भेरी अस्पताल घटनाको छानविन प्रतिवेदन बुझ्दै बाँकेका प्रजिअले भने- अध्ययन गरेर कारबाही गर्छाैं – Nepal Press

भेरी अस्पताल घटनाको छानविन प्रतिवेदन बुझ्दै बाँकेका प्रजिअले भने- अध्ययन गरेर कारबाही गर्छाैं

रूपन्देही । पाँच दिनअघि बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा भएको तोडफोडबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

घटनाकै दिन राती बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा छानविन समिति गठन भएको थियो । छानविन समितिका संयोजक शंकरबहादुर विष्टले घटना विवरण र सुझावसहितको प्रतिवेदन सोमबार साँझ प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई वुझाइएको जानकारी दिए ।

प्रजिअ गेलालले प्रतिवेदन बुझेको र अध्ययन गरेर थप गरेर अगाडि बढ्ने बताए ।

बिहीबार राती दाङको तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए।

घटनाको चौतर्फी विरोध भएपछि तत्काल विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो। उक्त समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिए पनि सरोकारवालासँग सोधपुछको समय नपुगेपछि समितिले एक दिन थप समय लिएको छानविन समितिका सदस्य तथा अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, घटनाका प्रत्यक्षदर्शी, पीडित डाक्टर, नर्स र आक्रमणमा संलग्न व्यक्तिहरूलाई समेत सोधपुछ गरी प्रतिवेदन तयार पारिएको संयोजक विष्टले बताएका छन् ।

घटनामा संलग्न रहेका मानबहादुर रावत, लोकराज र भरत रावतलाई प्रहरीले घटनाकै दिन राति नै पक्राउ गरेर अनुसन्धान शुरू गरेको थियो ।

पीडित डाक्टर, नर्स र अस्पताल विकास समितिको जाहेरीका आधारमा तीनै जना विरुद्ध शुक्रबार नै ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर