रोनाल्डोले जित्छन् युरो २०२० को गोल्डेन बुट ? गोल बराबरी भए के हुन्छ ? – Nepal Press

रोनाल्डोले जित्छन् युरो २०२० को गोल्डेन बुट ? गोल बराबरी भए के हुन्छ ?

काठमाडौं । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले जारी युरो २०२० गरेका पाँच गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता अलि दाईसँगको कीर्तिमान बराबरी गरे ।

युरो २०१६ जितेपछि व्यावसायिक फुटबलका सफल खेलाडी रोनाल्डोको अन्तर्राष्ट्रिय खेल जीवन पनि सन्तोषजनक नै छ । साविक विजेता पोर्चुगल जारी युरोको अन्तिम-१६ मा बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । यो सिजन पोर्चुगल खाली हात प्रतियोगिताबाट बाहिरिए पनि कप्तान रोनाल्डोले भने व्यक्तिगत उपाधि हासिल गर्ने सम्भावना प्रवल छ ।

के रोनाल्डोले गोल्डेन बुट जित्छन् ?

रोनाल्डो गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन् । र, इटाली तथा इङ्ल्यान्डको फाइनल मात्र बाँकी रहँदा दुवै टोलीका खेलाडीले रोनाल्डोलाई उछिन्ने सम्भावना कम छ । चार खेल खेलेर बाहिरिएको पोर्चुगलका लागि रोनाल्डोले पाँच गोल ठोकिसकेका थिए ।

रोनाल्डोको पाँच गोलको आँकडा चेक रिपब्लिकका प्याट्रिक शिकले पनि बराबरी गरेका छन् । तर, रोनाल्डोको नाममा एक असिस्ट पनि जसले गर्दा गोल्डेन बुटको दौडमा रोनाल्डो नै अगाडि छन् ।

रोनाल्डोलाई पछ्याइरहेका अर्का फरवार्ड हुन्, इङ्लिस कप्तान ह्यारी केन । उनले पनि चार गोल गरिसकेका छन् र फाइनलमा त्यो संख्या अझै बढाउने सम्भावना छ ।

केनले रोनाल्डोलाई उछिन्नका लागि दुई गोल वा एक गोल र एक असिस्ट गर्नुपर्नेछ ।

यस्तै, तीन गोल गरेका अर्का इङ्लिस फरवार्ड राहिम स्टर्लिङ पनि यो सूचीमा धेरै पछाडी छैनन् । तर, अब बाँकी एउटा मात्र खेलमा उनलाई कम्तिमा पनि ह्याट्रिक तथा दुई गोल र एक असिस्ट आवश्यक छ ।

सिरो इम्मोबिले र लोरेन्जो इन्सिग्नेसँगै इटालीका भने धेरै खेलाडीले दुई/दुई गोल गरेका छन् । इटालियन खेलाडीहरूलाई एकै खेलमा ह्याट्रिकले पनि नपुग्ने भएकाले फाइनलमा उनीहरूले रोनाल्डोलाई पछाडि पार्ने सम्भावना एकदमै कम छ ।

बराबरी हुँदा नियम के छ ?

युरोपियन च्याम्पियनसिपको सामान्य नियम भनेको सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट जित्छ । यदि दुई वा त्यो भन्दा धेरै खेलाडीले बराबरी संख्यामा गोल गरे भने सर्वाधिक असिस्टको गणना हुन्छ ।

गोल र असिस्ट पनि बराबरी भयो भने कुन खेलाडीले थोरै समय खेलेको कुरा महत्त्वपूर्ण हुन्छ ।

जारी युरोमा रोनाल्डोले ३६० मिनेट मात्रै खेलेका छन् । त्यसैले केन र स्टर्लिङको तुलनामा थोरै समय खेलेकाले उनको सम्भावना प्रवल छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर