कमजोर छैन ‘कर्णाली’ ! – Nepal Press

कमजोर छैन ‘कर्णाली’ !

सुर्खेत । काठमाडौंको लागि कर्णाली सधैं ‘विचरा’ पात्र भइरह्यो । कर्णालीका नाममा हजारौं सरकारी, गैरसरकारी संस्थाको आउजाउ चलिरह्यो । कर्णालीकै नाम लिएर नेताहरू राजधानी पुगे, जीवनशैली फेरे ।

तर, कर्णालीको अवस्था फेरिएन । ‘कर्णाली’ चिनाउन हिंडेकाहरूले नै कर्णालीलाई जहिल्यै ‘कमजोर’ भन्न पछिपरेनन् । जसका कारण कर्णाली सधैं सत्ताको उपेक्षामा परिरह्यो । के साँच्चै कर्णाली कमजोर छ त ?

मध्यपश्चिम विश्वविद्यालयमा अध्यापन गराइरहेका कमल लम्साल भन्छन्, ‘कर्णाली भौगोलिक हिसाबले विकट जरुर हो तर कुनै पनि हिसाबमा कमजोर छैन । संस्कृतिदेखि प्रकृतिसम्ममा कर्णाली धनी छ । हजारौं सम्भावना बोकेको प्रदेश हो । काठमाडौंको आँखाले मात्रै कमजोर देखिएको हो ।’

सभ्यता र स्रोतका हिसाबले सबैभन्दा धनी प्रदेश नै कर्णाली रहेकाले कुनै पनि ढंगबाट कर्णालीलाई कमजोर रहेको स्वीकार्दैनन्, लम्साल । बरु कर्णाली आफैंले आफ्नो सुगन्ध चिन्न नसकेको उनको तर्क छ । ‘जनसंख्या हेर्ने हो भने अरूभन्दा कम छ । तर, त्यही नै हाम्रो सम्पत्ति हो’ भन्छन्, ‘यहाँको स्रोत र साधनलाई प्रतिव्यक्ति भाग लगाउने हो भने यहाँका जनता जति धनी कोही हुँदैनन् ।’

कर्णाली सबै रूपले धनी भए पनि त्यसलाई प्रचारप्रसार गर्न नसकेको लम्साल बताउँछन् । कर्णालीलाई बाह्य तथा भित्री रूपमा चिनाउने र वैचारिक बहस गराउने उद्देश्यले गत वर्ष राजधानी सुर्खेतमा ऋति फाउन्डेसनले साहित्यिक महोत्सव ग¥यो । जसमा राउटे समुदायदेखि खस भाषासम्मका बहस भएका थिए ।

फाउन्डेसनले यस वर्ष दोस्रो कर्णाली उत्सव गर्दैछ । उत्सव फागुन २६ देखि २९ गतेसम्म चल्नेछ । लम्सालले महोत्सवको संयोजकको भूमिका समेत निभाइरहेका छन् । उनी कर्णाली उत्सव साहित्यिक मात्रै नभएर विचार बहसको उत्सव पनि भएको बताउँछन् ।

‘यो विशुद्ध साहित्यिक महोत्सव होइन । यसमा सबै प्रकारको विचार–बहस, गन्थन–मन्थन हुन्छ’ लम्साल भन्छन्, ‘यो विचार, बहस र सम्भावनाहरूको महोत्सव हो ।’

केन्द्रीकृत सत्ताबाट उपेक्षित, दुर्गम र अविकासको मानक बनेको कर्णालीको संस्कार र समानता खोतल्ने प्रयासबाट कर्णाली उत्सवको शुरुआत भएको बताउँछन्, कार्यकारी निर्देशक निदेश गौतम । भन्छन्, ‘विचारको निरन्तर प्रहारले मात्र कर्णालीका पहाड फोड्ने सामथ्र्य राख्छ । यसले कर्णाली एक अभावग्रस्त, दुर्गम र विकटको पर्याय मात्र होइन बरु विकासका दृष्टिले सुन्दर भविष्य बोकेको सम्भावनाको स्वप्नभूमि हो भन्ने कुरा प्रकट गर्छ ।’

कर्णाली उत्सवको दोस्रो संस्करण आगामी फागुन २६–२९ प्रदेश राजधानी सुर्खेतको बुलबुले उद्यानमा हुनेछ । उत्सवमा देशदेशावरबाट अतिथि वक्ताको रूपमा ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिको उपस्थिति रहने आयोजकले जनाएका छन् ।
कर्णालीको आञ्चलिकतामै सेसनका नामकरण गरिएको छ । उत्सवमा ‘आम्नै कथा, आम्नै बान्की’, ‘बाडो, थाडो र ओटालो’, ‘छाउ र भाउ’, ‘हाट जान्या, भोट जान्या’, ‘कहरी शुकाला होला, कैले जाला कैठ ?’, गजल सन्ध्या, कविता, ‘लोकतन्त्रको लय’, ‘पश्चिममा प्रशासक, पश्चिमका प्रशासक’, र ‘सरकारी, गैर–सरकारी’ विषयक सत्र हुनेछन् ।

उत्सवको ‘मुख्य माण्ठ, मूल कुडा’ सत्रमा कर्णाली प्रदेश र प्रदेश–२ का मुख्यमन्त्रीबीच बहस हुनेछ । ‘खासमा संघीयता यी दुई प्रदेशलाई चाहिएको हो । संघीयताको औचित्य के रह्यो त भन्नेबारे आफ्नो भोगाइ र अनुभव सुनाउनेछन्’ संयोजक लम्सालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर