स्थानीयले अवरोध गरेपछि नवलपरासी पश्चिममा २ दिनदेखि शव व्यवस्थापन भएन – Nepal Press

स्थानीयले अवरोध गरेपछि नवलपरासी पश्चिममा २ दिनदेखि शव व्यवस्थापन भएन

रुपन्देही । स्थानीयले शव व्यवस्थापनमा अवरोध गरेपछि नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–४ का ४५ वर्षका महिलाको शव २ दिनदेखि व्यवस्थापन हुन सकेको छैन् । कोरोना संक्रमणबाट ज्यान गुमाएका ती महिलाको व्यवस्थापनमा ढिलाई हुँदा उनको शव अस्पतालको शव गृहमा राखिएको हो ।

मृत्यु हुने वित्तिकै शव व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तहलाई जानकारी दिने गरिएको र तत्कालै शव लिने गरिएका पृथ्वीचन्द्र जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मोहम्मद नुरुल होदाले जानकारी दिए । तर रामग्रामले भने अहिलेसम्म शव नबुझ्दा २ दिनदेखि जिल्ला अस्पतालको शव गृहमा राखिएको उनले बताए ।

शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले विरोध गरेकाले समस्या आएको र जग्गाको खोजी भइरहेकाले ढिलाई भएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए । नगरपालिकाले वडा नं.४, ५ र ६ का लागि झरही खोला र वडा नं. १, २ र ३ का लागि वडा नं. १ मा जग्गा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

तर १८ वडा रहेको नगरपालिकामा ६ वटा वडाका लागि जग्गा व्यवस्थापन गरे पनि अन्य वडाका लागि भने जग्गाको खोजी गर्न नसकिएको पन्थीको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति देविलाल पौडेलका अनुसार बैशाख पहिलो सातादेखि बुधबारसम्म जिल्लामा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर