प्रचण्ड-माधवको प्रस्तावमा निधिको प्रतिक्रिया : कांग्रेस कसैको उक्साहटमा निर्णय लिंदैन – Nepal Press

प्रचण्ड-माधवको प्रस्तावमा निधिको प्रतिक्रिया : कांग्रेस कसैको उक्साहटमा निर्णय लिंदैन

जनकपुरधाम / प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपाले केपी ओलीविरुद्ध संयुक्त आन्दोलनको प्रस्ताव गरे लगत्तै कांग्रेस उपसभापति विमलेन्द्र निधिले कांग्रेस कसैको उक्साहटमा नलाग्ने प्रतिक्रिया दिएका छन् ।

निधिले प्रतिनिधिसभा विघटन र निर्वाचनको विषयमा कसैको उक्साहट र लोभलालचको भरमा कुनै पनि निर्णय नलिने बताएका हुन् ।

कांग्रेसका शुभेच्छुक संगठनहरुले जनकपुरमा गरेको प्रदर्शन पश्चात शनिवार जनकपुरमा आयोजित कोणसभामा बोल्दै उनले कांग्रेसले आफ्नो नीति र निर्णय आफैं तय गर्ने बताए ।

निधिले भने–जंगलबाट माओवादीलाई शान्ति प्रक्रियामा मात्र ल्याएन । दुई/दुई पटक संविधानसभाको निर्वाचन गराएर संविधान जारी कांग्रेसले नै गरेको छ । कांग्रेसले केही गरेन र द्वैध चरित्र भयो भन्नेहरु विचरा र अज्ञानी हुन् ।

निधिले विपी कोइरालाको समयदेखि हालसम्म कांग्रेसले गरेका सबै निर्णय मात्र लागू भएको र अन्य कसैको निर्णय लागू नभएको दाबी गरे ।

प्रतिनिधिसभा विघटनको सन्दर्भमा उनले भने–पानी नचुहिने गरी घरमा फुसको छाना हाल्न सबै मजदूरलाई आउँदैन । त्यसैले जोकोही पनि घर बनाउने अनुभवी मजदूर खोज्छन् । तर जनताले नयाँ मजदूरलाई भोट हाल्यो । त्यही भएर त अहिले हरेक महिना घर चुहिन्छ ।

एक फरक प्रसंगमा उपसभापति निधिले नेपालमा राजा ल्याउने कसैको हिम्मत नभएको बताए । ओलीको तीन पुस्ता र तीन पार्टी एकीकरण गरे पनि राजा फर्काउन नसक्ने औंल्याए । राजालाई जनता चाहिंदैन भने जनतालाई पनि राजा चाहिंदैन भन्ने निर्णय जनताले गरिरहेकाले अब राजा ल्याउन नसक्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर