एमाले विवाद अब वार्ता टोलीको जिम्मा : त्यो जेठ २ मा फर्किने कि, यो जेठ २ बाट हिँड्ने ? – Nepal Press

एमाले विवाद अब वार्ता टोलीको जिम्मा : त्यो जेठ २ मा फर्किने कि, यो जेठ २ बाट हिँड्ने ?

काठमाडौं । नेकपा एमालेलाई २०७५ जेठ २ अघि फर्काउने कि २०७८ जेठ २ पछि लैजाने भन्ने विवादको टुंगो अब संस्थापन पक्ष र माधव नेपाल पक्षका पाँच-पाँच सदस्य रहेको वार्ता टोलीले लगाउने भएको छ ।

अध्यक्ष कपी शर्मा ओलीसँगको भेटपछि वरिष्ठ नेता नेपालले यसलाई वार्ता टोलीको नाम दिए । ओली पक्षबाट वार्ता टोलीको नेतृत्व सुवास नेम्वाङले गरेका छन् जसमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

त्यस्तै माधव नेपालको पक्षबाट भीम रावलले नेतृत्व गरेका छन् भने घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सद सदस्य छन् । दुवै पक्षको वार्ता टोलीलाई तीन दिनको समय दिइएको नेपालले बताए ।

समय अपुग हुँदा थप गर्न सकिने उनले संकेत गरे । तर, जेठ ६ को राष्ट्रियसभा चुनावमा माधव नेपाल पक्षको भूमिका के हुने भन्ने बारे भने नेपालले कुनै प्रतिक्रिया दिएनन् । वार्ता टोलीले नै आफ्ना ६ बुँदे माग र जेठ २ मा पार्टीलाई फर्काउने मस्यौदा प्रस्ताव गर्ने नेपालले बताएका छन् ।

वार्ता टोलीमा ओली पक्षको नेतृत्व गरेका नेम्वाङले यसबारे आफूहरूलाई जानकारी नभइसकेकाले औपचारिक जानकारी पाएपछि कार्यादेश र समयको बारेमा छलफल हुने बताए । वार्ता टोली भन्ने बित्तिकै दुवै पक्षले आ-आफ्ना कुरा राख्ने र बीचको समाधान खोजिने नेताहरूले बताएका छन् ।

वार्ता टोलीमा सामेल भएका एक नेताले भने, ‘कार्यदल भनेको भए एउटा संयोजक हुन्थ्यो र त्यसमा अन्य सदस्य सामेल भएर सहमतिको दस्तावेज लैजाने भन्ने हुन्थ्यो । अब दुवै तर्फबाट अलग-अलग नेतृत्वको वार्ता टोली बनेपछि यसमा आ-आफ्ना पोजिसन राख्ने कुरा हुन्छ । कुनै एउटाले भनेको जस्ताको त्यस्तै हुँदैन ।’

माधव नेपाल पक्षले २०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट एमाले ब्युँतिएपछि अध्यक्ष ओलीले फागुन २८ गते बैठक राखेर गरेका निर्णय खारेजी हुनुपर्ने र पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने सर्त राखेको छ । तर, ओलीले फागुन २८ को निर्णयबाट पार्टी अघि बढिसकेको बताउँदै आएका छन् ।

यसअघि दुवै पक्षका नेताहरूबीच छलफलबाट जेठ २ कै वरपर रहेर पार्टीलाई अघि बढाउने अनौपचारिक सहमति भइसकेको छ । माधव नेपाल पक्षले जेठ २ अघिका पदाधिकारी यथावत हुनुपर्ने अडान लिएको छ भने संस्थापन पक्षले स्थायी कमिटी पुनर्वहाली भए पनि अब महाधिवेशन आयोजक कमिटीमा अध्यक्ष र महासचिवमात्र रहने बताउँदै आएको छ ।

तल्ला तहका कमिटीहरूको हकमा अझ बढी समस्या रहेकाले वार्ता टोलीबाटै आउने सुझाव र सहमतिका आधारमा अघि बढिने नेताहरुले बताएका छन् । यसबीचमा विशेषगरी तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्ष र ओली पक्षमा विभाजित भएका बेला ओली पक्षले बनाएका कमिटीहरू नै अहिले एमालेका कमिटीका रूपमा क्रियाशील छन् ।

सबैभन्दा पेचिलो बनेकै यिनै कमिटीहरू र पदाधिकारी पुनर्वहालीको विषय रहेको छ । वार्ता टोलीले यो विषय आ-आफ्नो पक्षका शीर्ष नेतासँगको सल्लाहका आधारमा टुंगो लगाउने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर