म्यानचेस्टर सिटी पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा – Nepal Press

म्यानचेस्टर सिटी पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी  । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी आफ्नो इतिहासमा पहिलोपल्ट युरोपेली क्लब प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

ऐतिहासिक फाइनल प्रवेश निश्चित गर्नका लागि घरेलु मैदान इथिहाड रंगशालामा सिटीले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन् (पीएसजी)लाई २–० ले हरायो । पहिलो लेगमा २–१ को जित हासिल गरेको सिटी समग्रमा ४–१ ले विजयी भयो ।

बेमौसमी हिउँले प्रभावित खेलको सुरुमै गोलरक्षक एडर्सनले ६० यार्ड परदेखि दिएको पास सदुपयोग गरी रियल मेहेरेजले शानदार गोल गरी पहिलो लेगको अग्रतालाई बढाएका थिए ।

पीएसजीलाई खेल सुरु हुनुभन्दा अगाडि नै एउटा ठूलो झड्का लागेको थियो । उसका विश्वस्तरीय स्ट्राइकर केलियन एम्बाप्पे चोटका कारण बेन्चमै सीमित हुन पुगेका थिए ।

यद्यपी अलेक्जान्दर जिनचेन्कोले बक्सभित्र ह्याण्ड गरेपछि पेनाल्टी दिने रेफ्रीको निर्णय भिडियो अडियो असिस्टेन्ट रेफ्री (भार)ले उल्टाउनुअघिको समयमा पीएसजीले शानदार फुटबल खेलेको थियो र कडा टक्कर दिएको थियो ।

तर ६३ औं मिनेटमा मेहेरेजले सिटीलाई २–० को अग्रता दिलाउन फिल फोडेनको क्रसलाई उपयोग गरी व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसपछि पीएसजीले खेल शैली त्यस्तै हुन थल्यो जुन कारण पहिलो लेगमा इद्रिस गुयेले रातो कार्ड पाएका थिए । फर्नान्डिन्होमाथिको अनावश्यक फलका कारण एंगेल डी मारियाले रातोकार्ड पाए ।

२९ मे मा इस्तानबुलमा हुने फाइनलमा सिटीले चेल्सी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ । यो खेल आज राती हुनेछ । पहिलो लेगमा चेल्सीले घरेलु मैदानमा रियलसँग १–१ गोलको बराबरी खेलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर