लुम्बिनीमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने, निजी अस्पतालले पनि शुल्क लिन नपाइने – Nepal Press

लुम्बिनीमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने, निजी अस्पतालले पनि शुल्क लिन नपाइने

रुपन्देही । कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको लुम्बिनी प्रदेशका सबै अस्पतालमा कोरोना संक्रमितको उपचार गरेबापतको खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ ।

संघीय सरकारले तोकेबमोजिम सबै अस्पतालमा संक्रमितको उपचार हुने लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री लिला गिरीले जानकारी दिए । उनले भने– उपचारलाई सहज, सरल र प्रभावकारी बनाउन सरकारी, निजी र मेडिकल कलेजमा उपचार गर्ने बिरामीको खर्च प्रदेश सरकारले व्यहोर्नेछ ।

प्रदेशका कोभिड विशेष अस्पताल तथा निजी र मेडिकल कलेजले कोभिड संक्रमित बिरामीको उपचार खर्चमा एकरुपता ल्याउने गरी शुल्क निर्धारण गरिएको छ । जसअनुसार अक्सिजनसहितको एक बेडको प्रतिदिन तीन हजार ५००, आईसीयू एचडीयूसहितको एक बेडको ७ हजार, आईसीयू भेन्टिलेटरको एक बेडको प्रतिदिन १५ हजार रुपैयाँ तोकिएको छ ।

तोकिएको रकम सरकारले उपलब्ध गराउने भएकाले निजी अस्पतालले पनि बिरामीबाट शुल्क लिन नपाइने मन्त्री गिरीले बताए ।

उपचार खर्च लिन अस्पतालले कोभिड १९ संक्रमित बिरामीको उपचार विवरण प्रदेश सरकारको सफ्टवेयरमा अपडेट गर्नुपर्ने छ । त्यसका आधारमा संघबाट आएको रकम प्रदेश सरकारले अस्पतालहरुलाई उपलब्ध गराउने छ ।

लुम्बिनी प्रदेशमा ४ वटा कोरोना विशेष अस्पताल छन् । पाल्पा, रुपन्देही र बाँकेका ७ वटा निजी अस्पताल एवं मेडिकल कलेजमा पनि कोरोनाका बिरामीको उपचार भइरहेको छ ।

निजी अस्पताल एवम् मेडिकल कलेजले महँगो उपचार खर्च लिएको गुनासो आएपछि सबैलाई एकरुपतामा ल्याउन अस्पताल सञ्चालकहरुको बैठकबाट निःशुल्क उपचार गराउने र रकम प्रदेश सरकारबाट उपलब्ध गराउने निर्णय गरेको मन्त्री गिरीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर