ओलीको ग्ल्यामरबाट लठ्ठ म

म एक उदारवादी सोचकी महिला हुँ । राजनीतिबाट निरपेक्ष छु । राजनीतिका वाद वा सिद्धान्त, दलहरूका संगठन वा अनुशासन मेरो मतलबका विषय होइनन् । समाजमा प्रदर्शित विचार वा व्यवहारप्रति खुल्लमखुला टिप्पणी गर्ने गर्छु । मेरो टिप्पणीले कसलाई नाफा वा घाटा हुन्छ, मतलव पनि छैन ।

मैले अवश्य पनि राजनीतिक दलमा सहभागी नभएका मेरो पुस्ताका युवाहरूको प्रतिनिधित्व गर्दछु । त्यसैले आज म मेरो पुस्ताका जनताले प्रधानमन्त्री ओलीका बारेमा के सोच्छन् भन्ने यस लेखमार्फत् उजागर गर्न गइरहेकी छु । राजनीतिक विषयवस्तुमा यो मेरो पहिलो लेख हो ।

मलाई सबै राजनीतिज्ञ उस्तै लाग्थे । सबै नेता सरदर हुन् । त्यसैले एउटाले गरेको गल्तीमा सबैलाई गाली गर्ने र एउटाले गर्ने राम्रो काममा सबैलाई तारिफ गर्ने गर्थेँ । तर पछिल्लोपटक राजनीतिमा देखिएका घटनाक्रमले म प्रधानमन्त्री ओलीको फ्यान नै बन्न पुगेँ । मजस्ता राजनीतिबाट टाढा रहेको पुस्ताका लागि अहिले प्रधानमन्त्री ओली आकर्षणको केन्द्र बन्न पुगेका छन् ।

कोरोनाका बेला ‘बेसार पानी र हाछ्युँ’ जस्ता कुरा गरेर ओलीले तर्क दिँदा मलाई उनी बकवास कुरा गर्छन् जस्तो लागेको थियो । देशको प्रधानमन्त्री जस्तो पदमा बसेर यस्तो हल्का कुरा गरेको देखेर मैले पनि सामाजिक सन्जालमा खुलेर बिरोध गरेको थिएँ । त्यो तर्कलाई आज पनि म स्वीकार्न सक्दिनँ । जति उनका सम्वादहरू सुन्थेँ त्यति धेरै उनीसँग रिस उठ्थ्यो । मैले प्रमको भाषण र अन्तर्वार्ताहरू ढुकेरै सुन्ने गरेकी थिएँ । उनले कहाँ गल्ती बोल्छन् र सामाजिक सञ्जालमा त्यो कुराको विरोध गरूँ भन्ने हेतुले हेर्थेँ र मन नपर्ने कुरा गर्नासाथ उनको विरोधमा ठोकेर लेख्ने गर्थेँ पनि ।

यस्तै गरिरहँदा, प्रचण्ड र माधवकुमार नेपालसँग उनको विवाद सुरु भयो । प्रधानमन्त्री ओलीलाई बनाएको छ, तर उनलाई हलचल नै गर्न नदिनेगरी घेराबन्दी गरेको छ । बाहिर एउटा कुरा प्रदर्शन गरेको छ, भित्र अर्कै कुरामा लडाईँ लडेको छ । सरकार बनाउने र ढाल्ने, अनि त्यसबाट फाइदा लिने लत लागेका मिडियाले आफ्नो स्वार्थ अनुसारका प्रचार गर्ने नै भए ।

यहाँ त मैले मिडिया नै देखिनँ । उनीहरूले यथार्थ समाचार कहिल्यै दिएनन् । बरु उनीहरू को कसको पक्षमा छन् र कसको विक्षमा छन् त्यो मात्रै लेखे । सँगसँगै ओली बिरुद्ध नागरिक आन्दोलन पनि अघि सर्‍यो । सडकमा उत्रिएका सबै जनाले ओलीलाई हटाउने सक्दो प्रयास गरे । त्यसपछि मलाई ओलीको विकल्प माधव नेपाल वा प्रचण्ड हुन सक्दैनन् भन्ने अनुभुति भयो ।

नागरिक आन्दोलनले बाहिर भन्थ्यो एउटा कुरा भित्र उद्देश्य हुन्थ्यो अर्काे । भित्र उद्देश्य अर्कै लिएको, बाहिर अर्कै कुरा गरेको त्यस्तो नागरिक आन्दोलनको साथ दिनु भनेको ओलीलाई हटाउने र ओलीभन्दा पनि बत्तर नेतालाई कुर्सी दिलाउने मात्र थियो भन्ने देखिएकै हो । ओली होस् या अरु कोही हामीलाई के नै फरक पथ्र्याे र ? बेक्कारमा भैरहेको सरकारलाई किन गिराउने भन्ने लाग्न थाल्यो ।

ओलीले ‘इगो’ वा हठले भए पनि गर्न खोजेको र गर्न चाहेको कुरा राम्रा नै छन् । विकासका परियोजनाहरू धमाधम निर्माण गर्ने र देशको सिमानाको रक्षा गर्ने उनी जत्तिको ह्याउ भएको अहिलेसम्म त यी नेताहरूमध्ये कोही देखिएको छैन । यसर्थ मलाई प्रचण्ड वा माधव नेपालभन्दा त ओली नै ठीक हुन् जस्तो लाग्यो ।

कसैलाइ चित्त बुझोस् कि नबुझोस् ओलीलाई जनता र एमालेले आफैँ चुनेका हुन् । र उनी संवैधानिक प्रक्रियाबाट बनेका प्रधानमन्त्री हुन् । जम्मा २ बर्ष हो उनको बाँकी रहेको कार्यकाल । यसलाई अहिले नै किन गिराउनुपर्‍यो ? अरुले के–के गर्छन् भन्ने नदेखेको र परीक्षण नगरेको पनि होइन । उनको ठाउँमा प्रधानमन्त्रीका अरु आकांक्षीका अनुहार राखेर तुलना गरी हेरेँ ।

प्रचण्ड ? माधवकुमार नेपाल ? शेरबहादुर ? नाइँ । यिनीहरू ओलीको छेउमा पनि पुग्न सक्दैनन् । उनीहरू आउँदा मिडियाले सरकारका कामको प्रगतिबारे सकारात्मक समाचार चाहिँ लेख्न सक्छन् । तर, काम त केही हुन्न । जनताको जीवन त झन् तलतल जान्छ । ओली त ‘इगो प्रब्लम’ का कारण पनि काम गर्छन् ।

अनि मेरो ओलीप्रतिको गुनासो केही कम भयो र मलाई उनको कुरा सकारात्मक लाग्न थाल्यो । उनले दिएका आजसम्मका भाषण र अन्तर्वार्तालाई फर्किएर सोच्दा केही राम्रा कुराहरू देख्न थालेँ । उनी आलोचना र समर्थनको ख्याल गर्दैनन्, लागेको कुरा नलुकाई गर्छन् । आफ्नो कार्यकालमा मुलुकमा केही जग बसाल्ने र राजनीति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उनको सोच देखिन्छ ।

नेपालप्रेससँग उनले दिएको अन्तरवार्तामा उनको भनाईको सार मलाई मन पर्‍यो । राजनीति भनेको नेताका स्वार्थहरूको व्यवस्थापन मात्रै हो भन्ने जुन मानक मिडियाहरूले स्थापित गरेका छन् र नेताले बाँडीचुँडी खानुलाई सफलता ठान्ने जमात बन्दैछ, त्यसलाई ओलीले तोडे ।

नेताहरू सबैलाई भाग मिलाएको खोइ ? मिडियामा प्राय आउने प्रश्नको सार यही नै हो । जनतालाई डेलिभरी दिने कुरामा मतलब छैन, नेतालाई भाग नदिएको कुरा नै हाम्रो राजनीतिको मुख्य प्रश्न बन्यो । ओलीले त्यसको विपरित अडान लिए र अनावश्यक झगडा छोडौँ देशका लागि काम गरौँ भने । ओलीप्रति मिडियाको चिड्चिडाहट त्यसैमा देखियो ।

जनता के चाहन्छन्, ओली त्यही स्टेप चाल्छन् भन्ने कुरा मलाई पछिल्लोपटक अनुभूति भाइरहेको छ । अन्तरवार्ताकार मात्रिका पौडेलजीले सोध्नुभयो ‘पार्टीमा तपाईंपछि तपाईंको पद सम्हाल्ने नेता नै छैनन् भन्छन नि, यो साँचो हो ? र तपाई कसले नेतृत्व गरेको हेर्न चाहनुहुन्छ ?’

यस प्रश्नमा प्रम ओलीको उत्तर थियो ‘हज्जारौ छन् र अरु पनि निस्किन्छन् ।’

अन्तर्वार्ताको अन्तिमतिर सोधिएको प्रश्नको उत्तरले ओलीप्रति मेरो सम्मान जाग्यो ।

ओली आफैँले मेरो विकल्प छैन भनेका छैनन् । उनी कसरी घमण्डी भए ? पदकै लागि राजनीति गर्नेहरूलाई हामीले किन साथ दिने ? हामीले किन भइरहेको सरकार ढाल्ने ? ओली कुरा लुकाउदैनन्, उनी सबै कुरा प्रष्ट भन्छन्, उनलाई मिडियाले के भन्ला भन्ने डर छैन ।

मिडियाले आफ्नो स्वार्थका लागि जे पनि लेखेको हामीले देखेका छौँ । नेताले भन्दा धेरै राजनीति त ठूला भनिएका मिडियाका सम्पादकहरूले गर्दैछन् । तिम्रा समाचार पढेपछि हामीलाई भ्रमको खेती गर्न खोजेको जस्तो लाग्छ । मजस्ता जनताले तिमीहरूको असलियत बुझिसकेका छन् ।

कुर्सीमा बसेको भोलिपल्टदेखि कुर्सी जोगाउने अभियान सुरु गर्न नेपाली नेतालाई बाध्य बनाइन्छ । यी ठूला मिडियाहरूले ढुक्कसँग देशको लागि काम गर्न दिँदैनन्, जनता भड्काउँछन् ।

मलाई पछिल्लोपटक त के लागेको छ भने, आजसम्म नेपालमा ओलीजस्तो उच्च मनोबल भएको प्रम थिएन र सायद भविष्यमा पनि सायद नहोला । दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका उनलाई के कुराले यति धेरै ऊर्जा र जाँगर दिन्छ होला म छक्क पर्छु । म आफू पनि बिरामी भएका कारण उनको आत्मबल देख्दा खुसी हुन्छु ।

नेताहरूका अनुहारमा देखिने गम्भीरताको म कहिल्यै सकारात्मक परिणाम आउँछ भन्नेमा विश्वास गर्दिनँ । बरु उनीहरू लोभी, स्वार्थी र आत्मविश्वासबिहीन छन् भन्ने लाग्छ । जहिले पनि ठुस्स परेर बस्ने उनीहरूबाट कसरी जनता खुसी हुन सक्छन् ? ओली उनीहरूभन्दा फरक छन् । जहिले पनि चिटिक्क, हँसिलो, ग्ल्यामरस मुद्रा प्रस्तुत हुने जोश–जाँगर उनीमा कताबाट आउँदो हो ?

उनले नेपालको राजनीतिलाई नयाँ मोड दिएका छन्, नयाँ नाम दिएका छन् । ‘आइ हेट पोलिटिक्स’ भन्ने म जस्ता युवाहरू प्रमको भाषण सुन्छन्, उनको बोलीमा नै नशा भएकोजस्तो महसुस गर्छन् ।

आजसम्म अँध्यारो अनुहारका, हाँस्न र हँसाउन नजान्ने कथित सिरियस प्रधानमन्त्री मात्र देखेका नेपालीले पहिलोपटक रसिक स्वभावका प्रधान्मन्त्री पाएका छन् । अन्त्यमा यति भन्न चाहन्छु, ओलीले नेपालको राजनीतिमा ‘ग्ल्यामर’ थपेका छन् ।

प्रतिक्रिया

7 thoughts on “ओलीको ग्ल्यामरबाट लठ्ठ म

  1. सकारात्मक तथा आसावादी बनाउँदै राजनीतिलाई जनपक्षीय र देशपक्षीय बनाउनु पर्छभन्ने दृष्टिकोण सार्वजनिक गरेर देशप्रति मोह जगाउन प्रम केपी ओलीले प्रयास गर्दैछन्। ओलीको यो प्रयासलाई पछिल्लो नयाँ पुस्ताले अपनत्व महसुस गर्न नसक्दा प्रमबाट ओली हटाउन चाहने पक्षहरुको मनोबल बढेको छ। त्यो मनोबल कमजोर बनाइएनभने देश कमजोर बन्छभने बुझ्नुपर्छ। म पनि समकालिन नेतृत्वमध्येबाट केपी ओलीको विकल्प म देखिरहेको छुइन। गुणदोषका आधारमा प्रम केपी ओलीको समर्थन र विरोध आवश्यक छ।

  2. Definitely Oli has a great sense of humor and people listen him with great interest. Oli knows how to talk. He communicates well of his dream or vision to build the nation. Sadly, he does not have solid plans to move on that direction. In the absence of concrete plans, his dreams seem nothing more than Oli-guff. His move was against the law and the constitution. The dissolution of the parliament was wrong and unconstitutional. The appointments in the Constitutional Commission by bringing an ordinance cannot be said to have been made with good intentions. And since he is the chairman of the party, he is more to blame than anyone else for failing to save the party from disintegration. Now, his popularity has plummeted.

  3. बेसारे फोटो फेसबुक र मिडिया मा रङ्गायर ओलि को खेदो खन्ने तर लुकेर तेहि बेसार पानि घर मा खाने।जनता धेरे पर खोज्न जानु प्रदैन आफ्नै साथि ईस्टमित्र र छरछिमेकमा प्रसस्त देखियो।तो माध्ये मा यो कमेन्ट पढ्ने १ जना तपाई पनि हुन सक्ने मेरो अनुमान छ है।

  4. सत्य प्रस्तुति:
    ”राजनीति भनेको नेताका स्वार्थहरूको व्यवस्थापन मात्रै हो भन्ने जुन मानक मिडियाहरूले स्थापित गरेका छन् र नेताले बाँडीचुँडी खानुलाई सफलता ठान्ने जमात बन्दैछ, त्यसलाई ओलीले तोडे ।” मलाई पनि मन परेकाे यहि कुराले हाे ।

  5. मलाई चित्त बुझ्यो,ओलिलाई ढिलै भए पनि चिन्नु पर्ने जसरी चिनी दिनु भएकोमा।धन्यवाद।

  6. याे पुस्ताले र यि मिडियाले अाेलि लाइ चिनाउन सक्दैनन। हामि यस्ताे व्यवस्थामा रमाउँछाै कि हामिलाइ भाग खाेज्ने अादत परेकाे छ। सहुलियत चाहिएकाे छ। कर फस्याैटकाे डण्डा अाेलिले चलाए पछि सवै मुलधारका मिडिया अाेलिकाे तेजाेबध गर्न लागेका छन। हामिले यति कमजाेर नेपालकाे प्रधानमन्त्रि हेर्न नपराेस। ए बाबा राजदुत नियुत्तिमा समेत भाग खाेजे यार कति सम्म लाज पचेका? जनमत लिएर एकलाैटि एउटा व्यत्तिले सरकार चलाअाेस प्रत्यक्ष निर्वाचनमा जाने हाे भने अाज पनि अाेलि देशभर बाट चुनिएर अाँउछन तर अर्काे निर्वाचनमा अाेलि सबैकाे साझा तार्गेट हुने, मिडियाले प्रपाेगाण्डा गर्ने, बाहय शत्तिले दलका अान्तरिक समिकरण वदल्ने चलखेल ले अाेलि अर्काे पटक प्रधानमन्त्रि हुने गरि निर्वाचित नहाेलान भन्ने ठुलाे पिर छ। यत्तिकाे प्रधानमन्त्रि वालुवाटारमा चाहिन्छ चाहिन्छ। कुनै दिन यिनै अाेलिकाे तेजाेबध गर्ने मिडियाले अाेलिकाे गुणगान गाउने छन। अाेलि मरेकाे केहि वर्ष पछि प्र म हाेस त अाेलि जस्ताे भन्दै दिनहुँ अार्टिकल छाप्दै वस्नेछन। नेपाली मिडियाले के सम्मकाे राजनिति गरिरहेकाे छ याे प्रस्ट छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *