क्रसरले बस्ती नै जोखिममा, स्थानीय भन्छन्– कि सारिदेऊ, कि मारिदेऊ – Nepal Press

क्रसरले बस्ती नै जोखिममा, स्थानीय भन्छन्– कि सारिदेऊ, कि मारिदेऊ

विराटनगर । मोरङको केराबारी–८ आमाजुङ्गीकी पोलमारी थापा  ७२ वर्षकी भइन् । आमाजुङ्गीमा ५० वर्षदेखि बस्दै आएकी उनलाई अहिले थातथलो छाड्नुपर्ने हो कि भन्ने चिन्ताले सताएको छ ।

‘खदम खोलामा ठेकेदारले जथाभावी उत्खनन् गर्ने काम अहिलेसम्म रोकेको छैन’ थापाले भनिन्, ‘यो वर्ष खोला गाउँमा पस्ने सम्भावना बढेको छ । खोला गाउँमा पस्यो भने बसेको थातथलोबाट विस्थापित हुनुको विकल्प छैन ।’

केराबारी गाउँपालिका–८ की सावित्रा विश्वकर्माको चिन्ता पनि थापाको जस्तै छ । उनलाई पनि खोलो उत्खनन् भएसँगै विस्थापित हुनुपर्ने त्रास बढेको छ ।

सामान्य अवस्था हुँदा नै बर्खा लाग्दा बाढीको त्रासले पोका कसेर बस्ने अवस्थामा आफूहरू रहेको पीडा स्मरण गर्दै सावित्राले भनिन्, ‘जहाँ मेसिन लगाएर खन्दैछन्, त्यो खोला होइन । हामीले डोकामा ढुंगा बोकेर जाली लगाएर स्थानीयलाई सुरक्षा दिएको ठाउँ हो, तर पैसाको लोभले हामी जनतालाई बालुवा र धूलो मात्रै खुवाउने काम भइरहेको छ ।’

क्रसरका कारण समस्यामा पर्दा पनि आफूहरूले भोट दिएर पठाएका जनप्रतिनिधि नबोलेकोप्रति आक्रोशित हुँदै भन्छिन्, ‘हाम्रा जनप्रतिनिधिहरूको नै क्रसर उद्योगीसँग मिलेमतो रहेको हुन सक्छ । जनतालाई अन्याय भएको अवस्थामा हाम्रा जनप्रतिनिधि खोलामा आउँदिन भन्न मिल्छ ?’ उनले क्रसर उद्योगीले कुलो–पैनी सबै मासिदिएको पनि जानकारी दिइन् ।

क्रसरका कारण बस्ती नै जोखिममा परेपछि स्थानीयले सरकारसँग कि बस्ती सुरक्षित गर्न कि सारिदिन आग्रह गरिरहेका छन् । उनीहरु भन्छन्– कि हामीलाई मारिदेऊ, कि अन्यत्र सारिदेऊ ।

तोकिएको मापदण्ड विपरीत ठेकेदारले नदी उत्खनन् गरेको केराबारी गाउँपालिका–८ का वडाध्यक्ष मनोजकुमार खड्काले स्वीकार गरेका छन् । ‘हामीले तोकिएको मापदण्डमा रहेर ढुंगा, बालुवा र गिट्टी निकाल्ने आचारसंहिता बनाएका थियौं’ खड्काले भने, ‘त्यसको अहिले पालना भएको देखिएन ।’

जनप्रतिनिधिले पनि अवैध खोला उत्खनन् र चोरी तस्करी रोक्न नसकेको उनले बताए । खोलामा जथाभावी उत्खनन् गर्ने क्रम नरोकिंदा खोला बस्तीतिर फर्किएकाले सिङ्गो बस्ती नै जोखिममा परेको छ । खोला गहिरिएर बस्तीतिर तेर्सिएका कारण आमाजुङ्गीका ५०० घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका हुन् ।

स्थानीयले पटक–पटक आफ्ना माग उठाउँदै आए पनि क्रसर उद्योगीले नसुनेपछि त्यसको विरोधमा स्थानीय उत्रिएका छन् ।

उनीहरूले आफूहरू विस्थापित हुने अवस्थासम्म पुग्दा पनि स्थानीय सरकारले चासो नदिएको भन्दै आइतबार केराबारी गाउँपालिकाको कार्यालय घेराउ समेत गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की स्वयं क्रसर उद्योगी भएको र उनकै मिलेमतोमा प्राकृतिक स्रोतको दोहन भइरहेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।

महादेव मिनरल इण्ड्रष्टिज र शिवम् क्रसर बस्ती छेउमा उद्योग राखेर स्काभेटरको प्रयोग गरी जथाभावी खोला उत्खनन् गर्ने काम नरोकिएको आमजुङ्गीवासीको भनाइ छ ।

खदम खोलामा दुई उद्योगले वातावरणीय परीक्षण प्रतिवेदनले स्वीकृति दिएको स्थानभन्दा बाहिर जथाभावी उत्खनन् गर्ने गरेको, प्रतिवेदन तयार गर्दा र स्वीकृत गर्दा समेत मिलेमतो हुने गरेको स्थानीयको आरोप छ ।

स्थानीयले जथाभावी खोला उत्खनन् गर्ने कार्य नरोकिंदा बस्तीहरू जोखिममा परेको र प्रकृतिमा पनि गम्भीर असर पुगिरहेको समेत बताएका छन् । केराबारी गाउँपालिकाले खदम खोलामा वर्षेनि ठेक्का लगाउँदै आएको छ ।

मापदण्ड तोकेर खोलो ठेक्का लगाए पनि क्रसर उद्योगीले भने जथाभावी उत्खनन् गर्दै आएको जनगुनासो छ । तर गाउँपालिकाले भने स्थानीयको माग सम्बोधन गर्नेतर्फ कहिल्यै पहलकदमी नलिएको स्थानीयको आरोप छ ।

केराबारीमा गाउँपालिका अध्यक्ष रोहित कार्की र इटहरी उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका व्यवसायी भीम पौडेलको क्रसर उद्योगले वर्षौंदेखि त्यस क्षेत्रमा उत्खनन् गर्दै आएका छन् ।

हरेक वर्ष अवैध उत्खनन्को आरोप लाग्दै आए पनि स्थानीयमाथि दमन गर्ने, उनीहरूलाई गुण्डा लगाएर तर्साउने जस्ता काम गरेर उनीहरू प्राकृतिक स्रोतको दोहन गर्दै आएका छन् । अध्यक्ष कार्कीले प्रतिक्रिया लिन पुगेका पत्रकारसँग कुरै गर्न मानेनन् ।

क्रसर उद्योगी भीम पौडेलले खदम खोला छेउमा रहेको आफ्नो निजी जमीनमा बालुवा र गिट्टी मापदण्ड अनुसार झिक्ने गरेको दाबी गरे । ‘मैले ६ बिघा जमिन किनेको छु । अहिले खोलो ठेक्का लागेको छैन । त्यही भएर अहिले आफ्नो निजी जमिनदेखि बालुवा र गिटी झिक्ने गरेको छु’ उनले भने, ‘बालुवा र गिटी झिकेपछि गहिरो हुन नदिन माटो हालेर पुर्ने गरेको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर