एमाले स्थायी कमिटी बैठक स्थगित, एकता वार्ता निष्कर्षमा पुग्न बाँकी – Nepal Press

एमाले स्थायी कमिटी बैठक स्थगित, एकता वार्ता निष्कर्षमा पुग्न बाँकी

काठमाडौं । आज बस्ने तय भएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले बैठक भोलि अपरान्ह ४ बजे बस्ने गरि स्थगित भएको एमालेले जनाएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका केही नेताहरु बाहेक अन्यलाई सम्मानजनक रुपमा पार्टी एकता प्रक्रियामा सामेल गर्नेबारे छलफल भएको थियो ।

माधव नेपाल, भीम रावल लगाायतका नेताहरु भने एमालेमा नफर्किने निष्कर्ष एमाले नेताहरुको छ । एकताका लागि वार्तामा रहेका नेताहरुलाई माधव नेपाल पक्षबाटै दबाब बढेपछि आज ठोस प्रगति नभएकाले बैठक भोलिसम्मलाई स्थगित गरिएको स्रोतले जनाएको छ ।

एकताकै लागि वातावरण बनाउन शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदमाथिको कारवाही समेत रोकिएको छ । एमाले स्रोतका अनुसार २०७५ जेठ २ मै फर्किए पनि अब एक हुन नसकिने कुरामा माधव नेपाल लगायतका नेता प्रष्ट छन् । आफू धेरै अघि बढिसकेकाले अब ओलीले जेठ २ मा फर्किने निर्णय गरे पनि उनको जालमा नपर्ने नेपालले निकट नेताहरुलाई बताएका छन् ।

नेपालले अहिले बनेको विपक्षी गठनबन्धनले राष्ट्रियसभाका दुवै सिट जितपछि उत्साहित हुँदै यहि गठबन्धन अब स्थानीय र आम निर्वाचनसम्म जाने बताएका छन् । तर जेठ २ मा फर्किने अवस्था आएमा नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरु भने एमालेमै रहनुपर्ने अडानमा छन् । तिनै नेताहरु अहिले वार्तामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर