बलात्कार: यौनिक आचारसंहिताको दुष्परिणाम – Nepal Press
ब्लग

बलात्कार: यौनिक आचारसंहिताको दुष्परिणाम

बैतडीकी भागीरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भयो । अहिले अपराधी पत्ता लगाइ कारबाही गर्नुपर्ने मागसहित विभिन्न समूह आन्दोलनमा उत्रिएका छन् । प्रहरीले अपराधीको खोजी तथा घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

दुई वर्षअघि कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि प्रहरीले अझैसम्म अपराधी पत्ता लगाउन सकेको छैन । निर्मला हत्या प्रकरणले सडकदेखि सदनसम्म चर्चा पाएको थियो । प्रहरी संगठनमै यसले हलचल ल्यायो । विभिन्न गैरसरकारी संघसंस्था एवम् अभियान चलाइरहेकाहरुले ठूलै एजेन्डा बनाए ।

चाँडो अपराधी पत्ता नलागे भागीरथी हत्या प्रकरणले पनि त्यही परिणति निम्त्याउने निश्चित छ । भागीरथीको नाममा आन्दोलन हुनेछ । भागीरथीको न्यायका लागि अभियान छेडिनेछ । विस्तारै आन्दोलनकारी थाक्नेछन् । घटना सामसुम जस्तै हुनेछ । भोलि अर्की बालिका वा महिलामाथि यस्तै कुकृत्य भयो भने फेरि भागीरथीको चर्चा हुनेछ । अहिले निर्मलाको भए जस्तै !

निर्मला र भागीरथिको बीचमा पनि थुप्रै बलात्कारका घटना भए । कति सार्वजनिक भए, कति भएनन् । बलात्कारपछि हत्या भएका अरु घटना पनि छन् । सार्वजनिक भएका, नभएका, नगरिएका, भित्रभित्रै मिलाइएका, पत्ता नलागेका थुप्रै बलात्कार एवम् बलात्कारपछि हत्या भएका घटना हुन सक्छन् । किनकि, हाम्रो समाज व्यवस्थामा यस्ता अपराधका निम्ति आधारहरूको कमी छैन ।

त्यसैले अब हामीले घटनाकेन्द्रित होइन, प्रवृत्ति र मनोसामाजिक कारण खोज्न जरुरी छ । कसैले किन गर्छ बलात्कार ? बलात्कारको जग भत्काउने गरी सोच्न र व्यवहार गर्न आवश्यक छ ।

०००

केही समयअघि मोरङमा भैंसी बलात्कारी पक्राउ परेको समाचार आयो । उक्त समाचारले निकैबेर घोरिन बाध्य बनायो । पढ्नेवित्तिकै पंतिकारलाई लाग्यो, ‘मान्छे किन यति निकृष्ट भएको होला ? मान्छेले किन विवेक र स्वनियन्त्रण गुमाउँदैछ ? किन अराजक बन्दैछ समाज ?’

अलिपछि लाग्यो, ‘मान्छेलाई किन यति निकृष्ट बनाउँदैछ समाज ?’ प्रश्न दिमागमा घुमिरह्यो ।

धेरैबेर सोचेपछि यो निष्कर्षमा पुगें, ‘हाम्रो समाजले नै बलात्कारी उत्पादन गरिरहेको छ । व्यवस्थाले नै बलात्कार बढाइरहेको छ । बलात्कार गर्ने कसैको सोख हुँदैन ।’

चिन्ता ‘भैंसी बलात्कार’ को थिएन । पछिल्लो समय हाम्रो समाजमा महिलाकै बलात्कार बढ्दो छ । समाज बलात्कारी जस्तै भएको छ । ‘वृद्धद्वारा बालिका बलात्कार, बालिकाको सामूहिक बलात्कारपछि हत्या, बाबुद्वारा छोरी बलात्कृत, शौचालय जान लागेकी युवतीको बलात्कारपछि हत्या’ । यी र यस्तै प्रकारका समाचार दिनहुँजसो सार्वजनिक भइरहेका छन् । यस्ता समाचारले माथिङ्गल हल्लाउँछ । पुरुष हुनुप्रति नै हिनतावोध जगाउँछ । निर्मला र भागीरथी हत्या प्रकरण त प्रतिनिधि घटना मात्रै हो ।

अब हामीले घटनाकेन्द्रित होइन, प्रवृत्ति र मनोसामाजिक कारण खोज्न जरुरी छ । कसैले किन गर्छ बलात्कार ? बलात्कारको जग भत्काउने गरी सोच्न र व्यवहार गर्न आवश्यक छ ।

केही दिनअघि एउटा ट्वीट पढेको थिएँ । लेखिएको थियो, ‘बलात्कार पुरुषले गर्दैन, बलात्कारीले गर्छ ।’ एउटी महिलाले नै गरेको उक्त ट्वीटले हल्का ढाडस मिल्यो । तर, पूरा सन्तोष भएन ।

अलि पहिलासम्म लाग्थ्यो, ‘यो समाज पुरुषसत्तावादी भएर बलात्कार बढेको हो । पुरुषले बलात्कार गर्नुलाई पुरुषार्थ मान्छ । नारीलाई उपभोग गर्ने साधन ठान्छ । आफ्नो यौनप्यास मेटाउन पुरुषले जे पनि गर्छ । एकैछिनको तिर्सना मेटाउन बलात्कार गरेर हत्यासम्म गर्नसक्छ ।’ यस्तो कल्पनाले ‘म किन पुरुष भएँ हुँला ?’ जस्तो लाग्थ्यो । तर अहिले लाग्दैन । म उक्त ट्वीटलाई समर्थन गर्दै भन्छु, ‘बलात्कार पुरुषले गर्दैन, बलात्कारीले गर्छ ।’

हुनचाहिँ हो, हाम्रो समाज व्यवस्थामा पुरुषसत्ता हावी छ । धर्मका नाममा पुरुषले सधैं महिलामाथि राज गर्ने नीति बनाइएको छ । संस्कार या परम्पराको हवाला दिएर श्रम, पारिश्रमिक, लवाइखवाइदेखि सम्पूर्ण जीवनशैली नै पुरुषभक्त हुनुपर्ने गरी नियम बनाइएको छ ।

पुरुषले बनाएको नियम मान्न महिलालाई बाध्य बनाइएको छ । नमाने अश्लील, चरित्रहीनको संज्ञा दिइन्छ । तर, बलात्कार बढ्नुका कारण यीमात्रै होइनन् ।

बलात्कार, यौन र समाज

सोझो हिसाबमा बलात्कार यौनसँग जोडिने विषय हो । महिलाले पुरुष बलात्कार गरेको समाचार खासै आउँदैन । पुरुषले महिलालाई बलात्कार गरेको चाहिँ दिनहुँजसो आउँछ । अब स्वभाविक प्रश्न उठ्छ– पुरुषले किन बलात्कार गर्छ ? यौनप्यास मेट्न मात्रै हो ? हो, भने घरमा श्रीमती भएका पुरुषले बलात्कार नगर्नुपर्ने थियो । ‘महिलालाई जे गरे पनि हुन्छ’ भन्ने पुरुष मानसिकताले हो ? त्यो पनि नहुनुपर्छ ।

वास्तवमा हाम्रो समाजले यौनलाई जबरजस्त अतिरहस्यमयी बनाउन खोजेको छ । जहाँ बढी रहस्य हुन्छ, त्यसलाई खोतल्ने प्रयास धेरै हुन्छ । यो मानवीय स्वभाव हो । यसले पनि बलात्कार बढाउन सहयोग गरेको छ ।

यौन स्वभाविक जैविक प्रक्रिया हुँदाहुँदै पनि चरित्र र अनुशासनसँग जोडिने विषय बनाइएको छ । विवाहलाई यौनसम्पर्क गर्ने अनुमतिका रूपमा लिन बाध्य बनाइएको छ । पुरुष या महिला यौनचाहनालाई दबाएर चरित्रवान् हुन अभिषप्त छन् । कुनै पनि चाहनालाई बढी दबाउँदा कुण्ठामा परिणत हुन्छ । त्यही कुण्ठाको उत्कर्ष पनि हो– बलात्कार । एक हिसाबले बलात्कार कुण्ठाको विस्फोट हो ।

म किन बलात्कारी भइनँ ?

हाम्रो समाज, धर्म, संस्कार र परम्पराले मलाई पनि बलात्कारी बनाउनुपर्ने हो । एक अर्थमा, म बलात्कारी नहुनुपर्ने कुनै कारण छैन । मन र शरीरको चाहनालाई जबरजस्त विवेकले नियन्त्रण गरेकै कारण म बलात्कारीको सूचीमा सूचीकृत छैन । मेरो मन र मष्तिस्कले धेरै बलात्कार गरे पनि विवेकको नियन्त्रणका कारण शारीरिक रूपमा बलात्कारी हुन परेको छैन ।

अचेल धेरैले तर्क गर्छन् कि, कानुन कडा बनाएर बलात्कार निर्मुल पार्नुपर्छ । बलात्कारीलाई कारबाही हुनुपर्छ । तर म यसमा सहमत छैन कि कुनै पनि बलात्कारीलाई फाँसी दिएर बलात्कार रोकिन्छ ! अपराध गर्नेलाई कारबाही गर्दैमा अपराध घट्ने होइन । हामीले बलात्कारै नहुने समाज निर्माण गर्नु जरुरी छ । बलात्कार नहुने समाज व्यवस्थाको निर्माण गर्नुछ । त्यस्तै सोचको विकास गर्नुछ ।

पुरुषले बनाएको नियम मान्न महिलालाई बाध्य बनाइएको छ । नमाने अश्लील, चरित्रहीनको संज्ञा दिइन्छ । तर, बलात्कार बढ्नुका कारण यीमात्रै होइनन् ।

भनिन्छ, ‘ताल्चा चोरका लागि होइन, सज्जनका लागि हो ।’ हो पनि, चोरलाई चोर्नका लागि एउटा स्यानो ताल्चा बाधक हुँदैन । उसले चोर्नै पर्यो भने जसरी पनि चोर्छ ।

मुख्य कुरा यो हो कि, उसलाई चोर्नपर्ने परिस्थितिको निर्माण कसले गरिदियो ? उसलाई रोजगारी दिने हो भने वा नचोरी पनि सहज र सुन्दर जीवन जिउने ग्यारेन्टी हुने हो भने किन चोथ्र्यो होला र ? चोर्ने कसैलाई रहर होला र ? बलात्कार पनि त्यस्तै हो । कानुन कडा बनाएर होइन, बलात्कार गर्नै नपर्ने वा नगरे पनि हुने परिस्थिति र मनस्थितिको विकास गर्नु आवश्यक छ ।

किन पशुले बलात्कार गर्दैन ?

मान्छेबाहेक अरु जातिका जनावरले बलात्कार गर्दैनन् होला । कुनै–कुनै जनावरमा बलात्कार हुन पनि सक्ला ! तर हामीले बढी हिमचिम गरेका जनावरले बलात्कार गरेको देखेको छैन । जैविक आवश्यकताका आधारमा जनावरले सहमतिमै यौनसम्पर्क गर्छन् ।

तर मान्छेले बलात्कार गर्छ । किनकि, मान्छेलाई आफू सर्वश्रेष्ठ प्राणी भएको भ्रम छ । त्यही भ्रमका आधारमा अनेक नियम बनाएको छ । नियमभित्र आफूलाई, आफ्नो चाहनालाई, मनलाई, विवेकलाई कैद गरिएको छ । सीमित कुराभित्र राख्न खोज्दा मान्छेले धेरै कुरा बाहिर राखेको छ । आफूले बनाएको दायराभन्दा बाहिरको कुरालाई मान्छेले स्वीकार्नै सक्दैन । त्यही स्वीकार्न नसकेको, तर गुम्सिएको भावना तथा चाहनाको परिणाम हो, बलात्कार ।

विवाहपूर्वको यौन वा विवाहइतर दम्पत्तीबाहेकको यौनलाई अपराध मानेकै कारण पनि बलात्कारजस्तो जघन्य अपराध भइरहेको छ । चेतनशील एवम् विवेकशीलको नाममा मान्छे प्रकृतिविरुद्ध जान्छ । संसारमा मान्छेभन्दा प्रकृतिविरोधी अरु जनावर पनि छैन होला । प्राकृतिक चाहनालाई नियमको जन्जीरले बाँधेर मान्छे आफैं दुःखी छ, पीडित छ । त्यही दुःख र पीडाको परिणाम पनि हो, बलात्कार ।

यौनः शोषण कि पोषण ?

यौन हर सजीव प्राणीका लागि अत्यावश्यक एक प्रक्रिया हो । जसलाई प्रजनन प्रक्रियासँगै सन्तुष्टि र सुखभोगको विषय पनि मान्ने गरिन्छ । मान्छेमा शारीरिक विकाससँगै यौनचाहना सुरु हुन्छ । तर विवाहपूर्वको यौनसम्वन्धलाई हाम्रो समाजले पापको रूपमा लिन्छ ।

विवाहपूर्वको यौन वा विवाहइतर दम्पतीबाहेकको यौनलाई अपराध मानेकै कारण पनि बलात्कार जस्तो जघन्य अपराध भइरहेको छ । सहमति र सुरक्षित रूपमा उमेर पुगेका र चाहना भएकाबीच शारीरिक सम्बन्ध हुनुलाई स्वभाविक रुपमा ग्रहण गर्ने हो भने बलात्कार कम हुने थियो । तर, शरीरका लागि अत्यावश्यक यौनलाई अतिरञ्जित बनाएर हाम्रो समाजले झन् अपराध गरिरहेको छ ।

चाहना र आवश्यकताका आधारमा सम्पर्क गर्ने हो भने यौन पोषण हुनसक्छ । तर, यौनलाई नै अपराध जस्तो बनाइएको कुण्ठित समाजमा यौन शोषणको विषय हुन पुगेको छ । संसारमा सदुपयोग गर्ने हो भने केही पनि नराम्रो चिज छैन, दुरुपयोग गर्ने हो भने केही पनि राम्रो चिज छैन । त्यसैले यौनलाई शारीरिक आवश्यकता, जैविक तथा प्रजनन प्रक्रियासित मात्रै जोडेर हेर्ने हो भने बलात्कारमुक्त समाज निर्माण गर्न सम्भव छ ।

मूलतः बलात्कारै नहुने गरी समाज निर्माण गर्नुछ । अब कहिल्यै, निर्मला र भागीरथीको जस्तो नियति कुनै नारीले भोग्न नपरोस् !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *