अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या – Nepal Press

अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

काठमाडौं । वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन । सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड-१९ का संक्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरे तापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको छ ।

अस्पतालका निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयारी गरिए तापनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताए ।

नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको माग र सात हजार २०० मात्र उत्पादन हुने गरेको छ । ‘हामीले भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा गरेका थियौं तर अक्सिजन नभएपछि त्यतिकै रोकिएको छ ’, उनले भने, ‘अहिले संक्रमितलाई अक्सिजन चाहिन्छ । त्यसैले अक्सिजनविना बिरामीलाई नयाँ भवनमा राख्न सकिँदैन ।’

शुरुमा १ सयदेखि ३०० शय्या सञ्चालन गर्ने योजना थियो । सर्जिकल बिरामीका लागि बनाइएको उक्त भवन ५०० शय्याको छ । त्यहाँ बिरामी राखेर उपचार गर्नका लागि कम्तीमा ६०० सिलिण्डर अक्सिजन आवश्यक रहेको उनको भनाइ थियो ।

उनले अक्सिजनको आपूर्ति गर्नका लागि प्रयास भइरहेको र प्राप्त हुनासाथ भवनमा बिरामीलाई राखिने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर