अक्सिजन व्यवस्थापन नहुँदा अस्पतालमा संक्रमितले गुमाउँदैछन् ज्यान – Nepal Press

अक्सिजन व्यवस्थापन नहुँदा अस्पतालमा संक्रमितले गुमाउँदैछन् ज्यान

रूपन्देही । समयमै अक्सिजन व्यवस्थापन नहुँदा रूपन्देहीका दुई कोरोना विशेष अस्पतालमा संक्रमितले ज्यान गुमाएका छन् ।

बिहान भैरहवास्थित भीम अस्पतालमा अक्सिजन अभावमा तीन जनाको मृत्यु भएको थियो भने दिउँसो बुटवलको कोरोना विशेष अस्पताल बुटवलमा अक्सिजन सकिएर ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

अक्सिजनको सहायतामा उपचार भइरहेका ती संक्रमितहरुलाई दिईरहेकोअक्सिजन सकिएपछि अक्सिजन लिन नपाएर मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

अक्सिजन सकिएको सूचना गर्दा पनि समयमा अक्सिजन अस्पताल पुग्न नसक्दा बेडमा रहेका संक्रमितहरुलाई आधा घण्टा अक्सिजन दिन नसकिएको अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले बताए ।

मृत्यु हुनेमा बुटवल उपमहानगरका ४ जना र नवलपरासीका १ जना छन् । मृत्यु हुनेमा बुटवल ११का २९ वर्षिय पुरुष, वार्ड नम्बर ८ का ५२ वर्षिय पुरुष, बुटवल १२ की ५९ वर्षिया महिला र बुटवल १३ का ५२ वर्षिय पुरुष रहेका छन् । अक्सिजन नै नपाएर बर्दघाटका ४४ वर्षिय पुरुषको पनि मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालमा आज बिहान आउनुपर्ने अक्सिजनको सिलिण्डर समयमा आउन नसक्दा आधा घण्टा अक्सिजन दिन नसकिएको र सोही समयमा उपचाररत संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा केहीबेर अगाडि मात्र अक्सिजन सिलिण्डर झरेको छ ।

कोरोना अस्पतालमा भर्ना भएका पत्रकार हिक्मत चौधरीले हिजोदेखि अस्पतालले आफै अक्सिजन खोज्न लगाएकाले हिजो व्यवस्थापन भएपनि आज व्यवस्थापन हुननसकेकाले निकै समस्यामा परेको बताए । उनले सहयोगका लागि सबैलाई अपिल गरेका छन् । यसअघि आज बिहानै भैरहवाको भीम अस्पतालमा पनि केही समय अक्सिजन अभाव हुँदा ३ जना बिरामीको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर