महाकाली सन्धीका कारण प्रत्येक वर्ष डुवानमा पर्छन् नागरिक, छैन पूर्व तयारी – Nepal Press

महाकाली सन्धीका कारण प्रत्येक वर्ष डुवानमा पर्छन् नागरिक, छैन पूर्व तयारी

कैलाली । कञ्चनपुर भीमदत्त नगरपालिका १३ का रामबहादुर बोहोरा महाकाली नदी किनार नजिकै व्यापार गरी बस्छन् । तर, उनी राति अबेरसम्म पसलमा बस्न सक्दैनन् । अहिले कोरोना संक्रमण भन्दा बढी उनलाई महाकालीको त्रास छ । उनले २०७० सालमा आएको बाढीको त्रास भुलेका छैनन् । फेरि त्यस्तै नियती दोहोरिने हो कि भन्ने चिन्तामा छन् ।

‘त्यो बेला पसलको पुरै सामान बगायो । मान्छे कसरी जोगिने भन्ने भयो,’ ८ बर्ष पहिलेको पीडा सम्झँदै उनले भने ‘फेरि त्यो दिन सम्झन चाहन्न ।’ बोहोरोमात्र होइन भीमदत्त नगरपालिकाका ३ वडाका हजारौं नागरिक हरेक वर्ष मनसुन सुरु भएपछि त्रासमै बाँच्न बाध्य छन् ।

‘ठुलो पानी परेपछि राति निद्रा लाग्दैन,’ डुबान क्षेत्रका स्थानीय पदमनाथ भन्छन्, ‘७० सालको जस्तो बाढी आयो भने त खै के बाँचिएला र १’

२०७० सालमा विना सूचना भारतको उत्तराखण्डस्थित पिथौरागढमा रहेको धौलीगंगाको बाँध खोलिएपछि महाकाली नदीमा बाढी आउँदा दार्चुला सदरमुकामका सयौँ घरबार तथा दर्जन सरकारी कार्यालय बगाउँदा अर्बौंको क्षति पुगेको थियो । उता महाकालीमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका सयौं परिवार विस्थापित भए ।

‘त्यो बेला जस्तो बाढी त अहिलेसम्म कहिल्यै आएको छैन’ स्थानीय सुरेन्द्र बोहोराले भने ‘हामीलाई त्यही चिन्ताले निद्रा लाग्दैन ।’ उनले तटबन्ध बलियो नबन्दा बाढीले बितन्डा मच्चाएको बताए ।

‘०७० को बाढी पनि यही ठाउँबाट बस्तीमा पसेको हो,’ उनले भँगालो देखाउँदै भने, ‘त्यति बेला खेतमा भरिएका बालुवा अझै हटाउन सकेको छैन ।’

भीमदत्त नगरपालिका वडा नम्बर १३ का अध्यक्ष लाल बहादुर शाहीले विगतको जस्तो अवस्था आए त्यो भन्दा धेरै क्षति पुग्ने बताए । ‘८ वर्ष पहिलेको जस्तो बाढी आयो भन्दा त्यो भन्दा धेरै ठूलो धन जनको क्षति हुन्छ,’ उनले अनुमान गरे ‘अहिले धेरै ठाउँमा तटबन्ध गरिएको छ । त्यस्तो नहोला कि ?’

उनले भीमदत्त नगरपालिका वडा नम्बर ११, १२ र १३ पूरै वडा डुबान क्षेत्र रहेको बताए । भिमदत्त नगरपालिकाका ३ वडा डुबान क्षेत्रमा पर्छ भने महाकाली नगरपालिका सबै वडा डुबान क्षेत्रमा पर्छन् ।

त्यसैमाथि खैराडीमा करिब १८ मिटर तटबन्ध भत्किएपछि स्थानीय थप त्रसित भएका छन् ।

तीन तहका निर्वाचनमा यहाँका स्थानीयको पहिलो मुद्दा नै महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण गर्ने थियो । उम्मेदवारहरूले पनि यसैलाई आफ्नो घोषणापत्र र चुनावी प्रचारको मुख्य एजेन्डा बनाएका थिए । तर उनीहरूले चासो नदिएकै कारण समस्या उस्तै रहेको स्थानीयको आरोप छ ।

वडा नम्बर १ का अध्यक्ष अर्जुनदत्त भट्ट पनि प्रदेश र संघीय सरकारले चासो नदिएको आरोप लगाउँछन् । ‘हामी सबै भन्दा जोखिम क्षेत्रमा छौँ । यस बर्ष गतिलो तटबन्ध गरिएको छैन,’ उनले भने ‘सबै डराएका छन् ।’ अहिले सुदूरपश्चिमका तराईका २ जिल्लामा बाढी र पहाडका ७ जिल्लामा पहिरोको जोखिम बढेको छ ।

फाइल तस्बिर ।

सन्धीबाटै समस्या

२९ माघ २०५२ मा भएको महाकाली सन्धीअनुसार नेपालले टनकपुर र शारदा ब्यारेजबाट सिँचाइका लागि हिउँदमा ८०० र बर्र्खायाममा दुई हजार तीन सय ५० क्युसेक पानी पाउनुपर्ने हो । तर, अहिले शारदा ब्यारेजबाट मुस्किलले हिउँदमा १५० र वर्षायाममा ६५० क्युसेक पानी मात्र पाइरहेको छ ।

टनकपुर ब्यारेजबाट पानी ल्याउन नेपाल र भारत दुवैले नहरको संरचना नै बनाएका छैनन् । जसले गर्दा सन्धी भएको झन्डै २६ वर्ष पुग्न लाग्दा पनि नेपालले सम्झौताअनुसार पानी पाउन सकेको छैन । उल्टै वर्षायाममा करोडौं जनधनको क्षति हुने गरेको छ ।

हिउँदमा वनबासा पुलका सबै ढोका बन्द गरेर शारदा ब्यारेजबाट पूरै पानी लैजाँदा महाकाली नदी सुक्खा हुन्छ । वर्षायाममा भने सबै ढोका खोलिदिन्छ । जसले गर्दा महाकाली नदीले कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडा नम्बर ११, १२ र १३ तथा महाकाली नगरपालिका वडा नम्बर ९ र १० का बस्तीहरू डुबानमा पर्छन् ।

‘हिउँदमा पुरै पानी लैजान्छन्,’ महाकाली नगरपालिका–१ का अध्यक्ष अर्जुनदत्त भट्टले भने ‘वर्षामा धेरै पानी आउँदा महाकालीका ढोका खेल्दिन्छन् । हामी डुब्छौं ।’

छैन पूर्व तयारी

सुदूरपश्चिमका नदीमा पानीको बहाव बढ्नसक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

महाशाखा अन्तर्गतको नेपाल बाढी सूचनाले सुदूरपश्चिम प्रदेशको पहाडी तथा मध्य पहाडी भूभाग भएर बहने केही स–साना सहायक नदीहरूमा क्षणिक मध्यम वर्षा भई बहाव बढ्न सक्ने बताएको छ ।

साथै केही साना नदीमा आकस्मिक बहाव पनि हुनसक्ने पूर्वानुमान रहेकोले स्थानका स–साना नदी जलाधारमा सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

नेपालमा मनसुनको आगमन भइसकेको छ । तर, पश्चिम नेपालमा भने अहिले पनि बाढी र पहिरोको क्षति नियन्त्रण गर्न खासै पहल भएको पाइएको छैन ।

‘कोरोना संक्रमणका कारण यस पटक तयारी केहि ढिलो भइरहेको छ,’ रेडक्रस कैलालीका सभापति उत्तम जोशीले भने, ‘हामी भोलि÷पर्सीबाटै यसमा लाग्छौँ ।’

कैलालीको मोहना, कान्ध्रा र कर्णालीमा आउने बाढीले जिल्लाको दक्षिणी क्षेत्र डुबानमा पर्ने गरेको छ । यस बर्ष समस्या हुन नदिन जिल्ला प्रशासन कार्यालयले तयारी सुरु गरेको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

‘आज पनि हामीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अनुगमन गरेर फर्किंदै छौं,’ उनले भने, ‘मनसुन सुरु हुँदैछ हामीले पनि तयारी प्रारम्भ गरेका छौं । ’ अहिले प्रशासनले आन्तरिक तयारी सुरु गरेको जनाए पनि नीतिगत रुपमा भने तयारी भएकै छैन ।

सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप तयारी हुने उनले बताए । उता कञ्चनपुरमा महाकाली र दोदा नदीले प्रत्येक बर्ष स्थानीयलाई उठिबास लगाउने गरेको छ ।

भीमदत्त नगरपालिका वडा नम्बर १२ भुजेला र १८ सालघारीमा सामान्य वर्षामा समेत डुबान हुने गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।

‘ती क्षेत्रमा अहिले उद्धारका समाग्रीहरु तयारी अवस्थामा राख्न निर्देशन दिएका छौं,’ उनले भने ‘हामीसँग सामग्री कम छ । भएकाहरूबाटै काम चलाइरहेका छौं ।’

पर्याप्त पूर्व तयारी नहुँदा सुदूरपश्चिम प्रदेशमा वर्सेनी विपद्बाट करोडौं रुपैयाँ बराबरको क्षति हुने गरेको छ । प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो, बाढीका साथै प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद् र वन्यजन्तु आक्रमणबाट ठूलो मानवीय क्षति तथा अन्नबालीको नोक्सानी हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर