भ्यालेन्टाइन डेमा कहाँ घुम्ने ? यी हुन् काठमाडौं आसपासका १० ‘डेटिङ स्पट’ – Nepal Press

भ्यालेन्टाइन डेमा कहाँ घुम्ने ? यी हुन् काठमाडौं आसपासका १० ‘डेटिङ स्पट’

काठमाडौं । समयक्रमसँगै ‘डेटिङ’लाई बुझ्ने तरिका बदलिएको छ । केही वर्षअघिसम्म प्रेममा परेका किशोर–किशोरीबीच गोप्यसित भेटघाट गर्नुलाई डेटिङको रुपमा बुझिन्थ्यो । अहिले जो–कोहीबीच भेट हुनुलाई ‘डेट’का रुपमा लिइन्छ ।

यद्यपि, प्रणय दिवसका दिन अर्थात् फेब्रुअरी–१४ मा प्रेम जोडीहरु घुम्ने, रमाउने र माया–पिरती साटासाट गर्दछन् । परिवार र आफन्तले नदेख्ने–नभेट्ने गरी भेट्न तथा घुम्नका लागि उनीहरुले सुन्दर र सुरक्षित गन्तव्य खोजिरहेका हुन्छन् । जसलाई उनीहरुले डेटिङ स्पटका रुपमा लिन्छन् ।

बढ्दो शहरीकरणका कारण काठमाडौं आसपासमा घुमफिर गर्ने पर्याप्त ठाउँ छैनन् । प्रेमिल जोडीहरु घुम्न जानका लागि काठमाडौं आसपासमा सीमित पार्क तथा पर्यटकीय स्थल छन् ।

जोडीहरु घुम्ने, रमाउने र प्रेमभाव साट्ने सुन्दर तथा सुरक्षित १० गन्तव्य :

१. गोदावरी

ललितपुरको गोदावरी प्रेम दिवसका दिन घुम्न जानका लागि सहज तथा सुन्दर गन्तव्य हो । फुलचोकी डाँडामुनि रहेको नेपाल बोटानिक गार्डेनले गोदावरीको सौन्दर्यलाई झन् बढाएको छ ।
बोटानिक गार्डेन बिहान ९ बजे खुलेर साँझ ५ बजे बन्द हुन्छ ।

२. मन्जुश्री पार्क

मञ्जुश्री पार्क चोभारमा छ । मन्जुश्री पार्कबाट देखिने वागमती खोला र गल्छीको दृष्यले डेटिङ जानेलाई आनन्दित तुल्याउने छ । मन्जुश्री पार्क प्रवेश शुल्क ५० देखि १०० रुपैयाँ छ ।

३. नमोबुद्ध

काठमाडौंबाट ४० किलोमिटरको दूरीमा छ, नमोबुद्ध । काभ्रेपलाञ्चोकको घुलिखेल हुँदै पुगिने नमोबुद्ध प्राकृतिक हिसाबमा सुन्दर छ । यहाँस्थित नमोबुद्ध गुम्बा निकै सुन्दर र आकर्षक छ ।

४. नगरकोट

प्रेमिल जोडीका लागि प्रेम दिवसमा घुम्न काठमाडौं नजिकैको सुन्दर गन्तव्य हो, नगरकोट । भक्तपुर सल्लाघारी हुँदै जान सकिने नगरकोटमा घुम्न र रात बस्नका लागि सुविधासम्पन्न होटल छन् । नगरकोटबाट हिमाल, सूर्योदय र काठमाडौंको दृश्य निकै मनमोहक देखिन्छ । नगरकोट काठमाडौंबाट ३२ किलोमिटर दूरीमा पर्छ । यहाँ हाइकिङ गर्ने सुविधा पनि छ ।

५. गार्डेन अफ ड्रिम्स

ठमेलस्थित गार्डेन अफ ड्रिम्स पनि प्रेमिल जोडीका लागि समय बिनाउने उत्तम गन्तव्य हो । युरोपेली शैलीमा बनेको यो गार्डेन प्रवेश गर्न १०० रुपैयाँ लाग्छ ।

६. त्रिभुवन पार्क

थानकोटस्थित त्रिभुवन पार्क पनि एउटा सुन्दर डेटिङ स्पट हो । यो पार्कमा थुप्रै सुन्दर बगैंचा छन् । कलंकबाट १५ मिनेट गाडीमा गुडेपछि यो पार्क पुगिन्छ ।

७. झोर

काठमाडौंको गाेंगबुबाट नजिकै रहेको झोर पनि घुम्नका लागि आकर्षक गन्तव्य हो । झोरबाट काठमाडौंको दृश्य एकदमै मनमोहक देखिन्छ । झोर झरना पनि यहाँको आकर्षणमध्येको एक हो । यहाँ पनि खान तथा बस्न सुविधासम्पन्न होटल छन् ।

८. साँगा

भक्तपुर र काभ्रेपलाञ्चोकको सीमामा रहेको साँगा पनि जोडी घुम्नका लागि आकर्षक, सहज र सुन्दर गन्तव्य हो । शिव मन्दिर र अग्लो तथा लामो झोलुङ्गे पुल यहाँको खास आकर्षण हो ।

९. टौदह

ऐतिहासिक महत्व रहेको टौदह पछिल्लो समय डेटिङ स्पटका रुपमा चिनिन थालेको छ । तालमा रहेका सुन्दर रङ्गीबिरङ्गी माछाले जोकोहीलाई रोमाञ्चित बनाउँछ ।

१०. दक्षिणकाली

दक्षिणकाली पनि काठमाडौंको एक आकर्षक डेटिङ स्पट हो । हरिया जंगलबीचको पार्क र मन्दिर यहाँको मुख्य आकर्षण हो । दूरी हिसाबले पनि दक्षिणकाली नजिकै पर्छ । बल्खुबाट करिब आधा घण्टा यात्रा गरेपछि दक्षिणकाली पुगिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर