कर्णालीका वस्ती संचरना नै विभेदको कारक ! – Nepal Press

कर्णालीका वस्ती संचरना नै विभेदको कारक !

सुर्खेत । गुजुम्म, एकै किसिमका घरमा बस्थे, कर्णालीबासी । त्यसमा पनि छानोदेखि भित्तासम्म प्रायः एकै खाले । कर्णाली क्षेत्रको अधिकांश भाग पहाडी भेगमा पर्ने भएकाले ठाडो, माटो र पुसे छानाका घर छन् ।

एकै किसिमले मिलेर बनेका बस्ती बनेको कर्णाली घर त मिलेको छ । तर, मन मिलेको छैन । कर्णालीमा चरम विभेद, छुवाछुत छ । सञ्चारकर्मी दीपा दाहालले समाजशास्त्री टीकाराम गौतमलाई प्रश्न गर्छिन्, ‘कर्णालीमा प्राय धेरैको घर मिलेको छ । तर, मन मिलेको छैन, सम्बन्ध मिलेको छैन ? यस्तो कसरी भयो ?’

समाजशास्त्री गौतमले तत्कालीन समयमा भूउयोगिताको कारणले घरहरु मिलेर बस्ती मिले पनि विभेदको सुरुआत त्यहींबाट भएको बताउँछन् । ‘सानो र सीमित ठाउँमा उपलब्ध स्रोत र साधनको उपयोगका लागि कामको जिम्मेवारी बाँडफाँड भयो । त्यहींबाट असमानता सुरु भयो, असमानताले विभेद निम्त्यायो,’ उनले भने ।

सुर्खेत बुलबुले उद्यानमा जारी दोस्रो कर्णाली उत्सवको पहिलो दिनको पहिलो सेसन ‘बाडो, थाडो र ओटालो’ नामक सेसनमा कर्णालीको भौगोलिक अवस्थाले त्यसले सिर्जना गरेको विभेदबारे बहसबारे बहस भएको हो । सेसनमा उनले समाजशास्त्री गौतमसहित कर्णाली प्रदेश योजना आयोग सदस्य डाक्टर दीपेन्द्र रोकाया र अध्येता गोविन्द नेपालीसँग बातचित गरिन् ।

कर्णालीको मौलिक शैलीका रुपमा माटो, काठ, ढुंगाको प्रयोग गरेर बनाइएको र छानोमा खरले छाइएको घर, बस्तीबाटै असमानता सुरु भएको र त्यसले कालान्तरमा विभेदको रुप धारण गरेको कार्यक्रमका वक्ताहरुले एकै मत राखे । उनीहरुले हाल आधुनिकीकरणले ती शैलीका घर फेरिँदै जाँदा पनि विभेदी मानसिकता हट्न नसकेकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा वक्ता गोविन्द नेपाली भने कर्णालीमा धेरै प्रकारको विभेद भए पनि ‘पानी चल्ने र नचल्ने’ बीचको विभेद धेरै रहेको बताए । उनले तत्कालीन समयमा बाडो र थाडोले सामाजिक बन्धनमा राख्न खोजे पनि त्यसले विभेदको सुरुआत गरेको बताउँछन् ।

‘तत्कालीन समयमा सामाजिक बन्धनमा राख्न बाडो, थाडोको कन्सेप्ट आएको होला,’ नेपालीले भने, ‘तर, यसको अन्त्य भनेको विभेदमै गएर टुंगियो । सामाजिक बन्धन होइन, यसले जातीय बन्धन ल्यायो ।’ उनले कर्णाली ठाडो, आटो आटालो पनि आफैंमा असमानता रहेको र त्यो नमिल्दासम्म मन मिल्न पनि नसक्ने बताए ।

सेसनका अर्का वक्ता कर्णाली प्रदेश योजना आयोग सदस्य डा दीपेन्द्र रोकाया पनि भूउपयोग नीति अनुसार बनेका बस्तीबाटै विभेद सुरु भएको मत राख्छन् । ‘सीमित भूगोल र ठाउँमा बार लगाएर बस्नुपर्ने । त्यसो गर्दागर्दै ठूलो क्षेत्रमा फैलियो । पहिलेको बाडो अहिले वडा भयो,’ रोकायाले भने, ‘कर्णालीका माटोले बनेकोघर, पुसको छानोका थाडोमा पनि असमानता भयो । र, त्यतैबाट भएको विभेदी परम्परा सुरु भएको छ ।’

रोकायाले मन मिल्ने र नमिल्ने स्थिति समाजको आर्थिक पक्षसँगको पहुँचता अनुसार फरक हुने बताए । तत्कालीन समयमा काम अनुसार जात, जातलाई काम, कामलाई कर्म र कर्मलाई भाग्यसँग जोडिँदा जातीय विभेद सुरु भएको उनको धारणा छ ।

कर्णाली प्रदेशभरि २३ प्रतिशतभन्दा बढी दलित छन् । विगतमा कर्णाली प्रदेशमा जसरी विभेद हुन्थे । तर, अहिले प्रकृति फरक हुँदै गएको डा गौतम बताउँछन् । ‘अहिले कर्णाली र हिजोको कर्णालीको अवस्था अहिले केही फरक छ । पहिले परिवेशसँग जोडिएको थियो अहिले स्रोत र साधनसँग जोडिएर आएको छ,’ उनले भने, ‘अहिले आधुनिक स्रोत, साधनको उपयोग सँगै आधुनिक खाले अवसरमा असमानता सुरु भएको छ ।’

विकास र राज्यको योजनाहरुमा दलितलाई समावेश गरिएन भने जातीय विभेदको अवस्था नफेरिने अध्येता नेपालीको भनाइ छ । दलित र गैरदलित बीचको सम्बन्धमा परिवर्तन भएमात्रै विभेदको अन्त्य हुने डा गौतले बताए । ‘दलितलाई मात्रै उकासेर दलित विभेदको अन्त्य हुने होइन । दलित र गैरदलित बीचको सम्बन्धलाई परिवर्तन गर्नुपर्छ । तबमात्रै विभेदको अन्त्य गर्न सकिन्छ,’ उनले भने ।

प्रदेश योजना आयोगका सदस्य डा रोकायाले कर्णाली प्रदेश सरकारले जातीय विभेद अन्त्य गर्न पञ्च वर्षीय योजना ल्याएको बताए । उनले विभेद हल गर्न ‘दलित मूल प्रवाही नामक कार्यक्रम‘ ल्याएको सुनाए । ‘दलित र गैरदलितमात्रै होइन, गैर दलित र दलितभित्रै पनि ‘हाइरर्की’ छ । त्यही ‘हाइरार्की’सँगै असमानताले विभेद जन्माएको छ । यो पनि अन्त्य हुनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *