७४ जिल्लामा निषेधाज्ञा, कार्यान्वयनको अवस्था सन्तोषजनक- गृह मन्त्रालय – Nepal Press

७४ जिल्लामा निषेधाज्ञा, कार्यान्वयनको अवस्था सन्तोषजनक- गृह मन्त्रालय

काठमाडौं । कोरोना महामारीको दोस्रो लहरमा सरकारले संक्रमितको तथ्यांक र अवस्था हेरेर निषेधाज्ञा लागू गर्न सम्बन्धित जिल्ला प्रशासनलाई नै अधिकार दिएको थियो । सोही अनुसार अहिलेसम्म ७७ मध्ये ७४ जिल्लामा निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जानकारी दिएको छ । ७४ मध्ये ४ जिल्लामा आंशिक निषेधाज्ञा आदेश जारी गरिएको छ ।

आंशिक निषेधाज्ञा जारी हुने जिल्लामा मुस्ताङ, सप्तरी, ताप्लेजुङ र धनकुटा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आंशिक निषेधाज्ञा जारी हुने जिल्लामा सप्तरीमा सबैभन्दा धेरै २ हजार ९ सय १९, त्यसपछि दोस्रोमा धनकुटामा ५ सय ३८, ताप्लेजुङमा ४ सय ६१ र मुस्ताङमा सबैभन्दा कम ८५ मात्रै सक्रिय संक्रमित रहेका छन् ।

गृह मन्त्रालयका अनुसार मनाङ, खोटाङ र तेह्रथुममा निषेधाज्ञा लागू भएको छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निषेधाज्ञा जारी नभएका ३ जिल्लामध्ये सबैभन्दा बढी खोटाङमा ३ सय ३९, दोस्रोमा तेह्रथुममा २ सय ९३ र मनाङमा सबैभन्दा कम ५३ सक्रिय संक्रमित छन् ।

तर तेह्रथुमका प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीका अनुसार जिल्लाभरमा सक्रिय संक्रमितको १ सय २१ मात्र छ । निषेधाज्ञा जारी नभए पनि निषेधाज्ञा जस्तै अवस्था जिल्लामा रहेको उनले नेपाल प्रेससँग बताए । उनले भने, ‘तोकिएको संख्या पनि पुगेको छैन र जारी गर्नैपर्ने अवस्था पनि छैन ।’ जिल्लामा रहेका ६ स्थानीय तहमध्ये ३ स्थानीय तहमा अनुगमन गरिसकेकाले त्यहाँको अवस्था सामान्य रहेको तथा अन्य ३ स्थानीय तहको पनि एक दई दिनमा नै अनुगमन गर्ने प्रजिअ भण्डारीले बताए ।

खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार जिल्लामा १ सय ७१ सक्रिय संक्रमित छन् । ‘अहिलेसम्मको अवस्थामा निषेधाज्ञा जारी गर्नु पर्ने छैन । भोलि के हुन्छ भन्न सकिन्न,’ उनले भने । कतिपयले निषेधाज्ञाको माग गरे पनि सबै स्थानीय तहसँग छलफल गर्दा नगर्नु नै उपयुक्त हुने राय आएकाले निर्णय नगरिएको उनले बताए ।

मनाङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेका अनुसार जिल्लामा अहिलेसम्म ५८ जना मात्र सक्रिय संक्रमित छन् । जिल्लामा अहिलेको अवस्थामा निषेधाज्ञा जारी गर्नुपर्ने बेला नभएको उनले नेपाल प्रेससँग बताईन । ‘अहिले निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था छैन । बस्ती पनि पातलो भएकाले मान्छेको भिडभाड पनि एकदमै कम छ । पसल पनि बिहान बेलुका मात्र खोल्ने गरिएको छ । सबैजना सचेत भएकाले निषेधाज्ञा जारी गर्नुपर्दैन भन्ने हामीलाई लागेको छ,’ उनले भनिन् ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार रुकुम पुर्वमा १ सय ५६, मुस्ताङमा ८६, डोल्पामा ८१, हुम्लामा ७१ र मुगुमा ५५ जना सक्रिय संक्रमित रहेका छन् । मुस्ताङमा आंशिक निषेधाज्ञा जारी भए पनि बाँकी ४ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले नेपाल प्रेससँग बताए । । उनले भने, ‘बेलैमा जोगिनका लागि भए पनि निषेधाज्ञा जारी गरेर राम्रै त गरे नि होइन र ? निषेधाज्ञा जारी भएकै कारणले अहिले अन्य जिल्लामा संक्रमण बढिरहेका बेला ति जिल्लामा संक्रमणदर कम देखिएको छ ।’

कार्यान्वयको अवस्था सन्तोषजनक

जारी निषेध आदेश तथा नेपाल सरकारले कोभिड–१९ रोकथाम, उपचार तथा नियन्त्रणका लागि दिएका निर्देशनको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको गृह मन्त्रालयले जनाएको छ ।

एकातिर जारी आदेशको प्रभावकारी कार्यान्वयन आवश्यक देखिएको र अर्कोतिर यसबाट उत्पन्न असहज परिस्थितिलाई सहजपूर्ण एवं सामान्य तुल्याउनु त्यतिकै आवश्यक रहेको मन्त्रालयको भनाई छ ।

निषेधाज्ञा उल्लंघन गर्ने २२ हजारलाई कारबाही

सुरक्षा निकायको प्रभावकारी परिचालनबाट निषेध आदेशको अवज्ञा गरी मास्क नलगाई हिड्ने २१ हजार ९ सय ४२ जनालाई जरिवाना गरिएको र बैशाख ६ गतेदेखि मंगलबार साझसम्म विभिन्न सुरक्षा निकायमार्फत ५ हजार ८ सय ५९ पटक कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र ४ लाख ३७ हजार १ सय १४ जनालाई मास्क वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निषेधाज्ञा जारी भएको अवस्थामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रदायक निकाय सीमित कर्मचारीबाट सञ्चालनमा छन् । अत्यावश्यक सेवा प्रवाहका लागि आवश्यकताअनुसार सवारी साधान सञ्चालनमा छन् ।

कोरोना संक्रमितका लागि आवश्यक पर्ने अक्सिजन आपूर्तिलाई सकेसम्म सहज बनाएको पनि मन्त्रालयले स्पष्ट पारेको छ । यसमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव तथा जम्माखोरी जस्ता प्रवृतिलाई पुर्णरुपमा निस्तेज तुल्याउने कार्यमा मन्त्रालय गम्भीरताका साथ लागि रहेको मन्त्रालयका प्रवक्ता दाहालले बताए ।

अक्सिजन प्लान्टलाई चौबीसै घण्टा विद्युत आपूर्ति

मन्त्रालयले संकटको अवस्थामा अक्सिजन उत्पादन, आपूर्ति तथा वितरण प्रणालीलाई भरपर्दो, पारदर्शी र न्यायसंगत तुल्याउन अक्सिजनसँग सम्बन्धित उद्योगमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन देशभरी जम्मा ३३ स्थानमा बिशेष सुरक्षा टोली खटाई उद्योगको भरपर्दो सुरक्षा बन्दोबस्त मिलाइएको जनाएको छ ।

मन्त्रालयका अनुसार अक्सिजन प्लान्टलाई चौबीसै घण्टा विद्युत प्रवाह गर्न नियमित आपूर्तिको व्यवस्थासमेत मिलाइएको छ ।

कोरोना संक्रमणमा बढिरहेको अहिलेको अवस्थामा यसबाट बच्ने सबैभन्दा उत्तम उपाय नै भीडभाडजन्य गतिविधि नगर्ने, मास्कको उचित प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने र बारम्बार साबुन पानीले हात धुने वा नियमित रुपमा स्यानिटाइजर प्रयोग गर्ने जस्ता सामान्य कुरामा ध्यान पु¥याउनु नै भएकाले यसमा विषेश सतर्कता अपनाई आफू बाच्ने र अरुलाई बचाउने अभियानमा इमान्दारीपूर्वक सहयोग पुर्याउन पनि मन्त्रालयले अपिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर