कोरोना संक्रमणपछि शल्यक्रियाद्वारा ७ महिने शिशु निकालियो, तीन दिनमै आमाको ज्यान गयो – Nepal Press

कोरोना संक्रमणपछि शल्यक्रियाद्वारा ७ महिने शिशु निकालियो, तीन दिनमै आमाको ज्यान गयो

पोखरा । तनहुँको भीमाद नगरपालिका-५ की २२ वर्षीया महिलाको पेटमा ७ महिनाको सन्तान हुर्कँदै थियो । बैशाख अन्तिमतिर स्वास्थ्यमा समस्या देखियो । नजिकै रहेको स्वास्थ्य चौकी पुगेर उनले जाँच गराइन् ।

तर, स्वास्थ्यमा सुधार आएन । बरु दिनदिनै बल्झियो । भीमाद अस्पतालमा उपचार गर्दा ज्वरो निको नभएपछि उनी पोखरा आइन् । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भइन् । स्वाब परीक्षण भयो, नतिजा पोजेटिभ देखियो ।

प्रतिष्ठानको आइसोलेसन वार्डमा ती कोरोनाभाइरस संक्रमित महिलाको उपचार हुँदै थियो । तर, २९ गते साँझबाट श्वासप्रश्वासमा समस्या देखिन थालेपछि चिकित्सकले अपरेसन गरेरै भएपनि सन्तान जन्माउनुपर्ने सल्लाह दिए ।

संक्रमित ती महिलाको अप्रेसन भयो । ७ महिनाको शिशुलाई शल्यक्रियामार्फत सकुशल निकालियो । तर, शिशु जन्मिएको तीन दिनमै ती महिलाको उपचारकै क्रममा मृत्यु भयो ।

‘गाउँमा औषधि गर्दा सञ्चो नभएपछि पोखरा लगिएको हो । तर, त्यहाँ पनि सास फेर्नै गाह्रो हुन थालेपछि हतारमा अप्रेसन गरेर बच्चा निकालिएको हो,’ भीमाद-५ का वडाध्यक्ष पदमबहादुर थापाले नेपाल प्रेससँग भने, ‘बच्चा जन्मिएको ३ दिनमै उहाँलाई कोरोनाले लग्यो ।’

कोरोनाबाट मृत्यु हुनेमा ती संक्रमित महिला हालसम्मकै कम उमेरकी हुन् । शल्यक्रिया गरेर छोरी जन्मिएको थियो । तर, छोरीको पनि अवस्था गम्भीर रहेको वडाध्यक्ष थापाले जानकारी दिए । ‘उहाँको परिवारलाई बच्चाबारे साधेको थिएँ, खै उस्तै छ भन्ने जवाफ दिनुभयो,’ उनले भने ।

यसअघि पनि ती महिलाको एक छोरी छन् । पहिलो छोरी ३ वर्ष पूरा भइसकेको वडाध्यक्ष थापा बताउँछन् । संक्रमित महिलाको शवलाई शनिबार नै पोखरामा नेपाली सेनाले व्यवस्थापन गरिसकेको छ । ‘सानै उमेरमा सदस्य गुमाउनुपरेपछि परिवारै शोकमा छ,’ थापा सुनाउँछन् ।

परिवार क्वारेन्टिनमा, आइतबारबाट कन्टयाक ट्रेसिङ

वडाध्यक्ष थापाका अनुसार ती महिलामा कोरोनाभाइरस संक्रमणको स्रोत पत्ता लागेको छैन । श्रीमान र श्रीमतिसहित सम्पूर्ण परिवारकै बाह््य सम्पर्क नरहेकाले कताबाट र कसरी भाइरस संक्रमण भयो भन्ने पुष्टि नभएको उनले बताए ।

‘उहाँको श्रीमान पनि यतै हुनुहुन्छ । परिवार ठूलो छ । अहिले सबै होम क्वारेन्टिनमा बस्नु भएको छ,’ वडाध्यक्ष थापा भन्छन्, ‘भोलि (आइतबार)बाट कन्ट्याक ट्रेसिङ गरेर कोरोना परीक्षण गर्छौं ।’

गण्डकीमा शनिबारमात्रै कोरोनाबाट १४ जना मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा अहिले ४ सय १९ जना सक्रिय संक्रमित छन् भने ३६ जनाको मृत्यु भइसकेको छ । तनहुँमा जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर