आमसभा मौसमले पार्टी प्यालेस खचाखच, कार्की ब्याङ्क्वैटले आजै ३५०० लाई भात खुवायो – Nepal Press

आमसभा मौसमले पार्टी प्यालेस खचाखच, कार्की ब्याङ्क्वैटले आजै ३५०० लाई भात खुवायो

काठमाडौं । कोरोनाका कारण नराम्ररी थलिएका पार्टी प्यालेसहरू अहिले पनि उक्सिन सकेका छैनन् । तर, पछिल्लो समय राजनीतिक पार्टीहरूले राजधानीमा ठूला आमसभा गर्ने प्रतिस्पर्धा चल्दा यी पार्टी प्यालेसमा भीडभाड देखिन थालेको छ ।

संसद विघटनपछि प्रमुख राजनीतिक दलले काठमाडौंमा एकपछि अर्को शक्ति प्रदर्शन गर्दा पार्टी प्यालेसलाई पनि राहत मिलेको हो । आमसभा आयोजना हुने अघिल्ला दुई/तीन दिन खासगरी बानेश्वर आसपासका ब्याङ्क्वैटहरूमा भीडभाड देखिन्छ ।

नेपाल कम्युनिष्ट पार्टीका दुई समूहले राजधानीमा पछिल्लो केही दिनभित्र तीनवटा ठूला आमसभा आयोजना गरेका छन् । ती सभामा उपत्यका बाहिरबाट पनि ठूलो संख्यामा मान्छे ओसार्ने गरिएको छ । यसरी ओसारिएका मान्छेहरूलाई पार्टी प्यालेसमा खाने-बस्ने व्यवस्था मिलाइएको हुन्छ । यसले ब्याङ्क्वैटहरूको व्यापार चम्किएको छ ।

नेकपा प्रचण्ड-माधव पक्ष समूहले बुधबार राजधानीमा आमसभा गरेको छ । सभाका लागि तराईदेखिका मानिस ल्याइएका छन् । बबरमहलस्थित कार्की ब्याङ्क्वैटले आज मात्रै ३५०० जनालाई खाना खुवाएको थियो । यसरी खाना खुवाउँदा धेरै मुनाफा नराखिएको ब्याङ्क्वैटको दाबी छ ।

‘राजनैतिक पार्टीको भनसुनमा थोरै मूल्यमा खाना खुवाएका हौं’, कार्की ब्याङ्क्वैटका एक कर्मचारी भन्छन् ।

यसैगरी बानेश्वरस्थित अर्पण ब्याङ्क्वैटले पनि आज १५०० भन्दा बढी मानिसलाई खाना खुवाएको कर्मचारी रवीन्द्र हुमागाईंले बताए । उनका अनुसार प्रदर्शनमा आएका मानिसलाई ब्याङ्क्वैटले खाना खुवाएको यो दोस्रोपटक हो ।

एकैपटक हजारौंलाई खाना खुवाउँदा टन्नै फाइदा होला नि ! भन्ने प्रश्नमा उनी भन्छन्, ‘खै के नाफा भनौं ! १५० रुपैयाँमा खुवाएका छौं । गाउँका मान्छेलाई खाना खुवाउँदा लागत नै धेरै लाग्छ । यो त समाजसेवा जस्तो मात्र भएको छ ।’

राजनीतिक दलहरूले गरेको जुलूस तथा आन्दोलनमा आउनेलाई खाना खुवाउने तथा बस्ने ठाउँ उपलब्ध गराउनुको पीडा अर्कै भएको बताउँछन् बानेश्वरस्थित हीरा पार्टी प्यालेसका धनी रुद्र गिरी । उनका अनुसार २०६६ सालमा तत्कालीन माओवादीले गरेको आन्दोलनमा गाउँबाट धेरै मानिस राजधानी आएका थिए । उनको ब्याङ्क्वैटमा १३ दिनसम्म माओवादीका कार्यकर्ता बसेर खाना खाए । तर, पैसा तिरेनन् । खाना खुवाएको बिल बोकेर धेरै पटक उनी माओवादी पार्टी कार्यालय धाए, तर कसैले जिम्मेवारी लिन तयार भएन ।

आज बुधबार पनि उनलाई ३५०० मानिसलाई खाना खुवाउन आग्रह गरिएको थियो । तर खुवाउन इन्कार गरेको गिरीले बताए ।

बानेश्वरकै मुटुमा रहेको बानेश्वर ब्याङ्क्वैटलाई पनि ४ हजार मानिसका लागि खाना खुवाउन आग्रह गरिएको थियो । तर, मर्मतको कार्य भइरहेकाले आजको जुलूसमा आएका मानिसलाई खाना खुवाउन नसकिएको ब्याङ्क्वैटका म्यानेजरले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर