सात महिनामा दोब्बरले बढे उद्योग दर्ता गर्नेको संख्या – Nepal Press

सात महिनामा दोब्बरले बढे उद्योग दर्ता गर्नेको संख्या

काठमडौं । कञ्चनपुरमा उद्योग दर्ता गर्नेको संख्यामा ह्वात्तै बढेको छ । विगत वर्षको भन्दा यो वर्ष कञ्चनपुरमा उद्योग दर्ता गर्नेको संख्या बढेको घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरले बताएको छ ।

प्रायजसो यहाँका मानिस मजदूरीका लागि भारत तथा तेस्रो मुलुक जाने गर्थे तर, गत वर्ष कोरोना भाइरस फैलिएपछि  नेपाल फर्किएका स्थानीयले उद्योग संचालन गरेसँगै उद्योग दर्ता गर्नेको संख्या बढेको हो ।

स्थानीयस्तरमै कृषि, पशुपक्षी र व्यापारमा युवाको आकर्षण बढेसँगै यहाँ व्यवसाय दर्ता पनि गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ । चालु आर्थिक वर्षको सात महिना (माघ मसान्तसम्म) यहाँ एक हजार ५३८ उद्योग घरेलु कार्यालयमा दर्ता भएका छन् ।

गत चालु आवमा यहाँ ७३४ उद्योगमात्रै दर्ता भएको कार्यालयका सूचना अधिकृत धर्मानन्द भट्टले जानकारी दिए । ‘यहाँ दिनहुँजसो उद्योग दर्ता गर्ने क्रम बढिरेहको छ’, सूचना अधिकृत भट्टले भने ।

उनका अनुसार पछिल्लो समयमा सरकारले महिला उद्यमीका लागि उद्योग दर्तामा गरेका छुटका कारण पनि उद्योग दर्ता गर्ने बढेको हो ।

‘कुनै पनि उद्योग दर्ता गरेको पाँच वर्षसम्म नवीकरण गर्नुपर्ने झन्झट छैन’, उनले भने, ‘दर्ता भएका उद्योग सञ्चालन भए/नभएबारे भने अनुगमन भएको छैन ।’

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले स्वदेशमै आयमूलक काममा अग्रसर भइरहेका युवाशक्तिलाई राज्यले सीपमूलक तालिम र विभिन्न प्रकारका अनुदान प्याकेज दिएर प्रोत्साहन गर्नुपर्ने बताए ।

सरकारले कोरोना कहरमा विदेशबाट स्वदेश फर्किएका युवालाई आयमूलक कामका लागि अनुदानसमेत प्रदान गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना कहरमा विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएकालाई आयमूलक व्यवसायमा लगाउन १५ करोड रुपैयाँ जिल्लाका कृषि ज्ञान केन्द्रलगायतका निकायमा पठाइसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर