घरमै बस्ने संक्रमितलाई ‘होम आइसोलेसन किट’, किन्न सक्नेलाईमात्रै दिइने – Nepal Press

घरमै बस्ने संक्रमितलाई ‘होम आइसोलेसन किट’, किन्न सक्नेलाईमात्रै दिइने

पोखरा । संक्रमितको संख्या बढिरहेको समयमा अस्पतालका बेड पनि भरिन थालेपछि गण्डकीमा कोरोना संक्रमितलाई ‘होम आइसोलेसन’ मै उपचार गर्न प्रोत्साहन गरिने भएको छ । संक्रमितलाई आफ्नो स्वास्थ्यावस्थाबारे दैनिक रेकर्ड राख्न फर्मसमेत दिइनेछ ।

प्रदेश स्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमितलाई आफ्नो सुरक्षा आफैं गर्न सकिने गरी विभिन्न पूर्वाधारको व्यवस्था गर्ने निर्णय गरेको हो ।

होम आइसोलेसनमा रहेका संक्रमितको स्वास्थ्यवस्थामा खराबी आउन नदिन समितिले ‘होम आइसोलेन किट’ व्यवस्था गरेको डा. शर्माले जानकारी दिए ।

डा. शर्माले उक्त ‘किट’मा थर्मोमिटर, अक्सिजन नाप्ने यन्त्र, मास्क, स्यानिटाइजरलगायत उपकरणहरु उपलब्ध हुने जानकारी दिए । तर, ‘होम आइसोलेसन किट’ सबैको पहूँचमा भने पुग्ने छैन ।

डा. शर्माका अनुसार किट जुन संक्रमितले किन्न सक्ने ल्याकत राख्छ उसलाईमात्रै उपलब्ध हुनेछ । ‘होम आइसोलेसन किट सबै संक्रमितलाई दिइने छैन । जसले एफर्ड गर्न सक्नुहुन्छ, उहाँहरुलाईमात्रै उपलब्ध गराउने हो,’ उनले भने, ‘यसमा कम्तिमा ३ महिनालाई पुग्ने साधनहरु हुनेछन् ।’

बैठकले कोरोना रोकथामका लागि पचिमाञ्चल क्षेत्रीय अस्पतालमा आइसोलेसन बनाउन तत्काल ६२ लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेशले जिल्ला अस्पताल र संक्रामक अस्पतालका लागि आवश्यक डाक्टर र स्वास्थ्य प्राविधिक उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग मागसमेत गरेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमित थपिँदै जाँदा अस्पतालमासमेत गम्भीर बिरामीको संख्या बढ्दै गएको छ । प्रदेशमा आइतबारसम्म २ हजारभन्दा बढी सक्रिय संक्रमित नै छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार प्रदेशमा आइतबारसम्म २ हजार ४३ जना सक्रिय संक्रमित छन् । तीमध्ये अस्पतालमा १ सय ५६ जनामात्रै उपचाररत छन् ।

कुल सक्रिय संक्रमितमध्ये १ हजार ८ सय ८७ जना संक्रमित अहिले होम आइसोलेसनमै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर