तदर्थमै स्थापना दिवस मनाउँदै नेविसंघ – Nepal Press

तदर्थमै स्थापना दिवस मनाउँदै नेविसंघ

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज आफ्नो ५२ औं स्थापना दिवस मनाउँदै छ । नेपाली विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेविसंघको स्थापना २०२७ साल वैशाख ६ गते भएको थियो ।

विभिन्न राजनीतिक परिवर्तन र शैक्षिक आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भएपनि पछिल्लो समय नेविसंघ अस्थिर र प्रभावहीन बन्दै गएको आरोप लाग्न थालेको छ । हरेक २–२ वर्षमा हुनुपर्ने नेविसंघको महाधिवेशन नियमित हुन सकेको छैन ।

२०७३ सालमा पछिल्लोपटक नेविसंघको ११ औ महाधिवेशन सम्पन्न भएको थियो । सो महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले महाधिवेशन गराउन नसकेपछि २०७५ माघ २८ मा राजीनामा दिएका दिए ।

त्यसपश्चात लामो समय नेतृत्वविहीन रहेको नेविसंघमा २०७६ माघ १६ गते राजीव ढुंगानालाई अध्यक्ष मनोनित गरिएको थियो । कांग्रेस शीर्ष नेताहरुले नेविसंघमा भागबण्डा गरेपनि हालसम्म कार्यसमितिले पूर्णता पाएको छैन ।

६ महिनामा महािधवेशन गराउन मनोनित ढुंगाना नेतृत्वको कार्यसमितिको म्याद २ पटक थपिसकिएको छ । थप गरिएका समयमा पनि नेविसंघ महाधिवेशन हुने निश्चित छैन । नेविसंघमा विधानविपरीत सहमति गर्दै कांग्रेस नेताहरुले ९ जना महामन्त्री राख्ने निर्णय गरेका थिए । जसमध्ये ६ जना मनोनित भइसकेका छन् ।

हाल नेविसंघमा अध्यक्ष ढुंगाना, उपाध्यक्षहरु तुलसा पन्त र मुक्ति पौडेल तथा महामन्त्रीहरुमा उर्मिला थपलिया, दीपक भट्टराई, प्रभातकुमार दाहाल, मनोज वैद्य, बलदेव तिमिल्सिना, महेश्वरी कुँवर र युवराज पाण्डे रहेका छन् । नेविसंघका पदाधिकारीहरु केन्द्रीय समितिले पूर्णता नपाएको कारण १२ औं महाधिवेशनको तयारी गर्न कठिन भइरहेको बताउँछन् ।

नेपाली कांग्रेसमा कुनैबेला नेता उत्पादन गर्ने कारखानाका रुपमा नेविसंघ परिचित थियो । नेविसंघका संस्थापक सभापति विपीन कोइराला हुन् भने हाल कांग्रेस सभापति रहेका शेरबहादुर देउवा नेविसंघको दोस्रो सभापति हुन् ।

नेविसंघको राजनीतिक पृष्ठभूमीबाट कांग्रेस राजनीतिमा स्थापित भएका नेताहरु धेरै भएपनि नेविसंघ भने नेताहरुकै स्वार्थको शिकार बन्दै आएको छ । महाधिवेशन आयोजना गर्नकै लागि ढुंगाना नेतृत्वको कार्यसमिति बनाइएपनि डेढ वर्ष बित्न लागिसक्दा सम्मा समितिले पूर्णता पाउन सकेको छैन ।

नेविसंघको ५२ वर्ष लामो इतिहासमा हालसम्म १९ जना केन्द्रीय अध्यक्ष बनेका छन् । जसमध्ये ६ जना मात्रै महाधिवेशनबाट निर्वाचित भएका हुन् । ५ जना अध्यक्ष महाधिवेशनको हलबाट सर्वसम्मत भएका थिए भने अरु सबै तदर्थ समितिका अध्यक्ष हुन् ।

स्थापना दिवसको अवसरमा नेविसंघ केन्द्रीय समितिले काठमाडौंको वाल्मिकी क्याम्पसमा पार्टी सभापति शेरबहादुर देउवाको आतिथ्यतामा कार्यक्रम आयोजना गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर