युरो २०२० फाइनल: इटालीविरुद्ध १९६६ विश्वकपको इतिहास दोहोर्‍याउला इङ्ल्यान्डले ? – Nepal Press

युरो २०२० फाइनल: इटालीविरुद्ध १९६६ विश्वकपको इतिहास दोहोर्‍याउला इङ्ल्यान्डले ?

काठमाडौं । पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा पुगेको इङ्ल्यान्ड आइतबार राति वेम्ब्लीमा इटालीलाई पराजित गर्दै इतिहास रच्ने दाउमा छ । सन् १९६६ मा घरेलु मैदानमा विश्वकप उपाधि उचालेको इङ्ल्यान्ड युरो २०२० मा पनि त्यही सफलता दोहोर्‍याउन चाहन्छ ।

यस्तै, २००० र २०१२ को फाइनलमा पुगेर पनि उपविजेतामा मात्रै सीमित भएको इटाली लगातार तेस्रो पटक फाइनलमा पराजित हुन चाहँदैन ।

समूह चरणमा सतप्रतिशत नतिजा निकालेको इटालीले अन्तिम-१६ मा अस्ट्रियालाई पराजित गरेको थियो । त्यस्तै, क्वार्टरफाइनलमा विश्व बरियताको शीर्ष स्थानको बेल्जियमलाई पन्छाएको इटालीले सेमिफाइनलमा २०१२ मा ४-० ले पराजित हुँदाको प्रतिद्वन्दी स्पेनलाई हरायो ।

लगातार ३३ खेलमा अपराजित रहेको इटाली प्रतियोगिताको ‘डोमिनेन्ट’ टोली हो । अनुभवी र युवा खेलाडीको उत्कृष्ट तालमेल देखिएको इटाली टीम गेम खेल्दै फाइनलसम्म आइपुगेको हो । त्यस्तै, समूह चरणमा दुई जित र एक बराबरीसहित अन्तिम १६ मा आइपुगेको इङ्ल्यान्डले अन्तिम-१६ मा जर्मनीलाई पराजित गरेको थियो । क्वार्टरफाइनलमा युक्रेनलाई हराएको इङ्ल्यान्डले सेमिफाइनलमा डेनमार्कविरुद्ध पुनरागमन जित निकालेको थियो ।

जारी प्रतियोगिताका ६ खेलमा १ गोल मात्रै खाएको इङ्लिस टोली फाइनलमा पनि क्लिनसिट राख्न चाहन्छ । अर्कातिर, समान ६ खेलमा १२ गोल ठोकिसकेको इटाली पनि घरेलु मैदानमा इङ्ल्यान्डलाई पराजित गर्दै १९६८ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिप जित्ने दाउमा छ ।

विश्व फुटबलमा प्रसिद्ध वेम्ब्ली स्टेडियममा यी टोली नेपाली समयअनुसार आइतबार राति १२:४५ बजे आमनेसामने हुनेछन् ।

केही रोचक तथ्यहरू:

– यो इटालीको १०औं ठूलो प्रतियोगिता हो । युरोपेली मुलुकमा जर्मनीले मात्र इटालीभन्दा धेरै (१४) पटक ठूला प्रतियोगिता खेलेको छ । १९६८ मा च्याम्पियन बनेको इटालीले त्यसयता खेलेका दुई फाइनल २००० र २०१२ मा पराजय भोगेको छ ।

– १९६६ विश्वकपको च्याम्पियन इङ्ल्यान्डको त्यस यताकै पहिलो फाइनल यात्रा हो । अझै युरोपियन च्याम्पियनसिपमा भने इङ्ल्यान्डका लागि यो पहिलो अनुभव हुनेछ । यो कुनै पनि देशका लागि विश्वकप र युरोको फाइनलबीचको सबैभन्दा ठूलो (५५ वर्षको) ग्याप हो ।

– इङ्ल्यान्ड युरोपियन च्याम्पियनसिपको फाइनल खेल्ने १३औं टोली हो । यसअघिका १२ मध्ये तीन टोलीले मात्रै पहिलो फाइनल हारेका छन् । सन् १९६० मा युगोस्लाभिया, १९८० मा बेल्जियम र २००४ मा पोर्चुगल पहिलो पटक फाइनल पुगेर हारेका थिए ।

– इटाली युरोपियन च्याम्पियनसिमा दुई पटक उपविजेतामा सीमित भएको छ । २००० युरोको फाइनलमा फ्रान्स र २०१२ फाइनलमा स्पनेसँग इटाली पराजित भएको थियो । जर्मनी र युएसएसआर मात्रै ३ पटक फाइनल हारेका छन् ।

– इङ्ल्यान्डले १९६६ मा विश्कप जित्दा वेम्ब्लीमै फाइनल खेलेको थियो । र जर्मनीलाई ४-२ गोलको नतिजामा पराजित गरेको थियो ।

– पछिल्ला दुई आयोजक देशले आफ्नै देशमा भएका फाइनल हारेका छन् । सन् २००४ मा पोर्चुगल र २०१६ मा फ्रान्स घरेलु मैदानमा फाइनलमा पुगेर पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर