कमलपोखरी पुनर्निर्माणमा गगन थापाले अनावश्यक प्रचारबाजी गरेको मेयर शाक्यको आरोप – Nepal Press

कमलपोखरी पुनर्निर्माणमा गगन थापाले अनावश्यक प्रचारबाजी गरेको मेयर शाक्यको आरोप

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा सो क्षेत्रका निवर्तमान सांसद गगन थापाले अनावश्यक मिडियाबाजी गरेको भन्दै यथार्थ चाँडै सार्वजनिक गरिने बताएका छन् ।

बुधवार काठमाडौं महानगरपालिका नगरसभाको आठौँ अधिवेशनलाई सम्बाेधन गर्दै प्रमुख शाक्यले सांसद थापाले मेयरलाई पत्र पठाएको भन्दै सञ्चारमाध्यममा अनावश्यक प्रचार गरेको आरोप लगाए ।

उनले भने–मैले उहाँले पठाएको पत्र अहिलेसम्म प्राप्त गरेको छैन । मलाई पठाएको भनेको पत्र बारेको समाचार पढेर र सुनेर मात्रै थाहा पाएँ । पुरातत्वले काम रोक्नु भन्दा–भन्दै रातारात पोखरीमा डोजर चलाएको भनेर पनि समाचार आएका छन् । मैले ठेकेदारहरुसँग त्यो विषयमा जानकारी लिएको छु । उहाँहरुले प्रचार गरे जस्तो होइन रहेछ ।

प्रमुख शाक्यले सबै वस्तुस्थितिबारे छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी गराउने भन्दै काम गर्ने सिलसिलामा ठेकेदार कम्पनीले गलत गरेको रहेछ भने पनि त्यसको सत्यतथ्य जानकारी दिन तयार रहेको बताए ।

शाक्यले कमलपोखरीको ड्रोइङ डिजाइन सो क्षेत्रका तत्कालीन संघीय सांसद गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, ज्येष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै पुनर्निर्माणको काम अघि बढाएको बताए ।

पुरातत्व विभागले निर्माण कार्य रोक्नु भनेर आदेश दिए पनि महानगरपालिकाले पालना नगरेको प्रचारबाजी पनि गलत रहेको उनले बताए ।

शाक्यले भने–पुरातत्वले हामीलाई काम रोक्नु भनेर आदेश नदिएको जानकारी गराउन चाहन्छु । एउटा सरकारी निकायले अर्को सरकारी निकायसँग समन्वय नै नगरी सञ्चारमाध्यममा प्रचार गर्ने कुरा गलत छ । पुरातत्वले हामीलाई पत्र पठाएर हामीसँग समन्वय गर्ने हो । हामीलाई भन्दा पहिला सञ्चारमाध्ययमलाई जानकारी गराएर असहजता पैदा गर्ने कुरा गलत छ । त्यसैले हामी उहाँहरुलाई त्यो बारेमा पनि ध्यानाकर्षण गराउँदैछौं ।

शाक्यले सञ्चारमाध्यममा आए जस्तो कमलपोखरीको जमीन एक इन्च पनि नमिचिएको दावी गरे । बरु पुनर्निर्माणका क्रममा त्यस आसपासका भौतिक संरचना हटाउनेलगायतका कार्य गर्दा त्यहाँको क्षेत्रफल अझ बढेको दावी गरे ।

पहिला पनि त्यहाँ सांसद थापालगायतको पहलमा विभिन्न चरणमा ढुंगा छाप्ने, सिंढी बनाउनेलगायतका काम भएको भन्दै त्यहाँ महानगरपालिकाले काम गर्नु भन्दा अघि नै कंक्रिट संरचना निर्माण भएको शाक्यको दावी छ ।

उनले भने–स्थानीयको अहिले पनि अवरोध छैन । उनीहरु बाहिरका मान्छे आएर चाहिने भन्दा बढी प्रचार गरी अवरोध गर्ने काम भएकोमा बरु असन्तुष्ट बनेका छन् । हामी अहिले पनि काम गर्ने सन्दर्भमा केही कमजोरी भएको रहेछ भने छलफल गरेर अघि बढ्न तयार छौं । अहिले एकतर्फी रुपमा समाचार आउँदा त्यसले भ्रम पैदा भएको छ ।

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि आफू काम रोक्नुपर्छ भन्ने पक्षमा नरहेको भन्दै समाधानको उपाय खोजी अघि बढ्नुपर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर