काभ्रेपलाञ्चोकमा निषेधाज्ञा एक हप्ता थप – Nepal Press

काभ्रेपलाञ्चोकमा निषेधाज्ञा एक हप्ता थप

काभ्रे । कोरोनाभाइरस संक्रमणको दर उच्चरूपमा बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि गरिएको निषेधाज्ञालाई अर्को एक हप्ताका लागि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै कोभिड-१९ को सम्भावित संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी आइतबार राति १२ बजेदेखि आगामी जेठ २ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको बताए ।

यसअघि वैशाख १९ गते राति १२ बजेदेखि एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा संक्रमण दर बढ्न थालेपछि समय थप गर्नुपरेको उनले बताए । निषेधाज्ञाको समयमा यसअघि निर्धारण गरिएको समयबाहेक कार्यालय सञ्चालनको हकमा थप कडाइ गरिएको छ । सो समयमा सरकारी कार्यालयले न्यूनतम कर्मचारी उपस्थित भएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने, बैंक तथा वित्तीय संस्थाहरुको हकमा राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा लघुवित्त कम्पनी र बिमा समितिबाट इजाजतप्राप्त बिमा कम्पनीहरुले माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा प्रणालीमा अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।

निषेधित क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरुले अत्यावश्यक कार्यका लागि बढीमा हप्ताको दुई दिन कार्यालय सञ्चालन गरी सेवा प्रदान गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । सो समयमा सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, विद्युत्, सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापनसम्बन्धी अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनका हकमा कार्यालयले जारी गरेको परिचयपत्र र कार्यालयमा आउनुपर्ने पालो सूचीका आधारमा मात्रै आवतजावत गर्न पाउने प्रमुख जिल्ला अधिकारी पोखरेलले जनाए ।

जिल्लाभित्र प्रयोग हुने निर्माणका सामग्री ढुङ्गा, गिटी, बालुवा र अन्य निर्माण सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । अत्यावश्यक सामग्री खाद्यान्न, डिपार्टमेन्टल स्टोरको ग्रोसरी मात्र सञ्चालन गर्ने समय बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि राति ७ बजेसम्म मात्रै निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्न पाउने भएको छ । अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री उत्पादन र बेचबिखन गर्ने उद्योग तथा पसललगायत अत्यावश्यक सेवासम्बन्धी व्यवसाय निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्न पाइने जनाएको छ ।

यसैबीच बनेपा नगरपालिकाले नगर कार्यालयसहित सबै वडा कार्यालयबाट हुने सबैखाले सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । आइतबार नगरपालिकाले सूचना जारी गर्दै कोभिड–१९ व्यवस्थापनसम्बन्धी कार्य र फोहोरमैला व्यवस्थापनको काम मात्रै सञ्चालन हुने नगरका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले जानकारी दिए । आइतबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार ९९ जना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर