चालक कुम्भनारायणको बयान- ट्याक्सीसँगै मलाई पनि जलाउने रहेछन् (भिडियो) – Nepal Press
नेपाल बन्दको प्रभाव

चालक कुम्भनारायणको बयान- ट्याक्सीसँगै मलाई पनि जलाउने रहेछन् (भिडियो)

काठमाडौं । प्रचण्ड-माधव नेतृत्वको नेकपाले आम हड्ताल आह्वान गरेको विहानै कुम्भनारायण श्रेष्ठ प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको आफ्नो ट्याक्सी निकालेर एक दिनको खर्च जोहो गर्न निस्केका थिए । तर, उनको ट्याक्सी जलेर खरानी भयो भने आफैं बल्लतल्ल जोगिए ।

नेपालप्रेससँग कुरा गर्दै ट्याक्सी चालक कुम्भनारायणले आफूलाई भित्रै राखेर दुईजना व्यक्तिले ट्याक्सीमा आगो लगाएको बताए । सिट बेल्ट खोलेर भाग्न केही बेर ढिला भएको भए आफू पनि ट्याक्सीसँगै खरानी हुने अवस्थाको वर्णन उनले यसरी गरे ।

आज विहान ४ बजे ट्क्यासी निकालेर म थापाथली पुगेँ । त्यहाँबाट सोह्रखुट्टेको टिप आयो । सोह्रखुट्टेमा प्यासेन्जर छाडेर फर्किन लाग्दा सामाखुसीको टिप आयो त्यहाँ पुर्याएपछि एकजना मान्छे आएर चाबहिल जाउँ भन्यो । विहानै अर्को टिप पनि पाइयो भनेर मैले बस्नुस् भनेँ । उनीहरु दुईजना रहेछन् । तर उनीहरुको उद्देश्य अर्कै रहेछ, हामी आन्दोलनकारी हौं भने ।

दाहिनेतिरबाट एउटाले पेट्रोल छर्कियो ,देब्रेतिरबाट ढोका खोलेर अर्कोले सलाई कोरेर फाल्यो । म आत्तिएर केही सोच्नै सकिनँ । गाडीमा आगो हुरहुरी बलिसक्यो म सिटबेल्ट लगाएर बसेको थिएँ ।

अत्तालिएर केहीबेर सोच्नै सकिन,तर बल्लतल्ल निस्केर ज्यान जोगाएँ । उनीहरुको उद्देश्य गाडीसहित मलाई पनि जलाउने रहेछ क्यारे । थोरै ढिलो भएको भए म पनि ट्याक्सीसँगै जल्थेँ ।

म मजदूर हो, गाडी साहुलाई मैले ट्याक्सी निकालेको पनि थाहा थिएन । जलेको थाहा भएपछि किन निकालेको भनेर उल्टै हप्काए । अहिले म केही सोच्न सकिरहेको छैन, मेरा बालबच्चा पाल्ने अरु कुनै उपाय छैन ।

देशको लागि आन्दोलन गरेको भन्नेहरुले म जस्तो गरीव मजदूरको ट्याक्सी जलाएर के पाए ? उनीहरुलाई कुर्सी पाउनका लागि हामी जस्ता सर्वहाराले कहिलेसम्म दुःख पाउने हो ?

यी पनि पढ्नुस्

नेकपा प्रचण्ड–माधवको आह्वानमा नेपाल बन्द– बिहानै ट्याक्सीमा आगजनी

प्रचण्ड-माधव नेपाल सडकमा, बन्द सफल पार्न निर्देशन

सडकमा निस्केका प्रचण्डले भने- जंगलीराज अन्त्य गर्न जनताकै लागि आन्दोलन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *