित नामहरू– भेराटी, जर्जिन्हो र इन्सिग्ने बराबरको प्रदर्शन दिइरहेका छन् ।

प्रतियोगिताको सुरु हुनुअघि अलेसान्ड्रो फ्लोरेन्जीलाई गुमाएको इटालीका सेमिफाइनलअघि स्पिनाजोला पनि चोटका कारण बाहिरिए । त्यसो त इटालियन टोली एक खेलाडीमा निर्भर नरहेकाले एक खेलाडीको अनुपस्थिति त्यति घातक हुन सकेको छैन । त्यसको कारण मान्सिनीले टोलीमा विकास गरेको एक सांगठिक टोलीको अवधारणा र विजयी भावना हो ।

थप एक पटक

इटालीका लागि फाइनल पुग्नु एकदमै सहज र एकदमै कठिन दुवै मान्न सकिन्छ । तर, अज्जुरीले युरो २०२० मा खेलेका ६ खेलबाट यो टोली जुनसुकै परिस्थितिबाट गुज्रिए पनि जित निकाल्न अब्बल रहेको पुष्टि गरिसकेको छ । प्रतियोगिताका ६ खेलमध्ये कुनैमा पनि पेनाल्टीसम्म नपुगेको इङ्ल्यान्डको चुनौती इटालीका लागि सहज पक्कै नहुने निश्चित छ । त्यसमाथि हालसम्म डिफेन्समा रक सोलिड इङ्ल्यान्डले प्रतियोगितामा एक गोल मात्रै आएको छ ।

अब इटालीसामु विश्व फुटबलमा अज्जुरीको पुनरागमन भयो भन्ने सन्देश दिन एक खेल बाँकी छ । पछिल्ला समयहरूमा खराब समयबाट गुजिएको इटाली २०१४ विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो । युरो २०१६ को क्वार्टरफाइनलमा जर्मनीसँगग पराजित भएको इटाली २०१८ विश्वकपमा छनोट नै हुन सकेन ।

तर, २०१२ पछि इटाली फेरि युरोपेली फुटबललाई माध्यम बनाएर विश्व फुटबलको एक पावरहाउस बनेर फर्किएको छ । र, युरो फाइनलमा आइतबार राति १२: ४५ बजे हुने खेलमा इटालीले बाजी मारे कसैले पनि उनीहरू हकदार थिएनन् भन्न सक्दैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर