किन मञ्चमै पोखियो नारायणकाजीको आक्रोश ? यस्तो रहेछ कारण – Nepal Press

 किन मञ्चमै पोखियो नारायणकाजीको आक्रोश ? यस्तो रहेछ कारण

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार राजधानीमा आयोजना गरेको विरोधसभाका सभापतित्व गरेका थिए, प्रवक्ता नारायणकाजी श्रेष्ठले । उनी आन्दोलन परिचालन कमिटीका संयोजक पनि हुन् । तर, कार्यक्रम अवधिभर उनी आफैं चरम असन्तुष्ट देखिए । यतिसम्म कि सभाको औपचारिक विसर्जन गर्नसमेत उनी तयार भएनन् ।

अहिले सामाजिक सञ्जालमा नारायणकाजीको भिडियो भाइरल छ, जसमा उनले कार्यक्रम चलिरहँदा मञ्चमै आफ्नो आक्रोश पोखेको देखिन्छ । आफूलाई सम्झाउन खोजेका नेताहरुलाई उनले थर्काएका छन् भने कार्यकर्तालाई हातै हालेर हुत्याएका छन् । नारायणकाजीको यस्तो रवैया देख्दा दर्शकसमेत अचम्ममा परेका थिए ।

कार्यक्रम सञ्चालन गरेकी नेतृ पम्फा भुषाल, नेता लिलामणि पोखरेललाई उनले थर्काएको भिडियोमा देखिन्छ । आफूलाई सम्झाउन खोज्ने युवा संघका अध्यक्ष दिपशिखालाई हुत्याउँदै पन्छाएका छन् । पार्टीका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालसँग समेत उनको भनाभन भएको थियो । उनलाई देवेन्द्र पौडेलले पनि सम्झाउन खोजेको देखिन्छ ।

नारायणकाजी यति असन्तुष्ट बन्नुको कारण राजनीतिक कारण नभई कार्यक्रमको व्यवस्थापनसँग सम्वन्धित भएको बुझिएको छ । पार्टीका नेता देवेन्द्र पौडेलका अनुसार सभा सुरु हुनुअघि जुलुसलाई टुँडिखेल घुमाउने पूर्वनिर्धारित कार्यक्रम थियो । तर भिड ठूलो भएको र कार्यक्रमस्थल भरिइसकेको भन्दै नेताहरुले सो योजना स्थगित गरे ।

नारायणकाजी भने शहिदगेट पुगिसकेका थिए । उनले टुँडिखेल परिक्रमा गर्नुपर्ने अडान लिए पनि अरुले मानेनन् र उनी कार्यक्रम स्थल फर्किए । आन्दोलनको कमाण्डरसमेत रहेका नारायणकाजीले आफूले भने बमोजिम नभएपछि अपमानबोध गरेका हुन् । उनको असन्तुष्टिको कारण यति नै हो ।

प्रचण्डलगायतका नेताले मान्छेहरु खचाखच भइसकेकाले जुलुस घुमाउँदा व्यवस्थापनमा समस्या हुने भन्दै टुँडिखेल घुमाउन नमानेपछि उनी आन्दोलन परिचालन कमिटीलाई बाइपास गरिएको भन्दै झोक्किएको स्रोतले जनाएको छ ।

कार्यक्रमको सभापतित्व गरेका नारायणकाजीले अन्तिममा भाषण गर्दै सभा विसर्जन गर्नुपर्ने थियो । तर, असन्तुष्टिका कारण उनी त्यसका लागि पनि तयार भएनन् । कार्यक्रम सञ्चालन गरेकी पम्फा भुषालले आफैं सभा विसर्जनको घोषणा गर्नुपर्यो ।

त्यसो त नारायणकाजी सुरुमा मञ्चमा समेत देखिएका थिएनन् । कार्यक्रम सुरु भइसक्दा आन्दोलनका कमाण्डर नै मञ्चमा नभएपछि पम्फाले उनको नाम लिएर डाकिन् । त्यसपछि बल्ल उनी मञ्चमा उक्लेर आसन ग्रहण गरेका थिए ।


प्रतिक्रिया

One thought on “ किन मञ्चमै पोखियो नारायणकाजीको आक्रोश ? यस्तो रहेछ कारण

Leave a Reply to T R Sharma Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर